उद्यमी राउतको मल्टीस्पेसियालिटी अस्पताल शिलान्यास

विराटनगर । उत्पादनमूलक उद्योग सञ्चालन गर्दै आएका विराटनगरका विराटनगरका अगुवा उद्यमी राजेन्द्र राउतले निर्माण गर्ने २०० शय्याको अस्पताल शिलान्यास भएको छ ।

विराटनगरसँग जोडिएको मोरङको बुढीगंगा गाउँपालिका १ मा निर्माण हुने २०० शय्याको मल्टीस्पेसियालिटी अस्पतालको बुधबार शिलान्यास गरिएको छ ।

राउतको आफ्नै कम्पनी राउत कन्ट्रक्सनको परिसरभित्र रहेको १८ कट्ठा जमिनमा २५० करोडको लागतमा आरआर इन्टरनेसनल हस्पिटल निर्माण गरिने राउतले जानकारी दिए । कोशी राजमार्गसँगै जोडिएको जमिनमा निर्माण हुने अस्पतालले गुणस्तरीय उपचारको लागि काठमाडौं र भारत जानुपर्ने बाध्यता बन्द गर्ने राउतले दावी गरेका छन् ।

आफ्नो अस्पताल सञ्चालनमा आएपछि यस क्षेत्रका बिरामी बाहिर जाने क्रम कम हुने भन्दै राउतले अन्य अस्पतालसँग गुणस्तरमा प्रतिस्पर्धा गर्ने बताए । आफ्नो व्यवस्थापकीय क्षमता अहिलेसम्म सफल भएको बताउँदै उनले त्यसैलाई प्रयोग गरेर अस्पताल सफल बनाउने दृढता व्यक्त गरे । अबको २४ महिनाभित्र प्रारम्भिक निर्माण सम्पन्न गरेर २६ औं महिनामा अस्पतालको सफ्ट ओपनिङ गर्ने उनको योजना छ ।

राउतले १०० शय्याबाट अस्पतालको सञ्चालन सुरु गर्ने र केही समयमै २०० शय्यामा विस्तार गरिने जानकारी दिए । दिर्घकालिन रुपमा अस्पताललाई ३०० शय्याको बनाइनेछ । ‘अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखेर २४ सै घण्टा कार्डियाक इमर्जेन्सी र क्याथ ल्याब सेवा उपलब्ध गराउनेछ राउतले बताए ।

‘अस्पतालमा मुटुसँगै मधुमेह र ग्यास्ट्रो इन्ट्रोलोजीका लागि छुट्टै रिसर्च सेन्टर बनाइनेछ’ उनले भने, ‘यसका साथ जनरल मेडिसिन, न्युरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मूत्ररोग, स्त्रीरोग तथा प्रसूती सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नसाको विशिष्टीकृत उपचार गराउने योजना छ ।’ अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आएपछि नर्सिङ कलेज सञ्चालनमा ल्याउने उनको योजना छ ।

उद्योगी राजेन्द्र राउतका जेठा छोरा एवम् आर.आर. इन्टरनेशनल अस्पतालका निर्देशक प्रतिक राउतका अनुसार सुरुमा २ सय बेडको अस्पताल निर्माण गरिनेछ । दोस्रो चरणमा २ सय बेडको अस्पताल सञ्चालन हुनेछ । त्यसपछि अस्पतालको सम्पूर्ण निर्माण कार्य पुरा भई सकेपछि ३ सय बेडको अस्पताल सञ्चालनमा आउनेछ ।

सिमेन्ट र जुत्ताचप्पल उद्योग सञ्चालन गरिरहेको राउत नेतृत्वको शिवम् ग्रुपले मारुती सिमेन्ट उद्योगका लागि चुनढुंगा खानी सञ्चालन गरिरहेको छ । ग्रुपले हेभी इक्विपमेन्टको रेन्टल कारोबार र पेट्रोलियम व्यवसाय पनि सञ्चालन गर्दै आएको छ ।

शिवम् ग्रुपले काठमाडौँमा पाँचतारे होटल निर्माण गरेर सञ्चालनको तयारीमा रहेको राउतले बताए । यस्तै विराटनगरमा पनि स्तरीय होटल र हाउजिङमा काम गरिरहेको उनले जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश अध्यक्ष, महासंघको स्थायी समिति सदस्य रहेका राउत सार्क चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य पनि हुन् ।

राउतले सरकारी नीति उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने खालको नभएकाले उद्योगी–व्यवसायी सेवा व्यवसायतर्फ मोडिन थालेको बताए ।

बुधबार, ०४ पुष, २०८०, साँझको ०५:२९ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर