नेप्से सूचकमा बृद्धि जारी, एक वर्षयताकै उच्च कारोबार

विराटनगर । शेयर बजार मापक नेप्से सूचक लगातार ७ कारोबार दिनदेखि लगातार बढ्दो क्रममा रहेको छ । बुधबार पनि नेप्से सूचक ३५.३९ अंकले बढेर २१४१.८७ विन्दुमा पुगेको छ ।

गएको ७ कारोबार दिनमा नै नैप्से सूचक १९३ अंकले बढेको छ । नेप्से सूचकसँगै कारोबार रकम पनि बढ्दै गएको छ । बुधबार ७ अर्ब ९५ लाख रुपैयाँको १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार करिब १ वर्षयताकै उच्च हो ।

बढ्दोक्रममा रहेको नेप्से सूचकलाई कारोबार रकमले पनि साथ दिँदै गएको देखिन्छ । बजार बढेको चर्चा चल्न थालेपछि नयाँ लगानीकर्ताको पनि उत्सुकता वृद्धि भएको छ । केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामार्फत तुलनात्मकरुपमा केही लचिलो नीति लिएपछि सेयर बजारमा नयाँ माहोल देखिएको हो ।

बुधबार दिन लगानी र उत्पादनमूलक उपसमूहको कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ। बुधबार लगानी तथा प्रशोधन उपसमूहको सूचक ७.१५ प्रतिशतले बढेको छ । लगानी उपसमूहको सूचक पनि ६.९२ प्रतिशतले बढेको छ । बुधबार निर्जीवन बीमा र होटल उपसमूहको सूचक भने नकारात्मक देखिएको छ ।

बुधबार १५ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ । ११ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने ४ कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतभन्दा धेरै बढेको छ ।

यस दिन बोटलर्स नेपाल, हिमालयन डिस्टिलरी, फरवार्ड माइक्रोफाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी, युनाइटेड इदी मर्दी, बलेफी हाइड्रो, बीपी डब्लू लघुवित्त, नेपाल रिपब्लिक मिडिया, थ्रीस्टार हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । यस्तै सपोर्ट माइक्रोफाइनान्स र निफ्राको मूल्य ८ प्रतिशतभन्दा धेरै बढ्यो ।

यता नेरुडे लघुवित्तको शेयरमूल्य ३.६५ प्रतिशतले घटेको छ भने माथिल्लो मैलुङखोला जलविद्युतको ३.६४ प्रतिशत र शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको ३.४५ प्रतिशतले घटेको छ । यस दिन कारोबारमा आएका १६१ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीको घटेकोमा ५ कम्पनीको भने स्थिर छ।

यस दिन शिवम् सिमेन्टको सबैभन्दा धेरै ३७ करोड रुपैयाँको शेयर कारोबार भएको छ । त्यसपछि सोल्टी होटलको २४ करोड ५३ लाख र सोनापुर मिनिरल्सको २० करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बुधबार, ०४ पुष, २०८०, दिउँसोको ०३:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर