लोड हुँदैछ...

मेनु

हिमालय रोडका व्यापारी निरन्तर आन्दोलनमा

हिमालय रोडका व्यापारी निरन्तर आन्दोलनमा

विराटनगर । विराटनगरको हिमालय रोडलाई पुरानै अवस्थामा फर्काउन माग राख्दै स्थानीय व्यापारीहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । आइतबारबाट सुरु भएको विरोध प्रदेर्शनलाई निरन्तरता दिने क्रममा मंगलबार उनीहरुले कालोपट्टी बाँधेर प्रदर्शन गरेका थिए ।

लामो समयदेखि सौन्दर्यकरणको नाममा रोड अव्यवस्थित बनाएको र त्यसले व्यापार व्यवसायमा समस्या भएको भन्दै स्थानीय आन्दोलित छन् ।
उनीहरुले आइतबार र सोमबार हिमालय रोडमा चल्ने दुवै तर्फको सवारी आवगमनमा अवरोध गरी महानगरपालीकामा पुगेर मेयर नागेश कोइरालाविरुद्ध नाराबाजी समेत गरेका थिए ।

उनीहरुले ‘काल्पनिक एम.जी रोड बन्द गर, साविक हिमालय रोड कायम गर, लेखिएको ब्यानरसहित महानगर पुगेको टोलीले मेयर कोइरालालाई भेटेर तत्काल हटाउन माग राखेका छन् । विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुलीको कार्यकालमा कला विल्डर्सले १ करोड ८३ हजार २७२ रुपैयाँमा योजनाको ठेक्का लिएको थियो । रोडलाई भारत सिक्किमको एम.जी. रोडको अवधारणा दिने योजना थियो ।

एम.जी. रोडमा निर्माण गरिएका पानीको फोहोरा स्थलमा मछडको खानी बनेको, राखिएका बत्ती लाइट बल्न छोडेको र आवागमनलाई समस्या भएको स्थानीय व्यापारी गगांधर मैनालीले बताए ।रोपिएको फलफूलको बिरुवा उपयोगविहीन अवस्थामा अलपत्र रहेकोले नाम मात्रको पर्यटकीय स्थलको कुनै काम छैन भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

सिक्किमको एमजी रोड जस्तै बनाउने भन्दै विराटनगर महानगरपालिकाले अतिव्यस्त सडकमा टाली बिछ्याई फाउन्टेन र फलैँचा राख्नुका साथै विरुवा रोपेको थियो । सो क्षेत्र अहिले सवारीसाधन पार्किङका लागि प्रयोग भइरहेको छ । पार्क निर्माण सुरु गरेपछि यसअघि पनि स्थानीय ब्यापारीले आन्दोलन गर्दै आएका छन् । आइतबारबाट स्थानीय व्यापारी विनोद पोद्धारको संयोजकत्वमा सडक संरचना खारेजीको माग गर्दै आन्दोलन सुरु भएपछि महानगर विरुद्ध निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

हिमालय रोडको संरचनालाई पुरानै अवस्थामा बनाउनको लागी माग गर्दै सोमबार व्यापारीहरुले विराटनगर महानगरपालीका मेयर नागेश कोईलारालाले ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।