संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदवारिमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल संघ सङ्खुवासभाको संयोजनमा आगामी फागुन १५ देखि १९ गतेसम्म मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।
आज सदरमुकाम खाँदवारिमा पत्रकार सम्मेलन गर्दै जिल्ला भलिबल संघ संखुवासभाले मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिएको हो । मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्रीले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने जिल्ला भलिबल संघ संखुवासभाका अध्यक्ष मेदिनी घिमिरेले जानकारी दिनुभयो । खेलकुदका माध्यमबाट आर्थिक समृद्धि र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता गर्न लागिएको अध्यक्ष घिमिरेले बताए ।
प्रतियोगिताको विजेताले नगद तीन लाख रुपैयाँ,द्वितीय हुने टिमले नगद एक लाख ५० हजार रुपैयाँ, तृतीय हुनेले नगद ५० हजार रुपैयाँ र चौथो हुने टिमले नगद ३० हजार रुपैयाँ ट्रफि, मेडल, प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै गरी उत्कृष्ट ५ विधालाई नगद ५० हजार र सर्वोत्कृष्ट पुरस्कार नगद २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सफल बनाउन राष्ट्रिय भलिबल संघका केन्द्रीय सदस्य प्रवीण श्रेष्ठलाई खेल संयोजक बनाइएको आयोजकले जनाएको छ । संखुवासभा जिल्लामा पहिलो पटक मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । भलिबल प्रतियोगितामा करिब नगद ५० लाख बढी खर्च हुने आयोजकले अनुमान गरेको छ ।

