लोड हुँदैछ...

मेनु

प्रहरी अस्पताल बेलबारीमै फर्काउन प्रहरी प्रमुख सकारात्मक, प्रदेश सांसद सुवेदीले २ बिघा जग्गा दिने

प्रहरी अस्पताल बेलबारीमै फर्काउन प्रहरी प्रमुख सकारात्मक, प्रदेश सांसद सुवेदीले २ बिघा जग्गा दिने

विराटनगर । बेलबारीबाट रातारात सुनसरीको इनरुवा सारिएको कोशी प्रदेश प्रहरी अस्पताल बेलबारीमै फर्काउन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त कुँवर सकारात्मक देखिएका छन् । बेलबारीका जनप्रतिनिधि, प्रदेश सभा सदस्यसहित स्थानीय राजनीतिक दलका नेताहरुको टोलीले प्रधानमन्त्री प्रचण्डपछि महानिरीक्षक कुवँरसँग भेट गरी प्रहरी अस्पताल फर्काउन आग्रह गरेका थिए ।

स्थानीयसँगको भेटमा आइजिपी कुँवर उक्त अस्पताल बेलबारीमै पुनसर््थापना गर्न सकारात्मक देखिएको बेलबारीका नगर प्रमुख दिलप्रसाद राई(डिपि)ले बताए । ‘हिजो हामीले प्रधानमन्त्रीलाई भेटेका थियौं,’ प्रमुख राईले भने ‘आज प्रहरी प्रमुखसँग भेट्यां र उहाँले अस्पताल बेलबारीमै सार्न सकारात्मक रहेको भन्दै सहयोग गर्ने आश्वासन दिनुभएको छ ।’ त्यस क्रममा अस्पतालका लागि २ बिघा जग्गा उपलब्ध गराउने सहमति पनि भएको राईले बताए ।

यही पुस १० गते प्रहरीले जग्गा हेर्न टोली पठाउने भएको पनि नगर प्रमुख राईले जानकारी दिए । अस्पतालका लागि तीन ठाउँको जग्गा देखाउने तयारी नगरपालिकाले गरेको छ । ‘हामी विकल्पसहित तीन ठाउँको जग्गा देखाउँछौं । जुन ठाउँ उपयुक्त हुन्छ त्यसै ठाउँको जग्गा दिन्छौं ।’ नगर प्रमुख राईले नगरपालिकाले दिएको जग्गामा अस्पताल नबनेसम्म बेलबारी ४ मा निर्माणाधीन अवस्थामा रहेको २५ शैय्याको अस्पताल नगरपालिकाले प्रहरी अस्पतालका लागि उपलब्ध गराउने सहमति समेत गरेको छ । माघसम्ममा अस्पतालको निर्माण सम्पन्न

भइसक्ने भएकोले त्यो संरचना तत्काल प्रहरी अस्पतालले प्रयोग गर्न सक्ने गरी उपलब्ध गराउने उनको भनाइ छ । नगरपालिकाले दिने भनेको जग्गा हेर्न चाँडै प्रहरी पठाइने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कठायतले बताए । ‘जग्गा हेर्न चाडै हाम्रो टोली जाँदै छ,’ उनले भने टोलीले अध्ययन सकेपछि थप छलफल गरेर अगाडि बढ्छौं ।’

बेलबारीमै प्रदेश प्रहरी अस्पताललाई पुनः स्थापना गर्नु पर्ने माग गर्दै आइतबार जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलका नेताहरु काठमाडौं पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेका थिए । बेलबारीबाट कोशी प्रदेश प्रहरी अस्पताल रातारात सुनसरीको इनरुवामा सारिएपछि जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलहरूले विरोध गर्दै आएका छन् ।

मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिमा सदस्य सुनिल शर्मा बेलबारीका मेयर दिलप्रसाद राई (डिपि), उपमेयर नितु थापा कोइराला, कोशी प्रदेश सभा सदस्यहरू ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, गीता तिम्सिनालगायतका जनप्रतिनिधिहरूले प्रहरी महानिरीक्षक कुँवरलाई भेटेका थिए । बेलबारी मोरङ क्षेत्र नम्बर ३ मा पर्छ । चौतर्फी विरोध भएपछि प्रतिनिधि सभा सदस्य शर्मा पनि आइजिपीलाई भेट्न पुगेका थिए ।

अस्पताल मंसिर २६ गते मध्यरातमा सुनसरीको सदरमुकाम इनरुवा सारिएको थियो । नगरवासीले खबरदारी गरेपछि स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसदहरू अस्पताल फिर्ता ल्याउने प्रयासमा छन् । यसअघि जनप्रतिनिधि तथा राजनीतिक दलहरूले मुख्यमन्त्री केदार कार्की, काँग्रेस नेता शेखर कोइराला लगायतलाई भेटेका छन् ।

प्रदेश सांसद सुवेदीले २ बिघा जग्गा दिने

अस्पतालका लागि प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले २ बिघा जग्गा दिने भएका छन् । ‘अस्पतालका आवश्यक भनिएको २ बिघा जग्गा दिन म तयार छु,’ सांसद सुवेदीले भने ‘नगरपालिकाले देखाउने तीनमध्ये एक ठाउँको मेरो जग्गा हो, प्रहरीले जुन रुचाउँछ त्यही जग्गा दिन हामी तयार छौं ।’

यसअघि सुवेदीले एक सामाजिक संस्थालाई ८ विघा जग्गा दिएका थिए । जनयुद्ध प्रतिष्ठान नेपाललाई उनले जग्गा दिएका हुन् । उनी यसअघि बेलबारी नगरपालिकाका मेयर थिए । प्रतिष्ठानले उक्त जग्गाको संरक्षण गर्ने काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।