विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजका विद्यार्थीहरूले रकेट बनाउँदै ६ दिने विज्ञान सम्बन्धि कार्यशाला समापन गरेका छन् ।
काठमाडौं बाहिर पहिलोपटक शिक्षादीप कलेजले विज्ञान सम्बन्धी ६ दिने कार्यशाला विराटनगरमा आयोजना गरेको जनाएको छ ।
कार्यशालामा विद्यार्थीहरूले १० हजार फिट उड्ने रकेट बनाएका छन् । उक्त रकेट शिक्षादीप कलेजमा अध्ययरत २० जना विद्यार्थीहरूले कार्यशालामा बनाएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए । कार्यशालामा विद्यार्थीहरूले रोबोटिक्स, खगोल विज्ञान, रकेट साईन्स, स्याटेलाईट टेक्नोलोजी, उडड्यन प्रविधिसँग सम्बन्धित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आर्जन गरेका छन् ।
कक्षा १२ मा विज्ञान संकाय अध्ययन गर्दै आएका ४९ जना विद्यार्थीहरू कार्यशालामा सहभागी भएका थिए । रिसिक इनोभेसन्स अन्तर्गतको ‘द स्क्वाड अफ चेन्ज मेकर्स’ सँगको सहकार्यमा शिक्षादीप कलेजले विज्ञान संकाय अध्ययनरत विद्यार्थीहरुका लागि कार्यशाला गरेको थियो ।काठमाडौबाट द स्कुवाड अफ चेन्ज मेकर्सका अध्यक्ष सुशील देव भट्टराई, संयोजक एलन बराल, प्रशिक्षकहरु दिवस खनाल, विहाग सापकोटा, प्रनिश शर्मा, रिसम साह, सफल निरौला र विशाल न्यौपानेले विद्यार्थीहरुलाई सहजिकरण गरेका थिए ।
कार्यशालाको पहिलो दिन ७ जना विद्यार्थीहरुले पानी र हावाको मिश्रणको चापबाट चल्ने ‘वाटर रकेट’ तयार पारेका थिए । त्यसपछि कार्यशालामा उनीहरुले १० हजार फिट उचाइमा उड्ने रकेट बनाएका हुन् ।फ्युलमा सुगर प्रयोग गरेर बनाउने रकेट प्रतिसेकेण्ड ७० फिट स्पीडको प्रक्षेपण गरिएको थियो । कार्यशालामा विद्यार्थीहरुले ११० मिलिमिटरको अमेच्योर रकेट, १ यूनिटको क्युब स्याटेलाईट र ३ किलोमिटर रेन्ज भएको रिमोट कन्ट्रोल प्लेन बनाउन सिकेका छन् । त्यसैगरी विद्यार्थीहरुलाई छुद्र ग्रह पत्ता लगाउन तथा आकाशको म्यापिङ गर्न समेत सिकाएका थिए ।
कलेजका प्रिन्सिपल खड्काले काठमाडांै बाहिर पहिलो पटक विज्ञानसँग सम्बन्धी कार्यशालाबाट विद्यार्थीहरुले धेरै ज्ञान आर्जन गरेको बताए । विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभएर आउट नलेज व्यवहारमा उतारेको उनको भनाइ छ ।शिक्षादीप कलेजका अध्यक्ष तथा प्रदेश सांसद भिम पराजुलीले विद्यार्थीहरुको क्षमता अभिवृद्धीको लागि कार्यशाला जरुरी रहेको बताए । उनले रिसर्चमा राज्यले लगानी गर्नुपर्नेमा पनि जोड दिए ।
फोटो

