विराटनगर । विराटनगर महानगरपालिकाको प्रथम पञ्चवर्षीय आवधिक योजनाका विषयमा छलफल भएको छ ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको छलफलमा विराटनगरको विकासका लागि आर्थिक वर्ष २०८०/८१–२०८४/८५ को आवधिक योजनाका विषयमा छलफल भएको हो । विराटनगरको विकासका लागि महानगरले दीर्घकालीन योजना बनाएर काम गर्ने लक्ष्यका साथ पञ्चवर्षीय आवधिक योजनाका विषयमा छलफल गरिएको मेयर नागेश कोइरालाले बताए ।
विराटनगरको भौतिक संरचना, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग–व्यवसायलगायतका विषयलाई समेटेर तयार पारिएको आवधिक योजना विकास विज्ञ डा. रामचन्द्र लामिछानेले प्रस्तुत गरेका थिए । सो अवसरमा भावीपुस्ताले कस्तो विराटनगर चाहेका छन् भनेर योजनाका साथ काम गर्नुपर्नेमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले बताए । उनले आगामी १० वर्षसम्मका लागि सडक, विद्यालय, बत्ती, खानेपानीसहितका आधारभूत कुरालाई समेटेर योजना बनाउनु आवश्यक रहेको उल्लेख गरेका छन् ।

