विराटनगर । तेह्रथुम र पाँचथर जोड्ने तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अलपत्र बनेको छ । लुबुघाटमा निर्माणाधीन अवस्थामा रहेको पुल १२ वर्ष देखी अधुरै छ ।
पुल निर्माणले गति लिन सकेको छैन । पुल बन्न कति समय लाग्छ केही टुङ्गो छैन ।पुल निर्माण नहुँदा पाँचथरको कुम्मायकवासीले हप्तैपिच्छे पिठ्युँमा सामग्री बोकेर सात आठ घण्टाको बाटो हिँडेर तेह्रथुमको म्याङलुङस्थित शुक्रबारे हटिया पुग्नुपर्ने बाध्यता छ ।
समयमा पुल नबन्दा तेह्रथुमको म्याङलुङदेखि धरान जान १ सय १६ किलोमिटर घुमेर जानुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा बताउँछन् ।
पुल बनेपछि सिधै तमोर कोरिडोरको बाटोबाट त्यसको आधा समयमै धरान पुग्न सकिने स्थानीयको भनाइ रहेको छ ।
२०६८ असारमा स्वच्छन्द निर्माण सेवा कम्पनीसित १३ करोडमा पुल निर्माणको सम्झौता भएको थियो । पुल २०७२ असारसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो ।
तीन मिटर चौडाइ र १ सय ५७ मिटर लम्बाइको उक्त पुलको अहिलेसम्म ५० प्रतिशत मात्र काम सकिएको सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख रामकुमार देवले बताए ।
पाँच वटा पिलर बन्नुपर्नेमा चार वटा मात्र निर्माण गरिएका छन् । विसं २०८१ असार मसान्तसम्मका लागि निर्माणको म्याद थप गर्ने तयारी रहेको उनले बताए ।
पुल निर्माण थाल्दा म्याङलुङदेखि पुलसम्म पुग्ने सडक नभएको र सडक खन्न समय लागेको, तथा भूकम्प, कोरोना महामारीलगायत समस्याले पुल निर्माणले गति लिन नसकेको स्वच्छन्द निर्माण कम्पनीका प्रतिनिधि अजय लामिछानेले बताए ।
पटक–पटक म्याद थप्दा पनि पुल निर्माण सम्पन्न नभएको भन्दै गत वर्ष म्याङलुङका अर्जन ढुङ्गाना र लालीगुराँस नगरपालिकाका डिकबहादुर कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।
म्याङलुङवासीले तमोरको पुल बनाउनका लागि दबाब दिन समिति निर्माण गरी म्याङ्लुङ नगरपालिका र जिल्ला प्रशासन कार्यालय तेह्रथुमलाई दबाब दिँदै आएका छन् ।

