इलाम । इलामको रोङ गाउँपालिकाका एक किसानले यो सिजनमा सुन्तला बिक्रीबाट करोडौं आम्दानी गरेका छन् ।
सुन्तलाको लागि प्रख्यात रोङ गाउँपालिका ६ को सलकपुरका किसानले बारीबाटै भारतीय र झापाका व्यापारीलाई करिब ६ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका हुन् ।
सलकपुरका अधिकांश किसान सुन्तलाको व्यवसायीक खेतीमा आबद्ध छन् । सो क्षेत्रमा मात्र वार्षिक ८८० मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको वडा कार्यालयले जनाएको छ । वडामा करिब ९० हेक्टर जमिनमा सुन्तला खेती हुने गरेको छ । वडाको सलकपुर, कुवापानी र जौबारीलगायत क्षेत्रमा प्रतिहेक्टर १० दशमलव ३ मेट्रिक टनका दरले सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र इलामको तथ्यांक छ ।
सलकपुरका प्रत्येक सुन्तला किसानले वर्षमा ५ लाखदेखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । स्थानीय सुन्तला किसान खगेन्द्र राईले अलैँची मासेर १५ रोपनी जमिनमा सुन्तला खेती सुरु गरेको बताए । करिब १० प्रतिशत क्षेत्रको सुन्तलाले यस वर्षदेखि आम्दानी दिन सुरु गरको उनको भनाइ छ । वडा कार्यालले सुन्तला खेतीलाई प्रोत्सहान गर्न प्राविधिक सहयोग निःशुल्क दिने गरेको छ ।
विगतमा विभिन्न रोगका कारण सुन्तला मर्न थालेपछि किसान निराश बनेका थिए । ज्ञान केन्द्रले किसानलाई सुन्तलामा लाग्ने रोग नियन्त्रण, जैविक मल बनाउने र सुन्तला हुर्काउने प्रविधिकाबारेमा तालिम सञ्चालन गरेसँगै उनीहरूमा उत्साह थपिएको केन्द्रका सूचना अधिकारी रुजन खड्काले बताए । सुन्तला सुदृढीकरण कार्यक्रमअन्तर्गत ६ जना किसानलाई गत वर्ष केन्द्रले एक लाखका दरले अनुदानसमेत प्रदान गरेको थियो ।
इलामका विभिन्न स्थानमा ३६० हेक्टर बढी जमिनमा सुन्तलाको व्यावसायिक खेती हुने गरेको छ । रोङ ६ का वडाध्यक्ष सत्यम राईले विगतमा रोगका कारण धेरै सुन्तला खेती नष्ट भएपछि हाल नयाँ खेती विस्तार गर्ने काम भइरहेको जानकारी दिए । यसअघि सलकपुरमा हुँदै आएको सुन्तला खेती कुवापानी र जौबारी क्षेत्रमा विस्तार हुन थालेको उनको भनाइ छ ।
सलकपुमरा १४ वटा होमस्टेसमेत सञ्चालनमा छन् । होमस्टेमा बस्न आउने पाहुनालाई प्रतिकेजी ८० देखि ९० रुपैयाँका दरले सुन्तला बेच्ने गरिएको स्थानीय बताउँछन् ।सुन्तला खेतीबाट वार्षिक ५ करोडदेखि ६ करोडसम्म वडामा रकम भित्रिने गरेको वडाध्यक्ष राईले जानकारी दिए । सुन्तला बिक्रीका लागि बजार खोज्नुपर्ने बाध्यता नभएको किसानलाई कुनै समस्या नरहेको उनी बताउँछन् । भारत तथा झापाबाट व्यापारीले सुन्तला नपाक्दै बोटबाटै खरिद गर्ने गरेका छन् ।
सुन्तला, अलैँची, अकबरे, अम्लिसो, महलगायत कृषिजन्य सामग्री उत्पादनले प्रसिद्ध सलकपुरमा विभिन्न ठाउँबाट कृषि तथा बोटबिरुवासम्बन्धी अध्ययनका लागि विद्यार्थीको समूह आउने गरेका वडाध्यक्ष राईले जानकारी दिए । उनका अनुसार यहाँ उत्पादित सुन्तला भारतको कोलकातामा हुने सुन्तला महोत्सवमासमेत प्रत्येक वर्ष लैजाने गरिन्छ ।