विराटनगर । ठूलो तामझाम र लावालस्कर गाडीसहित मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रीत ‘समृद्धिका लागि संकल्प यात्रा’ मंसिर २६ गते कोशी प्रदेश प्रवेश गर्दा तनावपूर्ण थियो । यात्राअवधिभर कोशी प्रदेशको पहिचानको आन्दोलनलाई केन्द्रीत गर्दै आक्रामक भाषण दिएका एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पहिचानको आन्दोलनमा रहेका संघ संस्थाले अभियान नै अवरुद्ध गर्ने तयारी गरे ।

एमालेको अभियान कोशी प्रदेश प्रवेश गर्दै गर्दा पहिचानवादीले मंसिर २५ गते नै बन्द र विरोधका कार्यक्रम आव्हान गरे । दुई पक्षको आक्रामक कार्यक्रम र वाद विवादलाई नजिकबाट हेरिरहेको सुरक्षा संयन्त्रले सुरक्षाको मजबुद प्रबन्ध गर्यो ।

एमालेको अभियान कोशी प्रवेश गरेकै दिन सुरक्षाकर्मीहरुले एक दर्जन नेता तथा कार्यकर्तालाई उदयपुर र खोटाङबाट पक्राउ गर्यो । दोस्रो, तेस्रो दिनमा लगातार सुरक्षाकर्मीहरुले पहिचानवादीका कार्यक्रमलाई निस्तेज बनाउन नेतृत्व गरिरहेका नेताहरुलाई पक्राउ गरिनै रहयो । यो बीचमा झण्डै तीन दर्जन पहिचानवादीहरुलाई सुरक्षाकर्मीले पक्राउ गरेको छ । कतिपय छुटेका छन् भने कतिपय अझै प्रहरीको हिरासतमा छन् ।
अभियानका क्रममा ओलीमाथि धनकुटाको लेगुवामा आक्रमणको प्रयास भयो । अनेकौं विरोध र अवरोधकाबीच एमालेको संकल्प अभियान पाँचथरको चिवाभन्ज्याङमा पुगेर आइतबार समापन भएको छ । सामान्य घटनाबाहेक अप्रिय घटना हुन पाएन भने एमालेले गरेका सार्वजनिक सभा, समारोहहरुमा सर्वसाधरणको उपस्थिति पनि उल्लेख्य नै रहयो ।

केही दर्जन सवारी साधन ओहोरदोहोर गर्ने मध्यपहाडी राजमार्गमा लावालस्कर गाडीहरु कुदे । अन्तिम दिन अध्यक्ष ओलीले हेलिकप्टरबाट चिवाभन्ज्याङ पुगेर नेपालको झण्डा गाडे । आइतबार नै ओली काठमाडौं फर्केका छन् । अभियानको औपचारिक समापन काठमाडौंमा आगामी ५ गते हुने बताइएको छ ।
यसबीचमा एमालेले चलाएको अभियानले दिएको सन्देश चाहिं के हो भन्ने विषयमा बहस र चर्चा भइरहेको छ । कतिपय विश्लेषकहरुले एमालेको अभियानले व्यवस्था विरोधीहरुलाई मत्थर पार्न सफल भएको बताएका छन् भने कतिपयले राष्ट्रिय समस्या समाधानका लागि एमालेको अभियानले कुनै पनि भूमिका निर्वाह गर्न नसक्ने बताएका छन् ।

एमाले अध्यक्ष ओलीले भने राजनीतिक हिसाबले जनतामा निराशा फैलाइएको अवधिमा यात्राले जनतामा उत्साह फैलिएको दाबी गरे । ‘देशको राजनीति अलमलमा छ, देशको समय, जनताको आयु, पिँढीको समय खेर गएको छ,’ संकल्प अभियानको अन्तिम बिन्दु चिवाभन्ज्याङमा अध्यक्ष ओलीले भने, ‘संकल्प यात्राले देश विकास र समृद्धिको दिशामा अघि बढाउन असाधारण भूमिका खेलेको छ ।’ ओलीले पहिचानवादीलाई लक्षित गर्दै अवाञ्छित चिन्तन पराजित भएको पनि बताए ।

‘यात्राले अवाञ्छित चिन्तन, विचारलाई हतोत्साहित गरेको छ, देश र जनताको हितलाई सर्वोपरी ठान्न्ने आम जनताको मनोबल उच्च भएको छ’, ओलीले समापनमा भनेका छन्, ‘सबै नेपालीलाई एकतामा बाँध्ने प्रेरणा यो यात्राले दिएको छ ।’राजनीतिक विश्लेषक प्रा.कृष्ण पोखरेल एमालेको यात्राले परिवर्तन विरोधीहरुलाई ओझेलमा पारिदिएको ठान्छन् । ‘एमालेको यात्राले केही सकारात्मक काम गरेको छ । एमालेको नजरबाट हेर्दा अहिलेको सन्दर्भमा आफ्ना नेता र कार्यकर्तालाई सपना देखाउने काम भएको छ । त्यो भनेको ८४ मा बहुमत ल्याउँछौं । त्यसका लागि यो यात्रा हो भन्ने एउटा सन्देश हुनसक्छ,’ उनले भने, ‘अर्को पाटो राजा ल्याउनुपर्छ भन्दै आन्दोलन चर्केला जस्तो देखिएको सन्दर्भमा भएको यात्राका क्रममा अब राजतन्त्र फर्कंदैन, गणतन्त्र यस्तो हो भनेर एमालेका अध्यक्षले दिएको सन्देशले राजतन्त्र पक्षधरको क्रियाकलाप ओझेलमा परे ।’

पहिचानको विषयमा भने प्रदेशमा आएपछि ओली नरम सुनिएको पोखरेलले बताए । ‘राज्यले पनि अभियानलाई राम्रो सुरक्षा प्रदान गर्यो । पहिचान पक्षधरले पनि विरोध गर्नुपर्छ भनेर श्राद्धमा बिरालो बाँधे जस्तो मात्रै गरेको हो कि जस्तो लाग्छ । यद्यपि पहिचान पक्षधरले पनि विरोध गरे र एमालेको अभियान पनि रोकिएन,’ पोखरेलले भने, ‘एमालेलाई पहिचानको विरोधी मानेर केही गर्नुपर्छ भन्ने खालको कुरा गरेको जस्तो मलाई लाग्छ ।’

एमालेको अभियानले सरकारलाई पनि राहत भएको विश्लेषक पोखरेलले बताए । सत्तारुढ गठबन्धन र प्रतिपक्ष परिवर्तनको एजेण्डालाई टिकाउने कुरामा एक ठाउँमा छन् भन्ने सन्देश पनि दिएकाले एमालेको अभियानले परिवर्तन पक्षधरलाई फाइदा नै गरेको उनले बताए ।
अर्का राजनीतिक विश्लेषक डम्बर खतिवडा भने राष्ट्रिय समस्या समाधानका लागि एमालेको यात्राले कुनै भूमिका खेल्न नसकेको दाबी गर्छन् । ‘लोकतन्त्रमा राजनीतिक दलहरु आ–आफ्नो क्रियाकलाप गरिरहन्छन् । जनतासँग सम्वाद गर्ने बाहना पनि चाहिन्छ । त्यस दृष्टिकोणले एमालेको यात्रा राम्रै हो’ उनी भन्छन्, ‘त्यसबाहेक राष्ट्रिय राजनीतिमा कुनै पनि योगदान गर्छ जस्तो मलाई लाग्दैन ।’

अहिलेको मुख्य समस्या दलतन्त्र, भ्रष्टाचार, महंगी, आर्थिक मन्दी र आर्थिक संकट भएको बताउँदै उनले त्यसलाई हल गर्न एमालेको यात्राले के योगदान गर्यो ? भन्ने प्रश्न गरे । मुलुकका समस्या समाधानको कुनै उपाय र बिधि एमालेका नेताहरुले नबताएको भन्दै उनले भने, ‘खाली उनीहरुको कुरा एमालेलाई सरकारमा पुर्याउनुपर्छ भन्ने मात्र देखियो ।’

देशको जनसंख्या सबै काठमाडौं वरिपरि र तराईका २२ जिल्लामा सरेको दृष्टान्त दिँदै खतिवडाले त्यसलाई कसरी हल गर्ने ? भन्ने विषयमा एमालेको अभियानले केही नदिएको बताए । उनका अनुसार पहिचानको मुद्दामा पनि एमालेलाई पूर्वमा आएपछि गाह्रो बनायो । ‘नेपाली समाजमा पहिचानको मुद्दा जसरी बसेको छ । त्यसलाई कुनै न कुनै हिसावले सम्बोधन नगरेसम्म लामो समयसम्म पिरोल्छ,’ उनले भने, ‘पहिचानवादीले पनि राजनीतिक कार्यक्रम गर्नुलाई राम्रो मान्न त सकिँदैन । एमालेले यात्रा गरेको बेला टसल गर्नु राम्रो नराम्रो भन्ने अर्कै विश्लेषण गर्न सकिन्छ ।’

एमालेले कार्यक्रम छोट्याएर भाग्नुपर्ने अवस्था देखिएको दावी गर्दै खतिवडाले खोटाङतिर खास कार्यक्रम नगरेको तथा ओखलढुंगाबाट एकैपटक बसन्तपुरमा खुल्ला कार्यक्रम भएकोले माझकिराँतमा एमालेलाई चुनौति देखिएको बताए ।मंसिर १४ गतेदेखि बैतडीको झुलाखालबाट सुरू भएको नेकपा एमालेको झुलाघाट–चिवाञ्ज्याङ मध्यपहाडी संकल्प यात्रा पाँथथरको चिवाभञ्ज्याङ पुगेर समापन भएको हो । आइतबार चिवाभञ्ज्याङ पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारत सीमानाका चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएका थिए ।

संकल्पयात्राको अन्तिम दिन अध्यक्ष ओलीसहित एमाले शीर्ष नेताहरू हेलिकोप्टरबाट नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ पुगेका थिए । १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको यात्रामा ओलीसहितका नेताहरु फिदिमसम्म गाडीमै आएका भएपनि अन्तिम दिन हेलिकप्टर प्रयोग गरेका हुन् ।