विराटनगर । मोरङ प्रहरीले अस्पताललगायत भीडभाग हुने स्थानबाट पटकपटक गरेर १६ वटा मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
केहीसमययता विराटनगर महानगर क्षेत्रबाट लगातार मोटरसाईकल चोरी भइरहेको थियो । मोटरसाइकल चोरीको विषयमा प्रहरीलाई पनि पटकपटक खबर र निवेदन पुगेको थियो । सोही निवेदनका आधारमा प्रहरीले १६ वटा मोटरसाइकल चोर्ने दुईजनाको समूहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जन दाहालका अनुसार नोवेल अस्पताल, विराट टिचिङ अस्पताल, कोशी अस्पताल, सेन्ट्रल मल र पुरानो गुद्रीलगायतका स्थानहरूबाट हराएका १६ वटा मोटरसाईकल चोर्ने समूह पक्राउ गरेको हो ।
‘नोवेल अस्पतालबाट साईन मोटरसाईकल २ वटा, सुपरस्प्लेण्डर मोटरसारईकल २ वटा र अपाची मोटरसाईकल १ वटा, सेन्ट्रल मलबाट साईन मोटरसाईकल १ वटा, सुरपस्प्लेण्डर मोटरसाईकल २ वटा र पल्सर मोटरसाईकल १ वटा, कोशी अस्पतालबाट सुपरस्प्लेण्डर मोटरसाईकल १ वटा, गुद्रीबाट सुपरस्प्लेण्डर मोटरसाईकल १ वटा, मालपोत कार्यालयबाट सुपरस्प्लेण्डर मोटरसाईकल १ वटा, नापी कार्यालयबाट साईन मोटरसाईकल १ वटा र विराट टिचिङ अस्पतालबाट सुपरस्प्लेण्डर मोटरसाईकल १ वटा चोरी भएको पाइयो,’ प्रहरी प्रवक्ता दाहालले भने ।
चोरी गर्नेको खोजी गर्ने क्रममा प्रहरीले गत शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह–२ का २१ वर्षीय निकाइल अन्सारी र हरिनगरा–६ का ३९ वर्षीय नजाम अन्सारी रहेका छन् । उनीहरुलाई प्रहरीले अवैध लागू औषध (खैरो हिरोईन) जस्तो देखिने पदार्थ १ ग्रामसहित पक्राउ गरेको हो ।
अन्सारीको साथबाट राजकुमार मण्डलको नाममा रहेको को २४ प ३६७५ नम्बरको हिरो सुपरस्प्लेण्डर मोटरसाईकलको ब्लु बुकसमेत प्रहरीले बरामद गरेको छ । उक्त मोटरसाईकल पनि चोरीको भएको प्रहरीले जनाएको छ । उनीहरुलाई मोरङ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

