विराटनगर । मोरङको बेलबारीमै प्रदेश प्रहरी अस्पताललाई पुन स्थापनाको माग राख्दै जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलहरूले प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)लाई भेटेका छन् ।
मोरङको बेलबारीबाट कोशी प्रदेश प्रहरी अस्पताल रातारात सुनसरीको इनरुवामा सारिएपछि जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलहरूले विरोध गर्दै आएका छन् ।
अस्पताललाई पुन बेलबारीमा स्थापित गराउन माग गर्दै आइतबार प्रधानमन्त्रीलाई भेटेर उनीहरूले माग गरेका छन् । युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बू, बेलबारीका मेयर दिल प्रसाद राई (डिपि), उपमेयर नितु थापा कोइराला, राष्ट्रिय सभा सदस्य विना पोख्रेल, कोशी प्रदेश सभा सदस्यहरू ज्ञानेन्द्र सुवेदी, मान बहादुर लिम्बू, गीता तिम्सिना लगायतका जनप्रतिनिधिहरूले प्रधानमन्त्रीलाई भेटेर प्रहरी अस्पताललाई पुन बेलबारीमै स्थापित गराउन माग गरेका छन् । ‘हामीले प्रधानमन्त्रीलाई भेटेर हाम्रा कुरा राख्यौ,’ प्रदेश सभा सदस्य गीता तिम्सिनाले भनिन ‘प्रधानमन्त्री ज्युले पनि सकारात्मक छु भन्नु भएको छ अब हामी थप फलो आफ गर्छौ ।’
अस्पताल मंसिर २६ गते मध्यरातमा सुनसरीको सदरमुकाम इनरुवा सारिएको थियो । नगरबासीले खबरदारी गरेपछि स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसदहरू अस्पताल फिर्ता ल्याउने प्रयासमा छन् । यसअघि जनप्रतिनिधि तथा राजनितिकदलहरुले मुख्यमन्त्री केदार कार्की, काग्रेस नेता शेखर कोइराला लगायतलाई भेटेका छन ।

