लोड हुँदैछ...

मेनु

विराटनगरको हिमालय रोडलाई पुरानै अवस्थामा फर्काउन माग

विराटनगरको हिमालय रोडलाई पुरानै अवस्थामा फर्काउन माग

विराटनगर । विराटनगरको हिमालय रोडलाई पुरानै अवस्थामा फर्काउन माग राख्दै स्थानीय व्यापारीहरुले पसल बन्द गरेर विरोध जनाएका छन् ।

हिमालय रोडलाई विराटनगर महानगरले नयाँ ढाँचामा रुपान्तरण गरेर सडकमै विभिन्न किसिमका संरचना बनाएको विरोधमा व्यापारीहरु उत्रिएका हुन् ।

लामो समयदेखि सौन्दर्यकरणको नाममा रोड अव्यावस्थित बनाएको र त्यसले व्यापार व्यवसायमा समस्या भएको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् । उनीहरुले सडक रोड अवरोध गरेर आइतबार विरोध जनाए ।

हिमालय रोडमा आउजाउ गर्ने सवारी साधनलाई समेत एक घन्टा रोकेर व्यापारीहरुले विरोध जनाएका थिए । उनीहरुले ‘काल्पनिक एम.जी रोड बन्द गर, साविक हिमालय रोड कायम गर, लेखिएको ब्यानर टाँगेर दिउसो १२ बजेदेखी १ बजेसम्म विरोध जनाएका हुन् ।

एक बर्ष अगाडि नै सम्पन्न भएको रोडलाई कसैले हेरचाह नगरेका कारण अहिले हिमालय रोडको अवस्था लथालिङ्ग छ । विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुलीको कार्यकालमा कला विल्डर्सले १ करोड ८३ हजार २७२ रुपैयाँमा योजनाको ठेक्का लिएको थियो । रोडलाई भारत सिक्किमको एम.जी. रोडको अवधारणा दिने योजना थियो ।

स्थानीय पुस्तक व्यवसायी गंगाधर मैनालीले एम.जी. रोडमा निर्माण गरिएका पानीको फोहोरा स्थलमा मछरको खानी बनेको, राखिएका बत्ती लाइट बल्न छोडेको र आवागमनलाई समस्या भएको बताए । रोपिएको फलफूलको बिरुवा प्रयोगविहीन अवस्थामा रहेकोले नाम मात्रको पर्यटकीय स्थलको कुनै काम नरहेको उनको भनाइ छ ।

सिक्किमको एमजी रोडजस्तै बनाउने भन्दै विराटनगर महानगरपालिकाले अतिव्यस्त सडकमा टाली बिछ्याई फाउन्टेन र फलैँचा राख्नुका साथै विरुवा रोपेको थियो । सो क्षेत्र अहिले सवारीसाधन पार्किङका लागि प्रयोग भइरहेको छ ।

पार्क निर्माण सुरु गरेपछि यसअघि पनि स्थानीय ब्यापारीले आन्दोलन गरेका थिए । आइतबारबाट स्थानीय व्यापारीले विनोद पोद्धारको संयोजकत्वमा सडक संरचना खारेजीको माग गर्दै आन्दोलन सुरु गरेका हुन् । महानगरले सौन्दर्यीकरण गरेको १२० मिटर सडक क्षेत्रमा ६० वटा बढी व्यापारिक पसल र सटर छन् ।

विराटनगर महानगरपालिकासँग अनुमति लिएर विभिन्न संघ संस्थाहरूले बेलाबेलामा रोडमा मेला लगाउने गरेका छन् । यसबाहेक विभिन्न राजनीतिक दलले समय समयमा सभा सम्मेलन गर्दा साउण्ड बक्सको प्रदुषण पसल पसलमा पुग्दा व्यापार व्यवसायी नै चौपट भएकोले आरोप छ ।

स्थानीय व्यापारी यहि रोडका कारण पलायन हुने अवस्था सृजना भएको बताउँदै आएका छन् । हिमालय रोड कायम नभएसम्म आन्दोलनलाई निरन्तरता दिने र महानगरमा ज्ञापनपत्र बुझाउन समेत जाने संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।