विराटनगर । बिहीबार दिउँसो ग्रामथान गाउँपालिका–२ खङ्गरिया झोडाकी यारुना कुमारी सरदारको घरमा जीवन विकास लघुवित्त वित्तीय संस्था झोराहाट शाखाकी प्रमुख सिर्जना खवास सहयोगी कर्मचारीसहित झोला र दुई वटा फलफूलका बिरुवा बोकेर पुगिन् । उनलाई हर्लिक्स, साबुन, च्यावनप्रास र पाउडर राखिएको झोला उपहार दिइन् । ब्लाङ्केट निकालेर कोक्रोमा सुतिरहेकी शिशुलाई ओडाइन । बोकेर लगेको आँप र लिच्चीको बिरुवा करेसाबारीमा रोपिदिइन् । यारुनालाई एक हजार रुपैयाँ दिएर फर्किइन् ।
जीवन विकास लघुवित्तको केन्द्र नम्बर ४६ की सदस्य सरदार सुत्केरी भएपछि उपहार र बिरुवा बोकेर शाखा प्रमुख खवास पुगेकी हुन् । संस्थामा आबद्ध सदस्यको घरमा जन्ममा खुसी र मृत्युमा समवेदना प्रकट गर्न उनी बिरुवा बोकेर पुग्छिन् । खवास मात्र होइन्, जीवन विकास लघुवित्तको १६० शाखा कार्यालयका कर्मचारीहरु सदस्यको सुख दुःखमा बिरुवा बोकेर घर–घर पुग्छन् । जन्मिएका र मृत्यु भएका व्यक्तीको नाममा फलफुलको विरुवा रोपेर फर्कन्छन् । ‘सदस्यको घरमा जन्म र मृत्यु हुँदा हामीलाई खबर आउँछ,’ खवास भन्छिन्, ‘हामी फलफुलका बिरुवा बोकेर उहाँहरुको घरमा पुग्छौं र करेसाबारीमा रोपेर फर्कन्छौँ ।’
उनका अनुसार सदस्य सुत्केरी हुँदा दुई वटा बच्चासम्म लघुवित्तले सुत्केरी सुविधा दिने गरेको छ । नर्मल डेलिभरी भएका सदस्यलाई एक हजार र अप्रेशन गरेकालाई दुई हजार दिने उनले बताइन् । हर्लिक्स, च्यावनप्राश, साबुन, ब्लाङकेटलगायत कोसेली पनि संस्थाले दिन्छ ।
सदस्य र सदस्यको श्रीमानको मृत्यु भए जीवन विकासले दश हजार रुपैयाँ काजकिरिया खर्च पनि दिन्छ । शोकमा डुबेको सदस्यको घरमा पुगेर संस्थाका कर्मचारीले मृतकको नाममा फलफुलको बिरुवा रोपेर फर्कन्छन् ।
जन्म र मृत्यु भए सदस्यको घर पुगेर लघुवित्तले बिरुवा रोप्न थालेको तीन वर्ष भयो । सदस्यको सुखदुःखमा संस्था साथमा रहेको आभास दिलाउन यो अभियान सञ्चालन गरिएको जीवन विकास लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताए । उनका अनुसार विपन्न परिवारमा जन्मने नवजात शिशुले पनि सफा कपडा र सुत्केरीले पोष्टिक आहार खान पाउन भन्ने उद्देश्य सहित संस्थाका कर्मचारी सदस्यको घरमा जन्मिएको शिशुको लागि ब्लाङकेट र सुत्केरीका लागि हर्लिक्स, च्यावनप्राश, साबुन लिएर जान्छन् र नवजात शिशुको नाममा दुई वटा फलफुलको बिरुवा रोपिदिन्छन् । त्यसरी नै सदस्यको घरमा मृत्यु भएमा समवेदनाका लागि पुग्छन् र मृतकको नाममा दुई वटा फलफुलको बिरुवा रोपिदिन्छन् । बिरुवाले भोलि उत्पादन दिन्छ, बारीमै उत्पादन भए सिजनका फलफूल खान पाइने र वोटविरुवाले वरिपरीको वातावरण स्वच्छ राख्नमा टेवा पनि पुग्ने भयो । यसरी रोपेको बिरुवाको संरक्षण पनि भएको छ ।
‘सार्वजनिक स्थानमा गरेको वृक्षारोपण हेरचाह नभएर असफल भएको देखेका छौं,’उनले भने,‘ सुख दुःखमा जीवन विकासले व्यक्तीको नाममा रोपेका बिरुवाले राम्रो स्याहार पाएका छन्, बिरुवा मरेको गुनासो पनि आएको छैन ।’
व्यक्तीको नाममा रोपिएको विरुवा परिवारको भावनासँग पनि जोडिने भएकाले संरक्षण भएको उनको भनाई छ । ‘हामी सधैँ सदस्यसँगै हुन्छौं,उहाँहरुको सुखदुःखमा साथ रहने भएकाले सम्झनाका लागि बिरुवा रोप्छौं ।’
जन्म र मृत्युमा बिरुवा रोपिदिने अभियान सुरु गरेको तीन वर्षमा संस्थाले तीन हजार ३ सय १६ सदस्यको घरमा पुगेर ६ हजार ६ सय ३२ वटा फलफुलको विरुवा रोपेको उनले बताए ।