विराटनगर । आन्दोलनको क्रममा पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै पहिचानवादी मोर्चाले शनिबार आह्वान गरेको कोशी प्रदेश यातायात बन्दको आंशिक प्रभाव देखिएको छ ।
विभिन्न ठाउँबाट यातायात बन्द गराउँदै हिँडेका ६ जना पहिचानवादी आन्दोलनकारीलाई शनिबार पक्राउ गरेको छ । धरानबाट सुमन चेम्जाङ, शम्भु पृथक राई, हरि वान्तवा राई, सिताराम राई र करुण राई पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार बिहान धरानबाट ५ जना र झापाको केरखाबाट एक जना आन्दोलनकारी पक्राउ परेका हुन् । नेकपा एमालेको संकल्प यात्रा बिथोल्न खोजेको आरोपमा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै पहिचानवादी आन्दोलनकारीले आह्वान गरेको बन्दले प्रदेशको पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । प्रहरीले भने बन्दको प्रभाव आंशिक मात्रै रहेको जनाएको छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार बन्दको प्रभाव आंशिक छ। यातायातका साधनहरु केहि कम भएपनि सबैतिर चलेको उनले दावी गरे ।
पक्राउ परेका आफ्ना ३५ जना नेता, कार्यकर्ताहरुको रिहाईको माग गर्दै प्रदेश १ पुनः नामाकंन संयुक्त संघर्ष समितिले शनिबार र आइतबार प्रदेशभर यातायात बन्दको घोषणा गरेको छ । बन्दका कारण पहाडी जिल्लाहरुमा यातायातका साधन चल्न नसकेको बताइएको छ ।
धरानको भानुचोकस्थित बसपार्क क्षेत्रबाट पहाडी जिल्लामा जाने लामो दुरीको सवारी साधनहरु चलेनन् । बन्दकर्ताहरु भानुचोक क्षेत्रमा केन्द्रीत भएर मुख्य चोक ठप्प बनाएका थिए । साना तथा निजी सवारीहरु भने निर्वाध चलेका छन् । पूर्व पश्चिम राजमार्गमा सवारी साधन अरुबेला भन्दा केही पातलो चलेका थिए ।
मंसिर २६ मा कोशी प्रदेश प्रवेश गर्ने एमालेको यात्रा रोक्न सोही दिन पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँती, झापाका पाण्डवलाल चौधरीसहितका ३५ जनाको विनाशर्त रिहाइको माग गरेको छ।

