मौद्रिक नीतिको समिक्षापछि नेप्सेमा १४१ अंकको सुधार

विराटनगर । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमा लकचता अपनाएपछिको सातामा नेपाली शेयर बजार उच्च अंकले बढेको छ ।

मौद्रिक नीतिमा लचकता अपनाइएपछि यो साताको ५ दिनको कारोबारमध्ये नेप्से ४ दिन बढ्यो भने १ दिन मात्र घट्यो ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्ने क्रममा सेयर धितो कर्जाको जोखिमभार घटाउनुका साथै नीतिगत दरहरु कम गरेको थियो । त्यसपछिको सातामा नेप्से १४१ अंकले बढेको हो ।

आइतबार १११ अंकको छलाङ मारेको नेप्सेमा भोलिपल्ट १५ अंकको सामान्य करेक्सन आएको थियो । त्यसपछि तीनै दिन नेप्से उकालो लागेको हो ।

साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा वृद्धिले निरन्तरता पाएको छ । यस दिन नेप्से परिसूचक ६.५५ अंकले बढेर १९९४.६० बिन्दुमा पुगेको छ ।

यस दिन बैंक, लगानी, जीवन बिमा, व्यापार र लघुवित्तबाहेकका उपसमूहले बिहिबार नेप्से बढाए । अन्य समूहको सूचक सबैभन्दा धेरै १.५१ प्रतिशतले बढेको छ ।

बिहीबार हाइड्रोपावर र विकास बैंक उपसमूहमा रहेका कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो । कारोबारमा आएका अधिकाँश विकास बैंक र हाइड्रो पावर कम्पनीको शेयरमूल्य बढेको छ।

यस दिन बोटलर्स नेपाल बालाजु, हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स लगायत ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहाबार धेरै गुमाउनेमा गुराँस लघुवित्तका लगानीकर्ता छन् । यो कम्पनीको सेयर मूल्य ४.९८ प्रतिशतले घटेको छ ।यस्तै मानुषी लघुवित्तको ४.७८ प्रतिशत र सिवाइसिएल लघुवित्तको ४.०४ प्रतिशतले घटेको छ ।

यो दिन ३ अर्ब १५ करोड १६ लाख रुपैयाँको ९६ लाख ३७ हजार ४५५ कित्ता शेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा सोनापुर मिनिरल्सको सबैभन्दा धेरै १६ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने रिलायबल नेपालको ११ करोड ४९ लाख, हाथवे इन्भेष्टमेन्टको ९ करोड १३ लाख र शिवम् सिमेन्टको ९ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बिहिबार, २८ मंसिर, २०८०, दिउँसोको ०३:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर