लोड हुँदैछ...

मेनु

पक्राउ परेका किरातीसहितका पहिचानवादीलाई अझै केही दिन नछाडिने

पक्राउ परेका किरातीसहितका पहिचानवादीलाई अझै केही दिन नछाडिने

विराटनगर ।  नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रामा अवरोध गर्नेलाई प्रहरीले अझै केहि दिन नछाड्ने भएको छ । प्रहरीले मंगलवार नै १४ जनालाई पक्राउ गरेको थियो । तीमध्ये दुई जनालाई भने प्रहरीले छाडेको छ । उदयपुर भोजपुर र ओखलढुङ्गाबाट उनीहरूलाई पक्राउ गरिएको थियो । पक्राउ परेका दुईजना आन्दोलनकारी नभएको पुष्टि भएकाले छोडिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

‘हामीले १२ जनालाई नियन्त्रणमा लिएका छौ’, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेश बाँस्तोलाले भने, ‘शान्तिपूर्ण कार्यक्रम गर्दा अवरोध गर्नेलाई आजै छाड्न सकिदैन ।’

उनीहरूले बुधवारदेखि गर्ने आन्दोलनका थप कार्यक्रमलाई हेरेर मात्रै कहिले छाड्ने भन्ने भन्न सकिने उनले बताए ।

पक्राउ परेका पूर्वमन्त्री गोपाल किरातीसहितका पहिचानवादी नेता तथा कार्यकर्ताहरूलाई तीन दिनपछि मात्रै छाड्ने रणनीति प्रहरीले बनाएको छ । ‘तीन दिनपछि एमालेको कार्यक्रम पनि पक्राउ परेका नेताको पहुँच क्षेत्रभन्दा बाहिर पुगेको हुन्छ,’ प्रहरीका एक उच्च अधिकारीले भने, ‘आन्दोलनकारी पनि गलेका हुन्छन्, त्यसपछि मात्रै छाड्छौ ।’

अब पहिचानवादी नरम हुने सुरक्षा निकायको विश्लेषण रहेको छ । यसअघिसम्म पहिचानवादीसँग आक्रामक बनेका एमाले अध्यक्ष ओली कोशी प्रदेशमा प्रवेश गरेपछि नरम हुन थालेकाले पहिचानवादीहरू पनि थप आक्रोशित नहुने सुरक्षा निकायको विश्लेषण रहेको छ । ‘अध्यक्ष ओलीले आज पहिचान पक्षधरलाई चिढ्याउने गरी बोल्नुभएको छैन,’ ती सुरक्षा अधिकारीले भने ‘त्यसले पनि पहिचानवादीहरूले थप आक्रोशित हुनुहुन्न होला !’

सुदूरपश्चिमको झुलाघाटबाटमंसिर १४ गते शुरू भएको एमालेको मध्यपहाडी संकल्प यात्रा मंगलवारदेखि कोशी प्रदेशमा प्रवेश गरेको छ । बिहान मध्यपहाडी राजमार्गका विभिन्न ठाउँमा पहिचानवादीहरूले रुख ढालेर सडक अवरुद्ध गरेका थिए । अवरुद्ध सडक नेपाल प्रहरी र सशस्त्र प्रहरीले खुलाएका थिए । अध्यक्ष ओली मंगलवार राति खोटाङको सदरमुकाम दिक्तेलमा बस्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।