विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लागूऔषध सम्बन्धी सचेतना कार्यक्रम धेरै गोष्ठी र छलफल चलाएपनि पनि घरका छोराछोरी लागूऔषध प्रयोगकर्ता छन् भने त्यहाँ शान्ति नहुने बताएका छन् । सरकारसँग अहिले सबैले विकास निर्माणका लागि नै बजेट माग्दै आउने गरेपनि मानवीय विकासको कुरा भने कसैले नगरेको उनको दाबी छ ।
मंगलबार झापाको दमक नगरपालिकाले आयोजना गरेको लागूअौषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रममा बोल्दै कार्कीले भने, ‘आमाबुवाले छोराछोरीले घर बाहिर के गर्दैछ भन्ने हेक्का राख्ने बेला आइसकेको छ । बालबालिकालाई राम्रो संस्कार दिन सकेनौं भने जस्तोसुकै राम्रो अंकको शैक्षिक प्रमाणपत्रको पनि काम हुँदैन ।’
मुख्यमन्त्री कार्कीले मन्दिरमा, रेडक्रसमा र अन्य सामुदायिक ठाउँहरुमा अहिले बुढापाका मात्रै बस्ने गरेको दृष्टान्त पेश गर्दै शेषपछिको सम्पति छोराछोरीलाई दिने तर संस्कार नदिने समाजको विकास हुनु चिन्ताको विषय भएको बताए । ‘त्यसैले बालबालिकालाई सामाजिक शिक्षा दिनु आवश्यक छ । शिक्षाको परिभाषा कितावी ज्ञानले मात्रै हुँदैन । त्यसैले सभ्य नागरिक बनाउनु प्रत्येक आमाबुवाको नैतिक दायित्व हो,’ उनको भनाइ छ । मानवीय विकासमा सरकारले ध्यान दिने र सोहीअनुरुप कार्ययोजना बनाएर अघि बढ्ने कार्कीले बताए ।
जेसुकै र जुनसुकै काम प्रतिफल प्राप्तिको लागि गर्न सक्यौं भने मात्रै कार्यक्रम उपलब्धीमुलक हुने भन्दै उनले कार्यक्रमहरु गोष्ठी र सभामा मात्रै सीमित नगरी उपलब्धीमूलक हुने गरी काम गर्न आग्रह गरे ।
मुख्यमन्त्री कार्कीले पहिचानवादीको ढुंगा प्रहार हुन्छ भन्ने जान्दा जान्दै लागूअौषध प्रयोगकर्ता भएर जीवन बर्बाद गरिरहेकाहरुको संरक्षण गर्ने कार्ययोजनासहितको कार्यक्रममा सहभागी हुन झापा गएको बताए । ‘लोकतन्त्रमा विरोध गर्नु स्वभाविक हो । पहिचानवादीका लागि वार्ताको ढोका खुल्ला छ, हामी सबै समस्या लोकतान्त्रिक र वार्ताको माध्यमबाट समाधान हुनुपर्न भन्ने पक्षमा छौं,’ उनले भने ।
दमक नगरपालिकाका मेयर राम थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रेगिना भट्टराई प्रसाईंले कार्यक्रम १५ लाख बजेटका आरम्भ भएको र कोशी प्रदेश सरकारबाट १० लाख विनियोजन भएको जानकारी दिए । उनले भने, ‘नगरपालिकाको ५ लाख लागत छ । अहिले तथ्यांकले पनि लागूऔषध प्रयोगकर्ता बढ्दै गएको देखिएको छ ।’ नगरस्तरी र वडास्तरीय कार्यक्रम सञ्चालक समिति गठन गरेर कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए ।
प्रहरीमार्फत प्रयोगकर्ता पहिचान र नियन्त्रण गरी विपन्न परिवारकालाई उपचार गराउने र पाँच वर्षमा लागूअौषध मुक्त तथा स्वस्थ्य युवामैत्री नगर बनाउने अभियान रहेको उनको भनाइ छ । दमकमा सुधार गृह निर्माण गर्ने लक्ष्य लिएर कार्यक्रम शुभारम्भ भएको बताइएको छ ।
एकजना लागूऔषधका पूर्व प्रयोगकर्ता पशुपति फागोल नशा कै लागि बाँच्ने र बाँच्न कै लागि नशा गर्ने अवस्था भएपछि आफ्नो अंशको सम्पति पनि परिवारबाट लिएर सकेको सुनाए । ‘अन्त्यमा शून्यमा पुगेपछि नगरपालिकाको सहायतामा आफ्नो जीन्दगी सुधारका लागि सुधार केन्द्रमा गएर सुधार भएर आएँ,” उनले भने, ‘अहिले टोलटोलमा समिति बनाएर लागूअौषध विरूद्धको अभियानमा लागेको छु ।’
कांग्रेस नेता शेरबहादुर भट्टराईले कार्यक्रमहरू तामझामका साथ खर्च गर्ने तर बजेटको सदुपयोग नहुने र लक्षितवर्गले लाभ प्राप्त गर्न नसके त्यसको अौचित्य नहुने बताए । नेकपा माओवादी केन्द्र कोशी प्रदेश कोषाध्यक्ष गगन पुरीले लागूऔषधरहित स्वस्थ्य समाज निर्माण मूल नाराका साथ लागूअौषधरहित दमक अभियान सुरू हुनु सकारात्मक भएको बताए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।