गणतन्त्रको विकल्प उन्नत गणतन्त्र

  विनोद घिमिरे

अहिले देशमा गणतन्त्रको विरोध गर्नेहरु सल्बलाउन थालेका छन् । गणतन्त्रको विरोध गरेर अझ उन्नत किसिमको गणतन्त्र ल्याउने हो भने जनता साथ दिन तयार छन् । गणतन्त्रमा गणतन्त्रको विरोध गर्न पाउने अधिकार पनि हुन्छ । तर अहिले केही व्यक्ति तथा दलहरु गणतन्त्र मासेर राजतन्त्र पुनःस्थापना गर्छौँ भन्दै हिँड्नु केवल दिवा सपना मात्र हो ।

हो, भर्खर बामे सर्दै गरेको नेपालको गणतन्त्र, शासन व्यवयस्था, नेतृत्वको शैली भने जनताले चाहे बमोजिमको भइरहेको छैन । बेरोजगारी, महंगी, भ्रष्टाचार, परिवारवाद, बेथिती, बेरोजगारी, हत्या, बलात्कार, कलोबजारी लगायतका असंख्य कुरामा जनताले चित्त बुझाएका छैनन् । यी सबै राफसाफ हुन सकिरहेका छैनन् । यी यावत समस्या समाधान उन्नत गणतन्त्रले नैं गर्न सक्छ । केही मानिस र प्रवृत्तिहरु गणतन्त्र नेपालमा ‘फेलियर’ र अफापसिद्द भयो भन्दै नेपाली जनताले सयौँ वर्षदेखि बलिदान र संघर्ष गरेर ल्याएको व्यवस्था उल्ट्याएर मसानघाटमा पुगेको राजतन्त्रको ‘राँके भूत’ को नलिखुट्टो फुक्दै छन्, यो केवल बनिरहेको घर लिपपोत गरि मर्मत गर्न छाडेर जाडो छल्न ओढार खोज्दै हिँड्नु जस्तै हो ।
गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्र आखिर जे भनेपनि जनता र राष्ट्रको अधिकतम हितका लागि हुनुपर्छ । खैर, अहिलेको गणतन्त्र नाम मात्रको छ, यसमा सुधार गर्नु अपरिहार्य छ ।

गणतन्त्रमा न्यायालय निस्पक्ष हुनुपर्छ, प्रेस स्वतन्त्रता पूर्ण रुपमा लागू हुनुपर्छ, गरिबी अन्त्य हुनुपर्छ, विभेद र अत्याचार हुनुहुँदैन, विकास निर्माण तोकिएकै समयमा सम्पन्न हुनुपर्छ, डन, दादागिरी र हरेक क्षेत्रमा फस्टाएको सिण्डिकेट रोकिनुपर्छ, औषिधि उपचार समयमै सर्वसुलभ तरिकाले जनताले पाउनु पर्छ । बस्, जनताले चाहेको यत्ति हो । राजतन्त्र त हिजो हामीले भोगेकै हौँ । निर्दलीय पञ्चायती व्यवस्था र कठोर राणा शासन पनि नेपाली जनताले बेहोरेकै हुन् । इतिहासको पाङग्रा पछाडि फर्किएर संविधानमा उल्लेख गरिएको समाजवादको लक्ष्य भट्टाउन सकिँदैन ।

नेपालमा राजतन्त्र फर्काउने, धर्म निपेक्ष फालेर हिन्दू राज्य बनाउने अजेण्डा कुनै पनि देशभक्त तथा राष्ट्रप्रेमी नेपालीको हुँदै होइन÷छैन । सबै जात, धर्म, लिङ्ग, भूगोलको यो साझा फूलबारी हो । उन्नत गणतन्त्रमा मात्र सबै फूल एउटै बगैँचामा सुगन्ध छरेर फुल्न सक्छन् । यदाकदा राजतन्त्र फर्काउने भन्दै केही व्यक्तिहरु सडकमा देखिने कुरा उनीहरुको विवेक र चेतनाले भएको होइन । यो त देशलाई फेरि उँधोगतिमा धकेल्ने केही विदेशी शक्तिको चलखेल मात्र हो ।

त्यसैले गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्र आखिर जे भनेपनि जनता र राष्ट्रको अधिकतम हितका लागि हुनुपर्छ । खैर, अहिलेको गणतन्त्र नाम मात्रको छ, यसमा सुधार गर्नु अनिवार्य भने छ ।

आइतबार, २४ मंसिर, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर