कला संस्कृति र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न लक्ष्मीमार्ग महोत्सव

बेलबारी । स्थानीय कला संस्कृति तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले मोरङको लक्ष्मी मार्ग स्थित सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको छ ।

डाँगी हाट यूथ क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको लक्ष्मी मार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सव २०८० प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेका छन् । स्थानीय कला संस्कृतिको प्रवर्द्धनमा महोत्सवको महत्त्वपूर्ण भूमिका रहेको प्रदेश सांसद सुवेदीले बताए ।

महोत्सव उद्घाटनको विभिन्न जात जातीका दर्जनौँ सांस्कृतिक झाँकीहरू समेत प्रदर्शनी गरिएको थियो । महोत्सवमा प्रदर्शनीतर्फ १५ वटा स्टल रहेका छन् । दुई साता सम्म चल्ने महोत्सवमा दिउँसो जाने अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको र साँझमा हुने साङ्गीतिक कार्यक्रमको समयमा भने टिकटको व्यवस्था गरिएको आयोजक समितिका स्टल संयोजक रोशन श्रेष्ठले जानकारी दिए ।

स्थानीय कलाकारको प्रतिभा प्रस्फुटनको वातावरण बनाउन, स्थानीय जातिको पहिरन र खानपानको विशेषता चिनाउन तथा स्थानीय व्यवसाय र उद्योगको प्रवर्द्धन गर्न महोत्सवले सहयोग पुग्ने आयोजक समितिका सचिव शम्भु बस्नेतले बताए ।कार्यक्रममा ४१ लाख ५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक शिवकुमार राईले बताए ।

महोत्सवमा सङ्कलित रकमको हिसाबकिताब दुरुस्त राख्न लेखा उपसमिति गठन गरिएको राईको भनाइ थियो । कार्यक्रममा राजेश पायल राई, मेलिना राई, एलिना चौहान, रचना रिमाल, सबिन राईलगायतका कलाकारले साङ्गीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ ।

सोमबार, १८ मंसिर, २०८०, साँझको ०६:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर