चर्चा दुधजन्य वस्तु निर्यातको : चार महिनामा ८८ करोडको आयात

सरकारले ०७५ सालदेखि पाउडर दुध आयातमा कडाइ गरे पनि अर्कै नाममा भन्सारबाटै पाउडर दुध आयात भइरहेको डेरी व्यवसायीको दाबी

विराटनगर ।  देशैभरिमा दुध बिक्री नहुँदा किसान मारमा परेका छन् । करोडौंको दुधजन्य वस्तुहरु नबिकेको भन्दै डेरी उद्योगी, व्यवसायीहरु हारगुहार गरिरहेका छन् । तर, भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको चार महिनामा मात्रै ८८ करोड मूल्य बराबरको दुधजन्य वस्तुहरु आयात भएको देखिएको छ ।

सरकारले पाउडर दुध आयातमा २०७५ सालदेखि नै कडाइ गरेको छ । तर, नाम परिवर्तन गरेर अर्के बहानामा पाउडर दुध आयात भइरहेको उद्योगीहरु बताउँछन् । भन्सार विभागको तथ्याङ्कमा भने चालू आर्थिक वर्षको साउनदेखि कार्तिक महिनासम्ममा क्रिम, स्किमिल्क दुध पाउडर, बेबि पाउडर, बटरमिल्क, बटर, घिउ, अन्य दुधजन्य वस्तुहरु, चिजलगायत २० वटा आइटममात्रै ८८ करोड ३९ लाख १५ हजार बराबरको आयात भएको छ ।

गत वर्ष सोही अवधिमा ७७ करोड ६२ लाख ४४ हजारको आयात भएको थियो । तथ्याङ्क अनुसार गत आर्थिक वर्षभरीमा विभिन्न २६ वटा दुधजन्य वस्तुहरु २ अर्ब ३८ करोड ४६ लाख ६ हजार बराबरको आयात भएको थियो ।

यो तथ्याङ्कले नेपालका डेरी उद्योगहरुले वस्तुको विविधीकरणमा जानुपर्ने देखाएको छ । दुध बढी उत्पादन हुँदा विक्रीमा समस्या भइरहेको बेला विविधीकरणमा गए बजारमा खपत गर्न सकिने सरकारी अधिकारीहरु बताउँछन् । ‘पाँच वर्ष अगाडिसम्म दुध अरु देशमा निर्यात गर्ने भन्दा मान्छे हाँस्थे । तर, अहिले हामी दुध निर्यातमा अनुदान दिने भनेर बजेट राखेका छौं । विकासको चरणमा निर्यातमा अनुदान दिनुपर्छ भनेर हामीले बजेट राखेका हौं । व्यवसायीले पनि देशभित्र बिक्री कति गर्ने र देश बाहिर कति पठाउने भनेर निर्णय गर्नुपर्छ,’ उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले भने, ‘सरकारले ०७५ सालमै पाउडर दुध आयातमा प्रतिबन्ध लगाएको छ । वैध बाटोबाट आएपनि त्यो गैरकानूनी हो । यो रोकिनुपर्छ । सँगसँगै दुधजन्य वस्तुको विविधीकरणमा लाग्नुपर्छ ।’

विराटनगरमा रहेको सूर्योदय डेरी उद्योगका संचालक मनोज यादव भने विदेशबाट आयात भइरहेका दुधजन्य उत्पादनका सबै सामग्री नेपालमै उत्पादन गर्न सक्ने बताउँछन् । ‘हामीले पनि विदेशबाट आयात भइरहेका वस्तुहरु उत्पादन गर्न सक्छौं,’ उनले भने, ‘तर, वैध तरिकाले भन्दा पनि अवैध तरिकाले पाउडर दुध बढी आउँदा समस्या छ । वैध तरिकाले आउँदा पनि नाम परिवर्तन गरेर ल्याएको पाएका छौं ।’ उनले नेपालका बिस्कुट उद्योगहरुले पनि पाउडर दुध लुकाइछपाइ ल्याएरै खपत गरिरहेको दाबी गरे । त्यसको अध्ययन र अनुगमन गर्दा यो विषय स्पष्ट हुने व्यवसायीहरुको दाबी छ ।

‘बिस्कुट उद्योगहरुले नेपालको दुध पाउडर किनिरहेका छैनन् । तर, बिस्कुट उत्पादन त भइरहेको छ । कहाँबाट पाउडर दुध आयो ?,’ उनले प्रश्न गरे, ‘सरकारले बिस्कुट उद्योगहरुको अनुगमन गरेर पाउडर आयात भइरहेको वा नभएको विषयमा एकिन गर्नुपर्छ ।’कोशी प्रदेशमा अहिले पनि झण्डै ३ लाख किलो बटर र २ लाख किलो पाउडर दुध रहेको यादवको अनुमान छ । यसको खपत गर्न नसकेको अवस्थामा डेरी उद्योगहरु धरासायी बन्ने उनको दाबी छ । सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध सहकारी संस्थाका अध्यक्ष यादव ढकालले काठमाडौंका गोदाममा भारतबाट आयातीत २० हजार बोरा पाउडर दुध रहेको दाबी गरे । ‘मैले गोदाम पनि हेरें २५० रुपैयाँ प्रतिकिलोले भारतबाट स्किन मिल्क पाउडर भनेर आयात भइरहेको छ,’ उनले भने, ‘यसलाई सरकारले रोक्नु प¥यो ।’ अन्तर्राष्ट्रिय बजारमा २५ किलोको एक बोरा पाउडर दुध नेपालमा आउँदा ५ हजार सस्तो पर्ने भएकोले चोरी पैठारी तथा नाम परिवर्तन गरेर भन्सारबाटै आउने गरेको उनको दाबी छ । ‘२५ किलोको एक बोरामा ५ हजार सस्तो छ भारतमा । अनि हाम्रो दुध कसरी निर्यात हुन्छ ? आयात भएको पाउडरलाई रोकौं न यहाँ भएकोले नै पुग्दैन,’ उनले भने, ‘आज पनि विरगञ्ज र जोगवनी नाकाबाट १ हजार टन पाउडर आएको छ । यसको अन्त्य हुँदैन भने हामी किसान रहँदैनौं ।’

दुधको खपत कम भएपछि कोशी प्रदेशका ९ वटा डेरी उद्योगले भने प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएका छन् । यस्तै डेरीजन्य अन्य उत्पादित सामाग्रीहरुको पनि मूल्य घट्दा केही खपत बढेको उद्योगी बताउँछन् । यता, कोशी प्रदेश सरकारले पनि बटर तथा दुध पाउडर विदेश निर्यात गर्ने उद्योगलाई अनुदान दिने भन्दै ४ करोड बजेट नै छुुट्याएको छ । प्रदेश सरकारले बजेट छुट्याउनु राम्रो भएको तर, निर्यातका लागि वातावरण बनाउन संघीय सरकारले सहजीकरण गर्नुपर्ने डेरी उद्योगहरु बताउँछन् ।

सोमबार, १८ मंसिर, २०८०, बिहानको ०८:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर