विराटनगर । सुविधा ग्यासले उपभोक्तामाथि ठगी गरिरहेको पाइएको छ । भरिएको सुबिधा कम्पनीको शिलप्याक ग्यास सिलिण्डरको परीक्षण गर्दा ६० प्रतिशतम कम तौल भेटिएको हो ।
अगाडि गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरले बजार पठाउने तयारी गरिएको सुनसरीको दुहबी नगरपालिका ८ स्थित सुविधा ग्यास उत्पादन गर्ने मारुती ग्यास उद्योग अनुगमन गरेको थियो । उद्योगमा निरीक्षणको क्रममा ९८ वटा शिलप्याक ग्यासको सिलिण्डर चेकजाँच गर्दा ६० वटामा कम तौल भेटिएको गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरका प्रमुख शम्भू झाले जानकारी दिए ।
उद्योगले बजार पठाउने तयारी गरेको शिलप्याक सिलिण्डर परीक्षण गर्दा सुविधा ग्यासले उपभोक्तामाथि ठगी गरिरहेको पाइएको हो । गुणस्तर तथा नापतौल कार्यालयको टोलीसहित अनुगमनमा पुगेको प्रशासनको टोलीले शिलबन्दी रहेका सिलिण्डर दोहोर्याएर तौलेको थियो । सो क्रममा ६० वटा सिलिण्डरमा २४ ग्राम कम तौल भेटिएको कार्यालय प्रमुख झाले बताए । शिलप्याक सिलिण्डरमा १४.२०० किलो ग्राम ग्यास हुनुपर्नेमा १४.१७६ किलोग्राम मात्र ग्यास भेटिएको हो ।
कम तौलको ग्यास सिलिण्डर बजारमा पठाउने गरेको भेटिएपछि उद्योगलाई नापतौल तथा गुण नियन्त्रण कार्यालयले स्पष्टिकरण सोधेको छ । उद्योगमाथि कार्वाहीको प्रक्रिया अगाडि बढेको कार्यालयले जनाएको छ । ‘अहिले कारवाहीको अन्तिम चरणमा पुगेका छौं,’ कार्यालय प्रमुख झाले भने, ‘अहिले बयान लिने काम सकिन लागेको छ । त्यसपछि स्टाण्डर्ड नाप तौल ऐन अनुसार कारवाीको दायारमा ल्याउनेछौं ।’
नाप तौल ऐन अनुसार एलपीजी सिलिण्डर वा उद्योगको हकमा ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवना हुने कानुनी व्यवस्था रहेको छ । यसअघि पनि विराटनगरमा सुविधा ग्यासले बिक्रीका लागि बजारमा पठाएको शिल नतोडिएको सिलिण्डर झण्डै एक किलोग्राम कम तौलको भेटिएको थियो ।
उद्योगले बिक्रीका लागि विराटनगर पठाएको सिलिण्डर चेकजाँच गर्दा तौल नपुगेको थियो । शिलप्याकमा तौल नपुग्नु र खालीमा लेदो भेटिनुले उपभोक्तामाथि ठगी भइरहेको प्रष्ट हुने गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले जनाएको छ ।
ठगी गर्ने ६४४ फर्म कारवाहीमा
चालु आर्थिक वर्षको चार महिनामा गुणस्तर तथा नाप तौल कार्यालयले विराटनगरले ६४४ वटा फर्मलाई कारावही गरेको छ । नापतौललमा उपभोक्तालाई ठगी गरेको पाइएपछि चालु आर्थिक वर्षको साउनदेखि कार्तिकसम्म ६४४ वटा फर्म कारवाही गरिएको गुणस्तर तथा नाप तौल कार्यालयका विराटनगरका प्रमुख झाले जानकारी दिए ।
कारवाहीमा परेका उपभोक्तालाई अनियमित नाप तौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरेको पाइएपछि कारवाी गरिएको हो । कार्तिक महिनामा मात्र ४८ वटा फर्म कारवाहीमा परेको नाप तौल कार्यालयको अभिलेखमा देखिन्छ । साउनदेखि कार्तिक तीन महिनामा मात्र ५९६ वटा फर्म कारवाहीमा परेका छन् ।
चार महिनामा कार्वाहीबाट ३८ लाख १२ हजार ७६५ रुपैयाँ जरिवाना संकलन भएको कार्यालयको अभिलेखमा देखिन्छ ।