अम्बेकोशी विरुद्ध उजुरी दिन प्रहरीको आह्वान

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ६ मा केन्द्रीय कार्यालय रहेको अम्बेकोशी सहकारी संस्थाबाट पीडित भएकाहरुलाई उजुरी दिन प्रहरीले आह्वान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले एक सूचना प्रकाशित गर्दै धमाधम उजुरी संकलन गर्ने कार्य भइरहेकाले सकेसम्म छिटो निवेदन दिन आग्रह गरेको हो ।

विराटनगर, विराटचोक र दमकका शाखा कार्यालय रहेको अम्बेकोशीका सञ्चालकले शेयरधनी र बचतकर्ताको रकम हिनामिना गरेको उजुरीका आधारमा थप पीडितको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । मनोजकुमार भट्टराई लगायत पीडितको जाहेरीका आधारमा अध्यक्ष फडिन्द्र मगरसहित ४ जना मङ्सिर ८ गते नै पक्राउ परिसकेका छन् ।

अध्यक्ष मगरसहित शिलादेवी विश्वकर्मा, राहुल अग्रवाल र कुमार आलेलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार बुधबारसम्ममा ५९ वटा निवेदनमार्फत ३ सय भन्दा बढी पीडितले प्रहरीमा उजुरी दिएका छन् ।

प्राप्त जाहेरीका आधारमा १४ करोड ३६ लाख २९ हजार ५ सय ७३ रुपैयाँ बचत फिर्ता नभएको पीडितले बताएका छन् । सहकारीमा ९ हजार ८ सय ९१ सेयर सदस्य रहेको बताइएको छ । यस्तै ११ हजार ८ सय ४५ जना बचतकर्ता रहेको सहकारीले गत साउनदेखि बचतकर्ताको रकम फिर्ता दिन सकेको छैन ।
फोटो

शुक्रबार, १५ मंसिर, २०८०, बिहानको ०७:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर