विराटनगर । कोशी प्रदेशका प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रस्तुत विनियोजन विधेयकमाथि खर्च कटौतीको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरेका छन् ।
एमालेका ६ र राप्रपाका २ सांसदले खर्च कटौतीको प्रस्ताव राखेका हुन् । उनीहरुले विभिन्न शीर्षकमा खर्च कटौती गर्नुपर्ने भन्दै यस्तो प्रस्ताव दर्ता गरेका हुन् ।
बजेटमाथिको छलफल सकिएपछि खर्च कटौतीको प्रस्ताव दर्ता गर्नका लागि आज विहान ११ बजेसम्मका लागि समय दिएको थियो । आज दिउँसो १ बजे बस्ने बैठकबाट बजेट पारित गर्ने सरकारको तयारी छ ।
यसरी खर्च कटौतीको प्रस्ताव दर्ता गर्ने सांसदहरुमा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी, विदुरकुमार लिङ्थेप, किशोरचन्द्र दुलाल, तिलचन पाठक, कमला दर्नाल र निरन राई रहेका छन् । यस्तै राप्रपाका भक्ति प्रसाद सिटौला र गोपाल विश्वकर्मा रहेका छन् ।
सिटौलाले मुख्यमन्त्री जनता कार्यक्रमको ११ लाख र बिकले इलामको अन्तुमा निर्माण हुने चेन्जिङ रुमसहितको शौचालयको ४ करोड खर्च कटौतीको प्रस्ताब गरेका छन् । अन्यमा दर्नालले २ रुपैयाँ तथा अरुले १ रुपैयाँ खर्च कटौतीको प्रस्ताब गरेका छन् ।
विनियोजन शीर्षकमाथि चित्त नबुझाएर सांकेतिक विरोधस्वरुप खर्च कटौतीको प्रस्ताव गर्ने अभ्यास छ । तर यस्तो प्रस्ताव पारित हुँदैन । पारित भए सरकारको बजेट र कार्यक्रम फेल भएको मान्ने चलन छ ।
तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंसिर ९ गते ५० करोड थप गर्दै बजेट प्रतिस्थापन विधेयक ल्याएका हुन् । अर्थमन्त्रीको समेत हैसियतमा प्रदेशसभामा आज मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गरेको बजेट विवरणमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट छ ।