मुख्यमन्त्रीले बजेटमा अन्धाधुन्द डाडुपन्यु चलाएको काँग्रेसकै सांसदको आरोप

विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत आएको बजेट प्रतिस्थापन गर्नेगरि ल्याएको बजेटप्रति सत्तारुण्ढ दल काँग्रेसकै सांसदहरुले पनि असन्तुष्टि जनाएका छन् ।

प्रदेशसभामा आज विनियोजन विधेयकमाथि जारी छलफलमा भाग लिँदै काँग्रेसकै सांसदहरुले बजेटप्रति विरोध गरेका ह्ुन् ।

काँग्रेस सांसद खगेनसिंह हाङ्गामले मुख्यमन्त्रीले बजेटमाथि अन्धाधुन्ध डाडुपन्यु चलाएको आरोप लगाए । यसअघि अध्यादेशबाट आएको बजेट तलमाथि गर्दा मुख्यमन्त्रीले आवश्यकता र प्राथमिकता अनुसार नगरेको उनको भनाइ छ । ‘हिजो पाखेको खानामा सेलाएको थियो, त्यसमा उहाँले केहि तातो खाना बनाएर मोलेर जथाभावी डाडुपन्यु चलाउनुभयो’ उनले भने, ‘त्यसैले स्वाद राम्रो आएन । त्यसकारण असन्तुष्टि हुने नै भयो ।’

मुख्यमन्त्रीको दलकै सांसदको पनि योजना नपर्नुले बजेट नै यस्तै हुँदो रहेछ जस्तो लागेको हाङ्गामले बताए । संखुवासभाको गुफापोखरी र ताप्लेजुङ जोड्न सडक ट्रयाक खोल्न ३ किलोमिटर बाँकी रहेको भएपनि बिचमा कालोपत्रे गर्न ४ करोड ५० लाख बजेट विनियोजन गरिएको उनले बताए । पहिले बाटो खोलेर कालोपत्रे गर्नुपर्नेमा बिचमा कालोपत्रे गर्नुको अर्थ नहुने उनले बताए । ताप्लेजुङलाई बजेटमा पछि पारिएको उनको गुनासो छ ।

काँग्रेसका सांसद गोपाल तामाङले यसअघि अध्यादेशबाट आएको बजेटमा आफ्नो क्षेत्रमा आएको बजेटका १३ योजना काटिएको भन्दै उनले त्यसलाई सच्याउन माग गरे । शौचालय निर्माणको लागि छिमेकी जिल्लामा ५ करोड बजेट छुट्टिएको भन्दै आपत्ती जनाए । १० वर्षमुनीका बालबालिकाको निःशुलक उपचार गर्ने कार्यक्रम राम्रो भएको भन्दै उनले त्यसको कार्यान्वयन हुनुपर्ने बताए । झापामा हात्ती करिडोरको संभाव्यता अध्ययन गर्ने कार्यक्रम राम्रो भएपनि १० लाख रुपैयाँ मात्र बजेट कम भएको उनको भनाइ थियो । केहि विमति भएपनि बजेटलाई समर्थन रहेको उनको भनाइ थियो ।

काँग्रेसका सांसद गोविन्द गिरीले सांसदले छानेको एक करोड बराबरको योजना समावेश गर्ने मुख्यमन्त्रीले प्रतिबद्धता जनाएको भएपनि आफ्नो योजना खल्तीमा मात्र सीमित भएको गुनासो गरे । आफू जनताको बिचमा गएर जवाफ दिन नसक्ने अवस्था बनेको भन्दै उनले इलाममा भएका दुई संघीय निर्वाचन क्षेत्रमध्ये अर्को निर्वाचन क्षेत्रमा मात्र धेरै बजेट विनियोजन भएको आरोप लगाए । आफ्नो निर्वाचन क्षेत्रमा यसअघि भएका योजना पनि कटौती भएको उनले गुनासो गरे ।

काँग्रेस सांसद शोभा चेम्जोङले चालु खर्च कम गरेर पूँजीगत खर्च बढाउनु सकारात्मक भएको बताइन् । कतिपय कार्यक्रमले सरकार गरिब र सर्वाहारा बर्गको भएको देखिने भन्दै उनले कडा रोग लागेका विरामीलाई प्रदेश सरकारले गर्दै आएको सहयोग कटौती गर्नु गलत भएको भन्दै उनले त्यसको कारण माग गरिन् । बजेटमा सांसदहरुको गुनासो सम्बोधन गर्न बजेट संशोधन गरेर भएपनि जानुपर्ने उनले बताइन् ।

काँग्रेस सांसद प्रदिप सुनुवारले बजेटप्रति सांसदहरुले उठाएको गुनासो जायज भएपनि गोजीबाट निकालेर बजेट वितरण गर्ने प्रणाली अन्त्य हुनुपर्ने बताए । आवश्यकता र प्राथमिकताका आधारमा बजेट बिनियोजनको प्रणााली स्थापित गर्नुपर्ने उनको भनाइ थियो । अन्तिम समयमा योजना मागेर निर्णय गर्ने प्रक्रिया अन्तय हुनुपर्ने उनले धारणा राखे ।

काँग्रेस सांसद सदानन्द मण्डलले असन्तुलित भएको बजेटलाई सन्तुलिन बनाउने प्रयास राम्रो भएपनि आफ्नो निर्वाचन क्षेत्रमा आफूले दिएको बाहेक अन्य योजना कसरी छिराईयो भन्ने प्रश्न गरे । काँग्रेसका सांसद गयानन्द मण्डल गनगाईंले अघिल्लो सरकारले कुनै माननीयलाई पनि नसोधी बजेट ल्याएकोमा अहिलेको सरकारले एक करोड बराबरको बजेट दिने प्रतिबद्धता जनाउनु राम्रो रहेको बताए ।

मङ्गलबार, १२ मंसिर, २०८०, दिउँसोको ०३:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर