विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्ण रूपमा कार्यान्वयन हुने बताएका छन् ।
आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा आर्थिक मामिला तथा योजनामन्त्रीको समेत जिम्मेवारीमा रहेका कार्कीले स्रोत सुनिश्चित गरेर बजेट ल्याएको भन्दै कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गरे ।
बजेट भौतिक विकासमा मात्र केन्द्रित नरहेको उल्लेख गर्दै प्रतिस्थापन विधेयकले मानवीय विकासलाई समेत जोड दिएको मुख्यमन्त्री कार्कीले बताए । बजेटमा प्रस्तुत कार्यक्रमहरू विधेयक पास भएको भोलिपल्टदेखि नै कार्यान्वयनमा जाने उनको दावी छ ।
समुन्नत प्रदेशका लागि पाइला चालिसकेको बताउँदै मुख्यमन्त्री कार्कीले व्यक्तिगत रूपमा पहुँचका आधारमा योजना ल्याएर बजेट कनिका सरि छर्ने काम रोकिएको उल्लेख गरे । अब योजना आयोगले तय गरेका कामहरू प्राथमिकता र योजनाबद्ध तवरले हुने भन्दै उनले त्यसका लागि आयोगले पनि काम सुरु गरिसकेको जानकारी दिए ।
शनिबार कार्कीले प्रदेशसभामा पेश गरेको अध्यादेश प्रतिस्थापन बजेटमा विभिन्न लोकप्रिय कार्यक्रमहरु रहेका छन् । बजेटमा १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने, तमोरको पानी धरान ल्याउने, धुलो दूध र घिउ निर्यातमा अनुदान दिने, हात्तीमैत्री जङ्गल बनाउने, इटहरीमा प्रादेशिक जलन अस्पताल निर्माण गर्ने, विराटनगरमा हृदयरोग उपचार केन्द्र बनाउने, प्रत्येक जिल्लामा निःशुल्क कानुनी उपचार केन्द्रको व्यवस्था मिलाउने, भूमिही सुकुम्वासीलाई घडेरी खरिद गर्ने प्रयोजनका लागि कर्जाको व्याज मिनाहा गर्नेलगायतका कार्यक्रम समावेश गरिएको छ ।