कोशी प्रदेश बजेट प्रतिस्थापन विधेयक :

घिउ र पाउडर दूध निर्यातमा अनुदान दिइने (यस्ता छन् प्राथमिकता)

विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेटमा ५० करोड थप गर्दै उक्त बजेट प्रतिस्थापन विधेयक ल्याएको छ ।

अर्थमन्त्रीको समेत हैसियतमा प्रदेशसभामा आज मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गरेको बजेट विवरणमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट ल्याइएको हो ।

यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको थियो ।

उक्त अध्यादेशमा ५० करोड बढी अनुमान गर्दै प्रतिस्थापन बजेट ल्याइएको हो । जसअनुसार चालूतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार, पूँजीगततर्फ २० अर्ब ३८ करोड १५ लाख ८२ हजार, वित्तीय व्यवस्था तर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ६६ करोड ७३ लाख ४५ हजार विनियोजन गरिएको छ । यस्तै चालू खर्चमध्ये संघीय अनुदान बचत फिर्ताका लागि २ अर्ब राखिएको छ ।

उक्त बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपुरक अनुदानबाट ७३ करोड र विशेष अनुदानबाट ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ८४ करोड २९ लाख ५० हजार तथा नगद मौज्दातबाट ४ अर्ब २५ करोड १ लाख तथा वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार रहेको छ ।

तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालू आर्थिक वर्षका लागि पहिलो पटक अध्यादेशबाट जेठ ३२ गते बजेट ल्याएका थिए । अध्यादेशबाट ल्याएको बजेटमा पूँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार तथा चालूतर्फ १७ अर्ब ९९ करोड ९२ लाख ५८ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १ करोड थियो ।

जसमध्ये प्रदेश सरकारले पहिलो चौमासिकमा चालूतर्फ ३ अर्ब ५७ करोड ८२ लाख १३ हजार २९४ रुपयाँ अर्थात् १९.८७ प्रतिशत खर्च गरिसकेको छ । पूँजीगत तर्फ भने हालसम्ममा १ अर्ब ३७ करोड ५५ लाख ९६५ रुपैयाँ अर्थात् ७.५४ प्रतिशत खर्च गरिसकेको छ ।

घिउ र पाउडर दूध विदेश निर्यातमा अनुदान

प्रदेशसभामा पेश भएको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै मुख्यमन्त्री केदार कार्कीले बजेट धेरै चलाउने अवस्था नभएको बताए । आफूले १० देखि १५ प्रतिशत बजेट परिमार्जन गरेको बताए । ‘यो सरकार बनाउँदा एमाले थियो । विश्वासको मत लिँदा माओवादी र नेकपा एससहित एक भएको थियो । यो बजेटमा प्रदेश सांसदहरुको छाती चौडा हुने र संघीय सांसद र संघीय मन्त्रीहरुलाई जवाफ दिनेगरी पाइला चालेका छौं,’ उनले भने, ‘विषम परिस्थितिलाई मध्यनजर गर्दै हामीले लगभग १०–१५ प्रतिशत बजेट चलाएर जनताको मागलाई सम्बोधन गर्ने प्रयास गरेका छौं । यो अध्यादेशबाट आएको बजेटलाई शुद्ध बनाएर सबै सांसदको क्षेत्रमा पुग्ने, समानुपातिक वा प्रत्यक्ष सबैले महसुस गर्नसक्ने । सबैलाई छुने । ५६ वटै क्षेत्रलाई अन्याय नहुने गरी प्रतिस्थापनमार्फत केही प्रयास गरेका छौं ।’

प्रतिस्थापन बजेटका प्राथमिकताहरू

– कृषि उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने ।
– मिल्क होलिडे निजी क्षेत्रसँग सहकार्य हुने गरी निजी डेरीमा रहेको घिउ र पाउडर दूध निर्यातमा अनुदान दिने ।
– सहकारी संस्थाको नियमित अनुगमन र छानविनका लागि विज्ञहरुको समिति बनाउने ।
– युवा तथा महिला उद्यमी लक्षित तालिमको लागि बजेट व्यवस्थापन ।
– हात्तीको संरक्षण र व्यवस्थापनका लागि हात्तीमैत्री जंगल र करिडोर निर्माणको लागि बजेट ।
– पर्यटक प्रहरी परिचालन गरिने ।
– प्रदेशमा रहेका थप पर्यटकीय स्थलको प्रबद्र्धन गर्ने ।
– जनावरमैत्री वन बनाउन फलफूलका विरुवा रोपिने ।
– वैकल्पिक यातायातको लागि स्वचालित तुईन संचालन गर्नेगरी सम्भाव्यता अध्ययन गरिने ।
– धरानमा तमोरको पानी अढाइकिलोमिटर सुरुङ खनेर ल्याउन अध्ययन गरिने ।
– २५ लाख भन्दा माथिको नयाँ आयोजनामा मात्रै बजेट विनियोजन ।
– प्रदेशभित्र आवश्यक पर्ने चिकित्सा, विज्ञान तथा कानून अध्ययन गर्ने स्नातक तहका विद्यार्थीहरुका लागि छात्रवृत्ती व्यवस्थापन गर्ने ।
– प्रदेशभित्र दक्ष जनशक्ति उत्पादन गरी कृषि र पशु प्राविधिक अध्ययन गर्न प्रत्येक स्थानीय तहमा १ जनाको दरले छात्रवृत्ती उपलब्ध गराउने ।
– अपाङ्गता भएका विद्यार्थीका लागि स्थापना भएको लागि आवास व्यवस्थापन गरिने ।
– सामुदायिक विद्यालयका आधारभूत तहका विद्यार्थीका लागि बालमैत्री नमूना कक्षा संचालन गर्न बजेट व्यवस्थापन ।
– शिक्षक तालिमको लागि बजेट व्यवस्था ।
– राष्ट्रिय विभुति फाल्गुनन्द भाषा संस्कृति अध्ययन प्रतिष्ठानको स्थापना गरिने ।
– १० वर्षभन्दा मुनिका प्रदेशका बालबालिकालाई प्रदेशका सरकारी तथा विभिन्न अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था गर्नका लागि बजेट छुट्याइएको छ ।
– शैलजा आचार्य हृदय रोग उपचार केन्द्र स्थापना गर्ने ।
– स्वास्थ्य स्वयंसेविका महिलाहरुका लागि अतिरिक्त प्रोत्साहन भत्ताको व्यवस्था ।
– इटहरीमा प्रादेशिक जलन अस्पताल निर्माणको लागि बजेट व्यवस्थापन ।
– कोशी प्रदेशका सार्वजनिक सवारी साधनका चालक तथा सहचालकको स्वास्थ्य बिमाको कार्यक्रम लागू गर्ने ।
– अस्पतालमा दोभाषेको व्यवस्थापन गर्न बजेट विनियोजन ।
– सवारी चालकको आँखा, लागू पदार्थ सेवन गरेको वा मादक पदार्थ सेवन गरेको हो होइन भन्ने विषयमा सडकमै चेकजाँच गर्ने व्यवस्था मिलाइने ।
– सवारी चालक अनुमति पत्र छपाईमा हुने ढिलाइ गर्न अन्त्य गरिने ।
– प्रदेशका संचारमाध्यामलाई प्रदेशका विज्ञापन उपलब्ध गराउन ऐन बनाउने ।
– भूमिहीन तथा सुकुमबासीले घडेरी खरिद गर्न लिएको ऋणको ब्याज मिनाहा गरिने ।

शनिबार, ०९ मंसिर, २०८०, दिउँसोको ०३:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर