उस्तै हुन् राजा र गोमन

 इन्दिरा चापागाईँ

आजकल नेपाली समाजमा गणतन्त्रमा धेरै नेताले राज्यको धन खाएर राज्यमा आर्थिकभार बढी भएकोले एक जना राजा भएको राजतन्त्र ठीक हुन्छ । एक जना मात्र राजाले राज्यको धन खादा देशमा आर्थिक भार कम हुन्छ तसर्थ राजतन्त्र पुनः स्थापन गर्नुपर्छ भन्ने चर्चा चलिरहेको छ । तर, राजतन्त्रमा राजा र राजपरिवार अपराधी थिएन, नागरिक सुखी र खुसी थिए भन्ने आधारप्रमाण चाहिँ देखिदैन । म स्यम्ले पनि राजाको एकाधिकारी शासन व्यवस्था देखेर भोगेको हुँदा राजतन्त्रात्मक शासन व्यवस्थाको अन्याय अत्यचार देखेकी भोगेकी छु । यदि नेपालमा राजा राजतन्त्र ठिक भएको भए गणतन्त्रको स्थापना नै हुने थिएन । साथै यो पनि सत्य हो कि राजतन्त्रमा भएको दुष्ट प्रवृत्तिले गणतन्त्रमा निरन्तरता नपाएको भए धेरै जनाले खानु भन्दा एउटै राजाले खानु ठीक हो भन्ने सोचाइ मानिसमा आउने नै थिएन । नेपालमा तन्त्रको नाम मात्र फेरिएको र मन्त्र नफेरिएको कारण मानिसको संख्याले दोष पाएको छ । गणतन्त्रले नै दोष पाएको छ । दोष मनिसको संख्याको छैन । सोचाइ र भावनाको दोष छ । नेपालमा आर्थिक समस्या छैन । समस्या त राष्ट्रमा भएको नगद , जिन्सी, प्राकृतिक स्रोतसाधन र मानव शक्तिको सही परिचालनको अभावको छ ।

देशमा धेरै नेताको ठाँउमा एउटा राजा राख्नुपर्छ भन्नुको अर्थ यो हुन्छ कि नेपालमा एउटा गोमन चाहिँ अनिवार्य राख्नै पर्छ । एउटा गोमनबाट चाहिँ हामी नेपाली डसिनै पर्छ । यदि एउटा गोमन पाल्नु ठिक हुन्छ भने के ७ जनाको परिवार भएको एउटा घरमा एउटा गोमन प्रवेश गर्यो र गोमनलाई घरमा बस्न दिइयो भने उक्त गोमनले केही मिनेट भित्रमै सबैलाई डसेर मार्दैन ? के उनीहरुलाई डसेर मार्न ७ वटै गोमन चाहिन्छ ? के हाम्रो समाजमा धेरै भाइ छोराहरु हुने बाबुआमालाई मात्र छोराहरुबाट दुःख अशान्ति भएको छ र ? एक भाई छोरा हुने सम्पुर्ण बाबुआमालाई छोराबाट सुख शान्ति मिलेको छ ? एउटा मात्र छोराले बाबुआमा रुवाएको उदाहरण हाम्रो समाजमा छैन ? छोराको कस्तो व्यवहार बढी खतरा हुन्छ र कुनचाहिँ बढी मार्मिक दर्दनाक हुन्छ भन्ने उदाहरण हेरौं ।

एक दम्पतिका ७ भाइ छोरा मध्ये कोही अत्याधिक मात्रामा मा.प.से गर्ने, केही अत्याधिक मात्रामा लागु औषध सेवन गर्ने, कुनै चोर, डाँका, लुटेरा, कुनै जुवाडे छोरा भएको र बाबुुआमालाई रुवाएको भन्दा एक दम्पतिका एउटा छोराले ती कुनै पनि उपद्रव नगरी २० वर्षको उमेरमा ५ वर्षकी आफ्नी सहोदर बालिका बहिनीलाई बलात्कार गरेर मार्यो र उक्त जघन्य अपराधको घटना समाजमा सार्वजनिक भयो भने सात छोराका बाबुआमालाई हुने दुःख भन्दा एउटै छोराबाट बाबुआमालाई हुने दुःखले काम पु¥याउँछ ।

हाम्रो देश नेपालमा चलिरहेको विकृति विसंगति अन्याय अत्याचार पुरानो रोगको निरन्तरता हो । नयाँ रोग लागेको हैन । एउटा नामको बिषवृक्षको ठाँउमा अर्को नामको बिषवृक्ष स्थापित भएको छ । विशिष्ट खोल ओढाएर समाजमा सुन्दर र आकर्षक देखाएको वृक्षमा पुरानो वृक्षमा फलेको विष निरन्तर रुपमा फलिरहेको कारण समाजमा गणतन्त्र नै खराब हो भन्ने भ्रम फैलाइरहेका छन् । धेरै जना नेताले धेरै खाएको र एउटा राजाले थोरै खान्छ भन्ने चर्चा चलाइ रहेका छन् । हामीले समस्याको मूल जरोको खोजी गरेर पत्ता लगाउनु पर्छ । जसरी आगो निभाउन चिसो पानी र हरियो स्याउला प्रयोग गर्नु पर्छ । पानीजस्तै तरल देखेर आगो निभाउन मट्टितेल, पेट्रोल, डिजेल प्रयोग गरियो, हरियो स्याउलाको सट्टा सुकेको पात प्रयोग गरियो भने आगो निभ्ने त होइन अझ बढी शक्तिशाली हुन्छ । र, झन् बढी मात्रामा धनजनको क्षति हुन्छ । तसर्थ समस्याको समाधान सही तरिकाले गर्नु पर्छ, नत्र झन ठुलो भयानक समस्या आउँछ । प्रत्येक समस्याको नाभीमा मृत्यु लुकेर बसेको हुन्छ । उक्त नाभीमा अर्जुन दृष्टिले प्रहार गरेर समस्याको अन्त्येष्टी गर्नु पर्छ न कि धेरै वटा विषलु गोमनको ठाँउमा एउटा विषलु गोमन राखेर÷पालेर ।

बुधबार, ०६ मंसिर, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर