जीवन बीमामा सुर्यज्योतिको नयाँ प्लान : ४० हजारमा २५ लाखको बीमा

विराटनगर । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना ल्याएको छ । कम्पनीले नेपालकै पहिलो र कम प्रिमियममा आजीवन सुरक्षा दिने बीमा योजना ‘सही प्लान’ ल्याएको हो ।

योजना शुक्रवार राजधानीमा एक कार्यक्रमबीच नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

हाल सूर्यज्योति १५ वटा बीमा योजना सञ्चालनमा छन् । अहिले गरिब विपन्न वर्गले पनि सहज र सरल रूपमा बीमा गर्न सकिनेगरि नयाँ प्लान ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाशविक्रम खत्रीले जानकारी दिए । उनका अनुसार सूर्यज्योतिले ल्याएको उक्त बीमा योजना कम प्रिमियममा ठुलो प्लान अर्थात् तिरेको प्रिमियमको ६ गुणा सम्मको कभरेज गर्नेछ ।

यसका साथै ७० वर्षको उमेरमा बीमा अवधिभर तिरेको सम्पूर्ण रकम फिर्ता हुनेछ । नेपालकै पहिलो आजीवन म्यादी जीवन बीमा योजनामा कम प्रिमियममा आजीवन सुरक्षा पाइने कम्पनीले जनाएको छ । ‘यो सीमित भुक्तानी र असीमित कभरेज भएको योजना हो’ उनले भने, ‘जसले बीमा अवधि समाप्ति पछि पनि होल लाइफ कभरेज गर्छ ।’

‘सही प्लान’ योजनामा ४० हजार रुपैयाँ प्रिमियममा २५ लाखको बीमा गर्न सकिनेछ । यसको उमेर ३५ वर्ष र भुक्तानी अवधि १५ वर्ष हुनेछ । यसमा प्रिमियम भने ४० हजार ७१९ रुपैयाँ छ । यसको भुक्तानी भने ५० वर्षमा सकिनेछ । अर्थात् ३५ वर्ष उमेर पुगेको व्यक्तिले यस योजना अन्तर्गत बीमा गरेको खण्डमा उ ५० वर्ष पुग्दा बीमा अवधि सकिनेछ । त्यस अवधिमा ६ लाख १० हजार ७८५ रुपैयाँ बीमा शुल्क बुझाएपनि क्रेज भने रहिरहने छ ।

कम्पनीका अनुसार २५ लाखको बीमामा ४० हजार ७१२ रुपैयाँ बीमा शुल्क बुझाउनुपर्ने छ । यसमा विमकले ७० वर्षको उमेरमा प्रिमियम रिफण्ड ६ लाख १० हजार ७८५ सहित ३१ लाख १० हजार ७८५ रुपैयाँ रकम पाउनेछन् ।

यस्तै, १ करोडको बीमामा १ लाख ६२ हजार ८७६ रुपैयाँ बीमाशुल्क लाग्नेछ । यसमा २४ लाख ४३ हजार १४० रुपैयाँ प्रिमियम फिर्ता हुनेछ भने कुल १ करोड २४ लाख ४३ हजार १४० रुपैयाँ रकम विकमले पाउनेछ । प्रिमियम फिर्ता उमेर ७० वर्ष रहेको छ ।

अर्को योजनामा न्यूनतम बीमाङ्क ५ लाख र उमेर १८ वर्ष रहनेछ भने अधिकतम प्रवेश उमेर ६० वर्ष कायम गरिएको कम्पनीले जनाएको छ। बीमा शुल्क भुक्तानीको समाप्ति उमेर भने ६० वर्ष र न्यूनतम भुक्तानी अवधि ५ वर्षको रहनेछ । बीमा शुल्क भने एकल, वार्षिक, अर्धवार्षिक र त्रैमासिक रूपमा भुक्तानी गर्न सकिनेछ ।

यो योजनामा दुर्घटनाको कारण मृत्यु भएमा दोहोरो बीमा लाभ अर्थात् १ करोड रुपैयाँसम्मको सुविधा रहेको कम्पनीले जनाएको छ । दुर्घटनाबाट पूर्ण अशक्त भएमा अधिकतम १ करोडसम्मको सुविधा छ । बाँकी अवधिको बीमाशुल्क छुट, बीमाङ्कको आधारमा कम्तीमा १० वर्षसम्म मासिक अशक्त सुविधा रहेको कम्पनीले जनाएको छ। यस्तै, ३५ घातक रोगहरू विरुद्ध ५० लाख रुपैयाँसम्मका उपचार खर्चको सुविधा र सहुलियत दरमा नियमानुसार ऋण लिन पाइने कम्पनीका बिराटनगर प्रबन्धक कबिराज दाहालले जानकारी दिएका छन् ।

शनिबार, ०२ मंसिर, २०८०, साँझको ०५:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page