कोशी प्रदेशमा भारतबाट दूध आयात भएको हो ?

तराइको दूध छुर्पीका लागि इलाम पठाइयो, छुर्पी विदेश

विराटनगर । देशैभरी दूध तथा दूधजन्य वस्तुको विक्री कम भएको उत्पादकहरू बताउँछन् । साना तथा ठूला डेरी उद्योगहरुमा दूधजन्य वस्तुहरु घ्यू, पाउडर, पनिर स्टकमा रहेपनि विक्री हुन सकेको छैन । जसले गर्दा उद्योगीहरु समस्यामा छन् ।

तिजमा भन्दा दशैं र तिहारमा घ्यू विक्री केही बढेको व्यवसायीहरु बताउँछन् । तर, स्टकमा रहेको मालको खपत भने २५ प्रतिशत मात्रै भयो । छैठसम्ममा केही विक्री हुने अपेक्षा व्यवसायीको भएपनि आफूहरू घाटामा पर्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरिरहेका छन् । कोशी प्रदेशका दुग्ध व्यवसायीहरू बजार खोज्दै बंगलादेशसम्म पुगेका छन् । तर, उक्त कदमले पनि हालसम्म सार्थकता पाउन सकेको छैन । खासमा दूध बढेको हो कि खपत घटेको हो ? यस विषयमा किसान तथा डेरी उद्योगी व्यवसायी, साना सहकारीहरुमा चासो बढेको छ ।

भारतबाट आयात

२०७९ चैत महिनादेखि नेपालमा दूधको मूल्य बढ्यो । मूल्य बढेसँगै नेपालको सिमावर्ती क्षेत्रबाट भारत निर्यात हुने दूध ठप्प भयो । झापा, मोरङ र सुनसरीबाट दूध तथा दूधजन्य वस्तुहरु घ्यु र पनिर भारतको सिमावर्ती बजारमा जाने गर्दथ्यो । त्यसरी भारतमा दैनिक ३ हजारदेखि ३ हजार ५ सय लिटरसम्म सरदर दूध निर्यात हुने गरेको व्यवसायी राजकुमार खनाल बताउँछन् । उनी आफैं पनि भारततिर दूध निर्यात गर्दथे । तर, अहिले ठप्प भएको उनी सुनाउँछन् । दूध निर्यात ठप्प मात्रै भएन । बरु, त्यतिनै परिणामको दूध नेपालका सीमाक्षेत्रका बजारमा भारतबाटै दूध आउन थाल्यो । जसको कारण दैनिक ६ हजारदेखि ७ हजार लिटर दूध नेपाली बजारमा बढी भयो । एकातिर दूध उत्पादन बढ्नु, दूधको मूल्य बढ्नु र भारतबाटै सस्तोमा दूध आउन थाल्दा नेपालको दूध बढी हुनु स्वभाविक देखियो ।

बजारमा दूध बढ्नुको अर्को कारण पनि छ । बजारमा दूधको मूल्य बढ्नु अगाडि कोशी प्रदेशका डेरी उद्योगहरुले पर्याप्त दूध संकलन गरे र पाउडर बनाए । उनीहरुले त्यही बेला घ्यु, पनिर पनि पर्याप्त बनाए । दूधको मूल्य बढेपछि पाउडर घोलेर बेच्ने तथा घ्यु र पनिर बेच्ने उनीहरुको तयारी थियो । बजारमा उनीहरुले सोचे अनुसार जेठ, असारमा पनि दूध उत्पादन घटेन । बरु बजारमा धेरै नै भयो । त्यसपछि ठूला डेरी उद्योगहरुले सानातिना कलेक्सन सेन्टरहरुमा मिल्क होलिडे कामय गरे । साना कलेक्सन सेन्टरहरुले भने आफैं मोटरसाइकलमा वा गाडीमा बोकेर ल्याएर विराटनगर, धरान, इटहरी, विर्तामोड, दमक जस्ता बजारमा दूध विक्री गर्न थाले । उनीहरुले ल्याएको दूधमा केही पानीको मात्रा पनि बढ्यो । बजारमा दूधको मूल्य पनि प्याकेजिङ दूधभन्दा सस्तो भयो । अनुगमन भएन । जसका कारण दूध बढी भएको डेरी पसल संचालकहरु बताउँछन् ।

‘त्यसरी विक्री हुँदा न्यूनतम गुणस्तर कायम भएन । विराटनगर महानगरमै बिना दर्ता सयौंको संख्यामा गुड्ने दूधका गाडी कहाँबाट आउँछन्, कति कारोबार गर्छन्, अभिलेख राखेर करको दायरामा ल्याउने कुनै तयारी स्थानीय सरकारले पनि गरेन,’ एक डेरी संचालक भन्छन्, ‘खुला दूधमा उपभोक्ताको रुचि छ । तर, यसलाई निश्चित मापदण्ड बनाई पसल संचालन गर्ने वातावरण बनेको छैन । अहिले कुनै पनि मापदण्डको पालना भएको छैन । दूधलाई बढी टिकाउन जस्तो सुकै केमिकल प्रयोग गर्दा पनि दूध सेतै हुन्छ । अनुगमन नभएपछि विक्री गर्नेले मनोमानी गरिरहेका छन् । बालबालिका र बुढाबुढीले विषाक्त दूध खाइरहेका छन् ।’

तराइको दूध छुर्पीका लागि इलाम पठाइयो, छुर्पी विदेश

बिक्री हुन छोडेपछि मोरङका केही डेरी उद्योगले इलाममा छुर्पी बनाउन दूध पठाएको बताएका छन् । मोरङ कानेपोखरीको नवदुर्गा डेरी उद्योगका संचालक राजकुमार खनालले केही दिनका लागि छुर्पी बनाउन दूध इलाम पठाएको बताए । यद्यपि त्यहाँका छुर्पी उद्योगले निरन्तर दूध लैजान नसकेको उनको भनाइ छ । नेपालको छुर्पी विदेश निर्यात हुने गरेको छ । छुर्पिको निर्यात भने बढीरहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७९/०८० मा १७ लाख ८६ हजार ११२ किलोग्राम छुर्पी विदेश निर्यात भएको थियो । जसबाट नेपालमा ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ भित्रिएको थियो ।

आर्थिक वर्ष २०७९/८० को असोज महिनासम्ममा छुर्पी ३ लाख १९ हजार ५१२ किलोग्राम निर्यात भएको छ । जसको मूल्य ५५ करोड ६८ लाख ३२ हजार हुन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा छुर्पीको निर्यात बढेको छ । चालू आर्थिक वर्षको असोजसम्ममा छुर्पी ३ लाख ७४ हजार ५५३ किलोग्राम अर्थात् ७६ करोड ११ लाख ६ हजार रुपैयाँको निर्यात भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा पनि २ अर्ब ९१ करोड १९ लाख ३९ हजार बराबर मूल्यको १७ लाख ५५ हजार ४५१ किलोग्राम छुर्पी निर्यात भएको थियो । नेपालबाट क्यानडा, हङकङ, अमेरिका, बेलायत, सिंगापुरलगायतका मुलुकमा कुकुरको खानाको रुपमा छुर्पी निर्यात हुने गरेको छ ।

मूल्य घटाउने निर्णयले खपत बढाउला ?

यसैबीच बजारमा दूध विक्री हुन छाडेपछि कोशी प्रदेश डेरी उद्योग संघले दूधको बिक्री मूल्य प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै दही, पनिर र नौनी घ्यूको बिक्री मूल्य पनि घटाउने संघले निर्णय गरेको हो ।

कोशी प्रदेशका ठूला विभिन्न ८ वटा डेरी उद्योगहरु आबद्ध संघको बैठक कार्तिक २३ गते विराटनगरमा बसेको थियो । उक्त बैठकले किसानको दूधको बजार सुनिश्चितता गर्न तथा हाल दूधको उत्पादन बढी भएको समयमा उपभोक्तालाई समेत राहत प्रदान गर्ने उद्देश्यले कार्तिक २६ गतेदेखि लागू हुने गरी मूल्य घटाएको हो ।

घटाएको मूल्य अनुसार अब उपभोक्ताले स्ट्याण्डर दूध आधा लिटरको मूल्य ४५, लो फ्याट मिल्क आधा लिटरको ३५, दही २ सय मिलिलिटरको ३५, आधा लिटरको दही ८०, एक लिटर दहीको १५०, पनिरको प्रतिकेजी ७८० र नौनी घ्यू प्रतिकेजी ८ सय रुपैयाँमा पाउने भएका छन् ।

उक्त मूल्य अनुसार मंसिर १ गतेदेखि सबै डेरी उद्योगले विक्री वितरण गर्ने जनाइएको छ । केहीले भने गत आइतबारबाटै उक्त मूल्यमा दूध तथा दूधजन्य वस्तुको विक्री वितरण सुरु गरेका छन् । कोशी प्रदेशमा एनएमसी डेरी उद्योग, कामधेनु दुग्ध विकास संहकारी संस्था लि., रितिका डेरी उद्योग, सूर्योदय मिल्क एण्ड वेभरेज इ. प्रा.लि., गोरस डेरि प्रा.लि., जीवन विकास डेरी, मदानी मिल्क हाउस र शिवम डेरी एण्ड फुड इन्डष्ट्रिज प्रा.लि.लगायत ठूला डेरी उद्योग छन् ।

कोशी प्रदेशमा दूध उत्पादन बढेर बजारमा विक्री नहुँदा दूध उत्पादक किसानहरु ‘मिल्क होलिडे’को मारमा छन् । अघिल्लो आर्थिक वर्षको तथ्यांक अनुसार कोशी प्रदेशमा दूध दिने गाईको संख्या ५ लाख १० हजार ३२ रहेको छ भने भैंसीको संख्या २ लाख ८७ हजार ९६८ रहेको छ । उक्त संख्याको गाई र भैंसीबाट प्रदेशमा दैनिक ५ लाख २५ हजार १५५ लिटर दूध उत्पादन हुने तथ्यांकमा उल्लेख छ ।

प्रतिव्यक्ति उपलब्धता वार्षिक ९२ लिटर रहेको छ भने आवश्यकता ७१ लिटर मात्रै हो । उक्त तथ्यांक अनुसार पनि कोशी प्रदेशमा दूध उत्पादन आवश्यकता भन्दा बढी हो । कोशी प्रदेशमा अहिलेको सिजनमा उत्पादन भएको दूध मध्ये १ लाख ५० हजार लिटर दूध औपचारिक क्षेत्रबाट बजारमा आउने गरेको थियो । तर, अहिले औपचारिक क्षेत्रमा झण्डै २ लाख ५० हजार लिटर भन्दा बढी दूध संकलन भइरहेको डेरी उद्योगहरु बताउँछन् । कोशी प्रदेशमा दूध उत्पादन वृद्धि गर्न प्रदेश सरकारले प्रतिलिटर २ रुपैयाँको दरले नगद अनुदान दिने नीति लिएका कारण पनि उत्पादन बढेको व्यवसायीहरुले बताएका छन् । यद्यपि मूल्य घटाएर दूध विक्री गर्न थालेका कारण केही खपत बढ्ने उनीहरुको अपेक्षा छ ।

शनिबार, ०२ मंसिर, २०८०, दिउँसोको ०१:३५ बजे

प्रतिक्रिया

  1. हो मैले नि दुध नपाएर बिराटनगर को एउटा किराना पसलमा ईन्डियाको अमुल दुध MRP भन्दा महगो मा किनेको थिए !!!

प्रतिक्रिया:

सम्बन्धित खवर