बजार अनुगमनलाई नियमित गरौं न !

 गोकुल पराजुली

नेपालीहरुले महत्वका साथ मनाउने पर्व तिहार सुरु भएको छ । दसैँ सकिएको पन्ध्र दिनपछि सुरु भएको तिहारले गाउँघरमा नयाँ उत्साह र उमंग छर्नथालिसकेको छ भने बजारमा रौनक थपेको छ । केही दिनयता विराटनगरलगायत स्थानीय बजारमा उपभोक्ताहरुको घुँइचो बढेको छ । तिहार र छठ पर्वलाई लक्षित गरेर पसलहरु थापिएका छन् । पसलमा पूजाका सामानदेखि भाइमसला र पर्वअनुसार विभिन्न पकवानका लागि आवश्यक सामग्रीहरु बिक्रीका लागि राखिएका छन् । बिहीबारदेखि विराटनगर बजार क्षेत्रमा मनग्य घुँइचो बढेको छ ।

चाडपर्वमा उपभोक्ताहरु सक्रिय हुन्छन् । उनीहरुले किनमेलमा बढी पैसा पनि खर्च गर्ने गर्दछन् । यस्तो समयमा उपभोक्ताहरु ठगीमा पर्ने जोखिम हुन्छ । व्यापारी जिम्मेवार भएन भने उसले कमसल वस्तु बेचेर, बढी दाम लिएर उपभोक्तालाई ठग्ने सम्भावना हुन्छ । व्यवसायिक मर्यादामा रहेर व्यापार गर्नेहरुले मौसमी धन्दा गर्दैनन् तर ठग्ने नियत नै राखेर व्यापार गर्नेहरुको पनि बजारमा कमी छैन । त्यसैले बढी भीडभाड हुने चाडपर्व वा यस्तै सन्दर्भविशेषमा सरकारी निकायबाट बजारमा नियमित निगरानी बढाउन जरुरी हुन्छ । बजार अनुगमन गरेर कानुनले निर्धारण गरेको मापदण्ड अनुसारका खाद्यवस्तुदेखि अन्य सामग्रीहरुको बेचबिखन भए नभएको अनुगमन गर्ने काम गर्नुपर्छ । तर विराटनगरमा दसैँयता प्रभावकारी बजार अनुगमन भएको छैन । दसँैअगाडि पनि बजार अनुगमन केवल झारा टार्ने हिसाबले मात्र गरियो । उपभोक्ताको हितलाई स्थानीय सरकारहरुले कहिल्यै प्राथमिकतामा राखेनन् ।

यो केवल आरोप लगाइएको होइन । तपाइँ हामी सबैले बजारमा अनुभूत गरेको विषय हो । यदि बजार अनुगमन प्रभावकारी हुन्थ्यो भने सरकारले प्रतिबन्ध लगाएको प्लाष्टिकका माला बजारमा यत्रतत्र झुण्डिने थिएनन् । नेपाली किसानको उत्पादनलाई बजार सुनिश्चित गरिदिने उद्देश्यले सरकारले फूल आयातमा रोक लगाएको समयमा भारतबाट निर्वाध फूलका माला आउने थिएनन् । आएको भए पनि अनुगमनकर्ताले बरामद गरेर नेपाली फूलको प्रबद्र्धन गर्न सघाउने थिए । चाडबाडलाई लक्षित गरेर खोलिएका पसलहरुले भाइमसलादेखि विभिन्न वस्तुहरु बिक्री गरिरहेका छन् । जसको उपभोग्य मितिदेखि गुणस्तर आदिका विषय उल्लेख गरिएका छैनन् । निर्वाध उपभोक्तालाई बेचिरहेका छन् र भीडमा चेपिएर पसलमा बल्लतल्ल पुगेका उपभोक्तालाई ती सब कुराहरु हेरेर बुझेर किन्ने फुर्सद पनि छैन । यस्तोमा उपभोक्ता ठगिनु पर्ने र अस्वस्थकर वस्तु किनेर उपभोग पनि गर्नुपर्ने अवस्था विद्यमान हुने जोखिम रहन्छ ।

यसलाई न्यूनीकरण गर्न र व्यवसायीहरुलाई जिम्मेवार बनाउने काम स्थानीय सरकारको हो । तर हाम्रा स्थानीय सरकारका प्रतिनिधिहरु चुनाव जितेपछि शासकको शैलीमा व्यवहार गर्न तल्लिन छन् । जनताप्रति जिम्मेवार र जवाफदेही हुनुभन्दा निर्देशन र फर्मान जारी गरेर काम गरेको देखाउन खोज्दछन् । जसले गर्दा सरकारले गरेको निर्णय र घोषणाहरु व्यवहारमा कमजोर बन्ने, समाज अराजक बन्ने र नागरिकहरुले सधैँ सास्ती भोग्नु पर्ने अवस्था कायम रहिरहेको छ ।
नेपाल राष्ट्र बैंकले भर्खरै जारी गरेको प्रतिवेदनमा उपभोग्य वस्तुहरुको भाउ घटेको विवरण सार्वजनिक गरेको छ । तर बजारमा त्यस अनुसार वस्तुको मूल्य छैन । त्यसको एउटै कारण अनुगमनको अभाव हो । प्रभावकारी अनुगमनको अभावले गर्दा थोक बिक्रेताले वस्तुको मूल्य घटाएर बिक्री गरेको सामान खुद्रा बिक्रेताले मूल्य नघटाई बेच्दा बजारमा उपभोक्ताले मूल्य घटेको अनुभूति गर्न नपाएका हुन् । यो अवस्था आउनुमा स्थानीय सरकारहरु जिम्मेवार छन् ।

राष्ट्र बैंकले स्पष्ट भनेको छ कि थोक बिक्री मूल्य घटेको छ तर बजारमा खुद्रा मूल्य घटेन । यसबाट स्पष्ट हुन्छ कि सरकारको अनुगमन संयन्त्र फितलो भयो, कमजोर भयो । यसतर्फ विराटनगर महानगरपालिका लगायत सबै स्थानीय तहहरु जिम्मेवार बन्नुपर्छ । बजार अनुगमन गर्ने र बजारमा उपभोक्तामाथि हुने ठगी नियन्त्रण गर्ने जिम्मेवारी लिइसकेपछि दसैँ र तिहारको अगाडि पछाडि मात्र बजार अनुगमन गर्ने होइन यसलाई बाह्रै महिना नियमित गर्नुपर्छ । त्यसको अर्थ बजारमा आतंक सिर्जना गर्ने भन्ने होइन ।

खरिद र बिक्री मूल्यको तुलना गर्ने, समय समयमा छड्के गरेर गुणस्तर परीक्षण गर्ने कार्यले बजार आतंकत बन्न जरुरी छैन । त्यसैले स्थानीय तहका उपप्रमुखहरुले पाएको विशेष जिम्मेवारी अनुगमन र निरीक्षण पनि हो । यसलाई बोझिलो वा झन्झटिलो कामको रुपमा लिने नभएर जुन जनताको मत लिएर निर्वाचित भएको हो उनीहरुप्रतिको जिम्मेवारीको रुपमा ग्रहण गर्नुपर्छ र नियमित बनाउनु पर्छ । यो तिहार र छठमा त तपाइँहरुले त्यो जिम्मेवारी पूरा गर्न सक्नुभएन अबदेखि निरन्तर बजार अनुगमन गरेर जिम्मेवार जनप्रतिनिधि बन्नुहोस् तपाईँहरु सबैलाई दीपावली, नेपाल सम्बत र छठ पर्वको शुभकामना ।

शनिबार, २५ कार्तिक, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर