लोड हुँदैछ...

मेनु

बधाई नेपाली क्रिकेट टिमलाई

बधाई नेपाली क्रिकेट टिमलाई

आईसीसी टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको उपाधि ओमानले जितेपनि नेपाल विश्वकपमा नेपालले एक दशकपछि आफ्नो सहभागिता यसअघि नै सुनिश्चित गरिसकेको छ । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनल खेल सुपरओभरमा धकेलिँदा नेपाल उपविजेता बन्यो । यद्यपी सेमिफाइनलमा सफलता प्राप्त गरेर नेपाली खेलाडी सिंगो नेपाललाई खुसी बनाइसकेका थिए । किनकि सेमिफाइनलमा विजेता टोली स्वतः आगामी वर्ष हुने विश्वकपको लागि छनौट भएको थियो । छनौट चरणको फाइनलमा टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको ओमानले पनि निर्धारित ओभरमा ९ विकेट गुमाएर १८४ रनमात्र बनाएपछि खेल ‘सुपर ओभर’ मा गएको थियो । त्यसपछि ‘सुपर ओभर’ मा पहिले ब्याटिङ गरेको ओमानले कुनै पनि विकेट नगमाई २१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ‘सुपर ओभर’ मा एक विकेट गुमाएर १० रनमात्र बनाउन सक्यो ।

फाइनल खेलमा पराजित भएपनि आइसिसी टी–२० विश्वकपमा छनोट हुनु नेपालको ठूलो सफलता हो । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले भनेजस्तै सन् २०२३ नेपाली क्रिकेटको लागि राम्रो वर्ष भएको छ । गत माघमा देसाई नेपाली राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त भएपछि नेपाली क्रिकेटले एकपछि अर्को सफलता पाएको छ । एकदिवसीय मान्यता धरापमा परेको बेला मोन्टी आएपछि नेपालले लिग–२ को १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता मात्र जोगाएन आइसिसी एकदिवसीय विश्वकप छनोटमा पनि स्थान पक्का गरेको थियो । नेपालले त्यसपछि घरेलु मैदानमा एसिसी प्रिमियर कप जितेर एसिया कपका लागि स्थान पक्का गरेको थियो । नेपालले भारत र पाकिस्तानसँग एसिया कप खेल्ने मौका पायो । विश्वकप छनोटमा जिम्बावेमा प्रतिस्पर्धा गरेको नेपालले पाकिस्तान र श्रीलंकामा भएको एसिया कप र चीनमा भएको एसियन गेम्समा पनि भारतविरुद्ध राम्रो ब्याटिङ गरेको थियो ।

टि–२० छनौटमा नेपाली खेलाडीको प्रदर्शन कमजोर थिएन । कुशल भुर्तेलले प्रतियोगिताभरी कुल १८५ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा रहे । सर्वाधिक विकेट लिने बलरहरुको सूचिमा नेपालका स्पिनर सन्दीप लामिछाने तेस्रो स्थानमा रहे । उनले सन्दीपले प्रतियोगिताको पाँच पालीमा कुल ९ वटा विकेट लिए । फाइनलमा पनि उनले दुई विकेट लिएका थिए । ब्याटिङतर्फ सबैभन्दा उत्कृष्ट ‘स्ट्राइकर रेट’ नेपाली ब्याट्सम्यान करण केसीको रह्यो । उनले उनको ‘स्ट्राइक रेट’ २०५.८८ रहेको थियो । एउटै खेलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान नेपालका कुशल भुर्तेल दोस्रो स्थानमा रहे । उनले सिंगापुरविरुद्धको खेलमा ४८ बलमा ७४ रन बनाएका थिए । भुर्तेलसहित कुशल मल्ल, आसिफ शेख, गुल्सन झा र कप्तान रोहित पौडेलले अर्धसतक बनाएका थिए । सर्वाधिक क्याच लिने खेलाडीको सूचिमा नेपालका कप्तान रोहित पौडेल ७ क्याचसहित अग्रस्थानमा रहे । नेपालका ब्याट्सम्यान कुशल भुर्तेल सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बने । उनले प्रतियोगितामा कुल ११ वटा छक्का र १८ वटा चौका पनि प्रहार गरेका थिए ।

पछिल्लो सफलताले नेपाली क्रिकेटमा नेपालको उत्साहजनक उपस्थिति बढाउँदै लगेको छ । पछिल्लो समयमा नेपाली खेलाडीले जुन ‘स्पिरिट’ देखाए, त्यो प्रसंशनीय छ । पछिल्ला सफलताले नेपाली क्रिकेटको उपलब्धि मात्रै नभएर खेलाडीमा आत्मविश्वास जगाउने काम पनि भएको छ । अब राज्यले क्रिकेटमा गुणात्मक लगानी बढाउन आवश्यक छ । खेलाडीको आत्मविश्वास बढाउन उनीहरुलाई सुविधायुक्त प्रोत्साहन, सुविधासम्पन्न खेलमैदानको निर्माण र खेल प्रशिक्षणमा सरकार लगानी बढाउन आवश्यक छ । नेपाललाई विश्वभर चिनाउन र नेपालको पहिचान कायम राख्ने माध्यम बन्दै गएको आशा जगाउने क्रिकेटमा ध्यान केन्द्रित गर्न आवश्यक छ । बधाई नेपाली क्रिकेट खेलाडीहरुलाई !

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।