टी–२० विश्वकप छनौटको खेलमा ऐरीको पुनरागमन

काठमाडौं । आईसीसी टी–२० एसिया छनोट अन्तर्गत युएई विरुद्धको सेमिफाइनलमा दिपेन्द्रसिंह ऐरीको पुनारगमन भएको छ ।

चोटका कारण समूह चरणको तीन खेल गुमाएका ऐरीले सेमिफाइनलमा पुनरागमन गरेका हुन् । उनी सन्दिप जोराको स्थानमा प्लेइङ ११ मा परेका हुन् ।

पहिलो खेलमा सिंगापुर विरुद्ध प्लेइङ ११ मा रहेका दीपेन्द्र खेलअघि वार्मअपका क्रममा घाइते भएपछि तीनवटै खेल गुमाएका थिए । दीपेन्द्रको एंकलमा चोट लागेको थियो । बिहीबार ओमान विरुद्धको खेलअघि उनी मैदानमा आएका थिए र नेटमा प्राक्टिस पनि गरेका थिए ।

उनको अनुपस्थितिमा अलराउण्डर विवेक यादवले समूह चरणमा तीनवटै खेल खेलेका थिए । विवेकले ओमान विरुद्ध समूहको अन्तिम खेलमा उत्कृष्ट ब्याटिङ गर्दै ३९ रन बनाएका थिए । १४६ रनको लक्ष्य पछ्याउँदा अन्तिम ओभरमा जितका लागि नेपाललाई २६ रन चाहिएको बेला विवेकले बिलाल खानलाई सुरुको तीन बलमा लगातार छक्का हानेर नेपाललाई जित नजिक पुर्याएका थिए । तर, उनले खेल फिनिस भने गर्न सकेनन् ।

आजको खेलमा युएईले टस जितेर पहिले पहिले ब्याटिङ रोजेको छ । यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ ।

यो खेल नेपालका लागि महत्त्वपूर्ण छ । किनकि नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर छ ।

नेपाल र युएईबीच टी–२० मा अहिलेसम्म ८ खेल भएका छन् । आठमध्ये नेपाल र युएईले ४–४ खेलमा जित निकालेका छन् । अघिल्लो साता मात्र नेपालले युएईसँग तीन खेल खेलेको थियो। नेपाल, हङकङ र युएईबीचको टी–२० सिरिजको समूह चरणमा नेपालले युएईविरूद्धका दुवै खेल जितेको थियो । फाइनलमा भने नेपाल पराजित भएको थियो ।

शुक्रबार, १७ कार्तिक, २०८०, बिहानको ११:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर