काठमाडौँ । इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण कात्तिकका दोस्रो साता हुने भएको छ ।
गत कार्तिक २ गते बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले यही कार्तिक १२ गतेदेखि १५ गतेसम्म गर्ने नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत गरेको हो ।
नेपाल बसाईको क्रममा उनले नेपालको संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले कार्तिक २ गते संघीय संसद सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसको कार्तिक १४ गते अपरान्ह ४ बजे सम्बोधन गर्ने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ ।
राष्ट्र संघका महासचिव गुटेरेसको सम्बोधनको व्यवस्था मिलाउन अनुरोध गरिएको पत्र प्राप्त भएको संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीेले जानकारी दिए । महासचिव गुटेरेसको सम्बोधनका लागि सचिवालयले आन्तरिक तयारीको कामलाई शुरु गरिसकेको जनाएको छ ।
महासचिव गुटेरेसले सम्बोधन गर्ने सो बैठकमा संवैधानिक निकायका प्रमुखहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरुलगायतका विशिष्ट सरकारी अधिकारीहरुलाई आमन्त्रण गरिनेछ । प्रतिनिधिसभा बैठक कार्तिक १२ गते बोलाइएको सो सम्बोधनबारे सोही बैठकमा प्रतिनिधि सभाका सांसदहरुलाई जानकारी गराइने र राष्ट्रियसभाका सदस्यको लागि सूचना जारी गर्ने तयारी छ ।
महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघको ७८ औं महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए । मोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेसको संयुक्त राष्ट्र संघको महासचिवको रुपमा यो दोस्रो कार्यकाल हो ।