लोड हुँदैछ...

मेनु

चुनौतीको चाङमाथि नयाँ मुख्यमन्त्री

चुनौतीको चाङमाथि नयाँ मुख्यमन्त्री

आफ्नै दल मात्रै होइन, आफैलाई चुनाव जिताउने गठबन्धनको संस्थागत निर्णयलाई चुनौती दिएर प्रदेशको मुख्यमन्त्री बन्न पुगेका केदार कार्की चुनौतीको चाङ चुलिएका बेला सत्तासीन बनेका छन् । उनी मुख्यमन्त्री बनेसँगै कोशी प्रदेशमा सरकार बनाउने अन्तिम विकल्प प्रयोगमा आएको छ । यसको अर्थ सानोतिनो असहमतिमै गम्भीर दुर्घटनामा परिहाल्ने बानी परेको राजनीति कतिबेला दुर्घटित हुन्छ कुनै टुंगो हुन्न । यदि त्यस्तो अवस्था आए कोशी सिधै मध्यावधि निर्वाचनतिर लम्किने छ । यस्तो अवस्थामा पार्टीभित्र मात्रै होइन, गठबन्धनलाई समेत चुनौती दिएका कार्कीले त्यो दुर्घटना टार्ने क्षमता प्रदर्शन गर्नुपर्नेछ । आफू मुख्यमन्त्री बनेको औचित्य प्रमाणित गर्ने चुनौती उनका लागि सबैभन्दा प्राथमिक दायित्व हुनेछ ।

प्रदेशसभालाई त्यो दुर्घटनासम्म पुग्न नदिन मुख्यमन्त्री कार्कीले सबैभन्दा पहिले आफ्नै दल काँग्रेसलाई विश्वासमा लिनुपर्ने हुन्छ । भलै उनी एमाले समर्थनमा मुख्यमन्त्री बनेका हुन्, राजनीतिको लामो यात्रा तय गर्न उनलाई आफ्नै दल निर्विकल्प हुनेछ । तर, पार्टी निर्णयलाई चुनौती दिएका उनले दललाई कसरी विश्वासमा लिनेछन् त्यसले उनको खास क्षमता मापन हुनेछ । अझ प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र कार्कीलाई मुख्यमन्त्री बनाउन मुख्य भूमिका निर्वाह गरेका डा. शेखर कोइरालाबीच शनिबार भएको सहमतिले पनि नयाँ संकेत गरेको छ । यी सबै अवस्थालाई मध्यनजर गरेर कार्कीले आगामी दिनमा कदम चाल्नुपर्नेछ ।

तीन जना शीर्ष नेताहरुबीचको काठमाडौंमा सम्पन्न सहमतिले ‘गठबन्धनलाई अझै बलियो बनाउने’ निर्णय गर्नुको अर्थबारे अनेकौं अड्कलबाजी भइरहेका छन् । यदि अहिले अनुमान गरिए जसरी नै गठबन्धनको मात्रै सरकार बन्ने र कार्कीलाई समर्थन गर्ने एमाले चाहिँ सरकार बाहिर हुने अवस्था आउने हो भने पनि त्यो अर्को चुनौती हुनेछ । र, त्यो सम्भावना नहोला भन्ने आधार छैन । राजनीति अनन्त सम्भावनाहरुको खेल हो भनिन्छ । त्यस्तो अवस्था नआउने हो भने कार्की सत्तामा र उनको दल भने विपक्षमा हुनेछ । त्यो अवस्था आउन नदिन मुख्यतयाः शेखर कोइरालाको भूमिका कस्तो हुन्छ भन्नेमा स्थिति निर्भर हुनेछ ।

यदि त्यस्तो अवस्था आए एमालेको समर्थनमा विश्वासको मत पाउने कार्कीले बजेट, विधेयकहरु पारित गर्न कुन विधि अपनाउलान् भन्ने चुनौती हुनेछ । विश्वासको मत दिने बेलामा पार्टीको ह्वीप आकर्षित नभए पनि अन्य निर्णयहरुमा हुनसक्छ । त्यस्तो बेलामा मुख्यमन्त्री कार्की र काँग्रेसका अन्य सांसद असहजता भोग्न बाध्य हुनसक्छन् । यस्तो अवस्था आउन नदिन मुख्यमन्त्रीले कस्तो कदम चाल्छन्, उनले दलहरुसँग कसरी सहकार्य गर्छन् भन्ने विषयले अर्थ राख्नेछ ।

यसबाहेक मुख्यमन्त्री कार्कीका लागि सबैभन्दा ठूलो चुनौती उनको आफ्नै स्वभाव हो । यतिन्जेल प्रश्न मात्रै गरिरहेका उनी अब उत्तर दिने मात्रै होइन, सबैलाई समेटेर अघि बढ्नु पर्ने ठाउँमा आसिन हुन पुगेका छन् । उनले आफ्नो विद्रोही छविलाई अब नेतृत्वकर्ताको रुपमा विकसित गर्ने सामथ्र्य देखाउनुपर्ने छ । विद्रोह गर्नु, प्रश्न गर्नुभन्दा जिम्मेवारी बहन गर्नु ज्यादै कठिन काम हो भन्ने तथ्यसँग राम्ररी जानकार मुख्यमन्त्री कार्कीले अब काम र कार्यशैलीबाटै त्यसलाई आत्मसात गर्नुपर्नेछ । यी चुनौतीहरु झेल्न उनी कति सफल होलान् भन्ने विषयले उनको सफलता–असफलता निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।