लोड हुँदैछ...

मेनु

राष्ट्रिय गानप्रति ओलीलाई वितृष्णा !

राष्ट्रिय गानप्रति ओलीलाई वितृष्णा !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभित्र आफू र आफ्नो पार्टीमात्रै ठूलो राष्ट्रवादी भएको हठ छ । भारतीय नाकाबन्दीको डटेर सामना गरेको दाबीसहित ओलीले त्यसपछि आफूमात्र एक नम्बरी राष्ट्रवादी भएको दाबी भाषण गर्दै आएका छन् । आफूबाहेक अरुलाई कसैले राष्ट्रवादी भनेको सुने भने मात्र उनी उखान टुक्का हालेर उडाउन थालिहाल्छन् । यत्तिका राष्ट्रवादी कहलिन खोज्ने उनै नेता पुग्ने कार्यक्रममा अचेल नेपाली राष्ट्रिय गान बज्न छोडेको छ ।

कुरा केही दिन अगाडिको हो । एक हप्ताभित्र एमाले अध्यक्ष ओली दुई पटक विराटनगर आएका थिए । नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गरेर फर्केको केही दिनमै फेरि उनी नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ गराउन विराटनगर आए । तर ओली सहभागी भएको यी दुवै कार्यक्रममा राष्ट्रिय गान बजेनन् । पूर्वप्रधानमन्त्री सहभागी भएको कार्यक्रममा नै राष्ट्रगान नबज्नुलाई सामान्य अर्थमा बुझ्न सकिएन । कतै उनले राष्ट्रिय गान बिर्सेका त हैनन् वा त्यसप्रति उनको विकर्षण हो भन्ने प्रश्न उब्जिएको छ ।
त्यसोत हाम्रो राष्ट्रिय गानप्रति उनको पहिलेदेखि नै विरोध छ ।

गएको चैत्र महिनामा बीरगंजमा आयोजित एक कार्यक्रममा ओलीले राष्ट्रिय गानका विषयमा अमर्यादित अभिव्यक्ति दिएका थिए । उनको त्यो अभिव्यक्तिप्रति नागरिकहरुले आपत्ति जनाएका थिए भने विरोध पनि भएको थियो । त्यसप्रति धेरैले प्रश्न पनि उठाएका थिए । तर, अरुले उठाएको प्रश्नले ओलीलाई कहिल्यै छुने भएपो । विरोध र टिप्पणीले उनलाई छोएन । उल्टै उनले बुद्धिजिविहरुको उछितो काड्न थाले । ‘राष्ट्रिय गान अगाडि ‘प्याँ प्याँ प्याँ प्याँ धून बजाउँछ । सयौं थुंगा फूलका हामी भन्नुभन्दा अगाडि बज्ने धून राष्ट्रिय गानबाट हटाइनुपर्दछ’ उनले त्यहाँ भनेका थिए । त्यो धून राष्ट्रिय गानभित्र नपर्ने भन्दै उनले विरोध जनाएका थिए । जसलाई आम साधारणले मनपराएनन् ।

सपथ ग्रहण कार्यक्रममा १ घण्टा २१ मिनेट भाषण गरेका ओलीले धेरै पटक एमाले मात्रै राष्ट्रवादी भएको भन्न भ्याएका थिए । सहिदहरूलाई सम्झेको एमालेले राष्ट्रिय गानलाई भने भूलेको थियो । एमाले राष्ट्रवादी र आफू सरकारमा हुँदा गरेका कामको प्रशंसा गरेर नथाक्ने ओली नै सहभागी हुने कार्यक्रममा राष्ट्रगान नबज्नुले पनि उनको राष्ट्रवादको नारा केबल जनतालाई भ्रममा पारेर लाभ लिने हतियार त बनिरहेको छैन भन्ने महशुस हुन्छ ।

ओलीले यस्ता सार्वजनिक कार्यक्रमहरुमा अरू पार्टीका नेताहरूको खिल्ली उडाउन लामै समय खर्चिने गरेका छन् । उनको भाषण सुन्दा निन्द्रा लाग्दैन । उखान टुक्का तथा हाउभाउ सहित गरेको भाषणले सबैलाई रोमाञ्चक बनाउँछ । तर छुद्र बोली धरैले पचाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।