अतिवादले अन्ततः आतंक निम्त्याउँछ । आतंकले अनाहकको युद्ध अनि त्यसले विनाशलाई बोलाउँछ । यस्ता घटना संसारका जुनसुकै कुनामा भए पनि त्यसको असरले विश्वव्यापी असर पार्छ । जस्तो कि मध्यपूर्वी मुलुक इजरायलमा हमास समूहले अन्धाधुन्ध आक्रमण गर्यो । यी पंक्तिहरु लेखिँदासम्म एक हजार भन्दा बढीको मृत्यु भइसकेको छ । सबैभन्दा दुर्भाग्यको विषय हो, मृतकहरुको त्यो सूचीमा नेपालबाट कृषि अध्ययन गर्न गएका विद्यार्थीहरुको पनि नाम छ ।
गाजानजिकै किब्बुज भन्ने ठाउँको आलुमिम फार्ममा प्रशिक्षणका लागि १७ जना विद्यार्थी सँगै थिए । प्रशिक्षण भइरहेका बेला प्यालेस्टिनी हमास समूहको आक्रमणमा परेर एक जना बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । चार जना घाइते छन् । यी विद्यार्थीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका थिए । पढ्दै–कमाउँदै कार्यक्रम अन्तर्गत त्यहाँ पुगेकामध्ये कोशी प्रदेश सुनसरीका एक जना विद्यार्थी पनि परेका छन् ।
बराहक्षेत्र ११ का राजेश स्वर्णकार हमास आक्रमणमा मारिएका छन् । इजरायलमा पढ्न गएका नेपाली विद्यार्थी अनाहकमा मारिने अवस्था अतिवादले निम्त्याएको क्षति हो ।आतंक, अतिवाद र युद्धको विभिषिका सबैका निम्ति घातक हुन्छ भन्ने प्रमाण यो घटना हो । जसबाट नेपालले पाठ सिक्न जरुरी छ । किनभने पछिल्लो समय नेपालमा धार्मिक अतिवादीहरुले टाउको उठाउन खोजिरहेका छन् । जुनसुकै अतिवादले पनि निम्त्याउने भनेको यस्तै दुर्दान्त क्षति हो ।
नेपालीहरु रोजगारीका लागि होस् अथवा अध्ययनका लागि नै किन नहोस्, विश्वका धेरै मुलुक पुगेका छन् । पछिल्लो समय इजरायल धेरै नेपालीका लागि रोजगारीको गन्तव्य बनेको छ । खासगरी केयर गिभरका लागि धेरै नेपाली त्यहाँ पुगेका छन् । पछिल्लो समय अध्ययनका लागि पनि विद्यार्थी गएका छन् । तर, तिनै विद्यार्थी आतंकको नमिठो घानमा परे, जसले मुलुकका नवयुवाहरुको ज्यान लियो । सरकारले थप मानवीय क्षति हुन नदिन इजरायलको जोखिम क्षेत्रमा रहेका नेपालीको सुरक्षामा तत्काल ध्यान दिनुपर्छ । काठमाडौंमा धेरै अलमलमा रहेर सरकारले बेर लगाउन हुँदैन ।
स्वदेशमा राम्रो अवसर उपलब्ध नहुँदा धेरै नेपाली विदेशिन बाध्य छन् । विदेशिने नेपालीहरु जोखिमयुक्त क्षेत्रमा पनि गइरहेका छन् । सदैव हिंसाको दुष्चक्रमा परिरहने मध्यपूर्व होस् अथवा अफ्रिकी मुलुकहरु नै किन नहुन्, नेपाली पुगेकै छन् । जोखिमपूर्ण बाटो प्रयोग गरेर अमेरिका हिँडेकाहरु बाटैमा मृत्युको मुखमा पुगेका खबर पनि अब नौलो रहेनन् । इजरायल प्रकरणमा मारिने नेपाली विद्यार्थी पूरापूर निर्दोष थिए । तर, ती सबै आतंकको घानमा परे । यस्तो अवस्थामा सरकारले नेपालीको वैदेशिक यात्रालाई सुरक्षित तुल्याउने उपायको खोजी गर्नुपर्छ । जोखिम क्षेत्रमा नजान नागरिकलाई सचेत गराउनु पर्छ । सबैभन्दा महत्वको कुरा त सरकारले स्वदेशमै अवसरहरुको सिर्जना गर्न सक्नुपर्छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।