हत्या काण्डका अभियुक्त सांसद यादव पक्राउ

विराटनगर । मधेश प्रदेशका सांसद अनिरुद्धसिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद यादवलाई प्रहरीले राजविराजबाट सोमबार पक्राउ गरेको जनाएको छ ।

जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले दोषी ठहर गरिसकेका सांसद यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्र कार्कीले जानकारी दिएका छन् । माओवादी नेता गोबिन्द चौधरीको हत्या गरेको मुद्दामा सांसद यादवलाई पक्राउ गरिएको हो ।

सांसद यादवलाई पक्राउ गरी अदालतमा बुझाएको सप्तरीका प्रहरीले जनाएको छ । उनलाई प्रहरीले अहिले राजविराजस्थित जिल्ला अदालतमा हाजिर गराएको हो ।

प्रहरीका अनुसार सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले २०७१ चैत ११ गते यादवसमेतलाई चार वर्ष कैदको फैसला गरेको थियो । यस्तै उच्च अदालत जनकपुरधाम, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालको संयुक्त इजलासले २०७५ भदौ ९ गते जिल्ला अदालतको फैसलालाई नै सदर गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठको संयुक्त इजलासले २०७८ पुस १३ गते जिल्ला तथा उच्च अदालतको फैसलालाई नै सदर गरेको भएपनि यादव पक्राउ परेका थिएनन् । हत्या अभियोग प्रमाणित भइसक्दा पनि उनी प्रदेशसभा सदस्यको उम्मेदवार भएरु निर्वाचित भएका थिए ।

सोमबार, १८ भदौ, २०८०, साँझको ०५:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर