विराटनगर । वरिष्ठ साहित्यकार तथा कथाकार सनत रेग्मी र पत्रकार अनन्तराज न्यौपाने दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानबाट पुरस्कृत भएका छन् ।
रेग्मीलाइ साहित्य र न्यौपानेलाई पत्रकारिता क्षेत्रमा योगदान पुर्याएबापत दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले शुक्रबार विराटनगरमा पुरस्कृत गरेको हो । दुवैजनालाई संघीय सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले पुरस्कृत गरेका हुन् ।
रेग्मीलाई ५१ हजार रुपैयाँ राशिको साहित्य पुरस्कार र न्यौपानेलाई २५ हजार रुपैयाँ राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
नेपालगञ्जमा २००४ सालमा जन्मिएका साहित्यकार रेग्मीले विशेष गरी कथा विधामा कलम चलाउने गरेका छन् । उनका आठ कथा सङ्ग्रह प्रकाशित छन् । यसैगरी २०४९ सालदेखि निरन्तर पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार न्यौपाने बिजमाण्डु डट कममा कार्यरत छन् । पुरस्कृत न्यौपाने हाम्रोमत दैनिकका नियमित स्तम्भकारसमेत हुन् ।
साहित्यकार सुवेदीका दुई भाइ छोराहरु शरदराज सुवेदी र रुपकराज सुवेदीले १५ लाख रुपियाँको अक्षयकोषसहित बाबुको जीवनकालमै स्थापना गरेको प्रतिष्ठानले सातौं संस्करणको रुपमा यो पुरस्कार अर्पण गरेको हो ।
कार्यक्रममा मन्त्री लिम्बू, प्रदेश सरकारका पूर्वमन्त्री तथा सांसद केदार कार्की, नेकपा एकीकृत समाजवादीका केन्द्रीय नेता महेश रेग्मी, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत लगायतले पुरस्कृत व्यक्तित्वहरुलाई बधाई दिँदै शुभकामना व्यक्त गरेका थिए ।