स्नेहा खरेल
अहिले प्रचण्ड गर्मीको समय छ । शरीरले सितल कुराको चाह राख्छ । गर्मी मौसम सुरु भएपछि बजारमा बेच्न राखिएका खर्बुजा देख्ना साथ खाउँ खाउँ लाग्न थाल्छ । सामान्यतया तिर्खा मेटाउन र पानीको मात्रा शरीरमा सन्तुलित गर्न खर्बुजा लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन सी, ए, खनिज, पोटासियम, फाइबर, लाइकोपिन र एन्टिअक्सिडेन्ट पाइन्छ । खर्बुजा खान जति स्वादिलो हुन्छ यसका फाइदा पनि उत्तिनै धेरै हुन्छन् ।
खर्बुजाका फाइदा
खाँदा गुलियो र मीठो स्वादको खर्बुजामा ९० प्रतिशत पानी हुन्छ । यदि तपार्इँ दिनमा कम्तीमा ८ गिलास पानी खान सक्नुहुन्न भने तपार्इँको शरीरमा आवश्यक पानीको मात्रा मात्रा पुर्याउन खर्बुजा उपयुक्त माध्यम हुन सक्दछ । विशेषगरी गर्मीको समयमा हाम्रो शरीरलाई हाईड्रेटेड राख्न एकदम जरुरी हुन्छ । त्यसैले खर्बुजा खाउँ र शरीरलाई हाईड्रेटेड राखौँ साथै यसमा पाइँने फाइबरले पाचन प्रणालीलाई सन्तुलित राख्न मद्दत गर्छ ।
खर्बुजामा प्रसस्त मात्रामा पाइने कोलिन सुत्दा, मांसपेसी चलाउने कामका लागि चाहिन्छ । त्यस्तै सिकाइ तथा यादगर्ने प्रक्रियामा पनि चाहिन्छ । यसको अलवा शरीर गलेको, दुखाइ कम गर्न तथा चिल्लो पदार्थलाई सोस्न पनि कोलिन चहिन्छ । जुन खर्बुजाको सेवनबाट पाइन्छ ।
खर्बुजामा भिटामिन ए भरपुर मात्रामा पाइन्छ । जुन हाम्रो आँखा स्वस्थ राख्नका लागि महत्वपूर्ण छ । त्यसैले दिनको एक कप खर्बुजा खाएमा वास्तवमा नै यसले आँखा स्वस्थ बनाउँछ । यो विशेषगरी दिनभर कम्प्युटर तथा ल्यापटप स्क्रिनमा हेरेर काम गर्नेहरुका लागि फलदायी छ ।
खर्बुजामा लाइकोपीन नामक एक बलियो एन्टिअक्सिडेन्ट पाइन्छ, जसले फलफूल तथा तरकारीलाई रातो बनाउने काम गर्छ । यस लाइकोपीन पदार्थले हाम्रो मुटुलाई स्वस्थ बनाउनुका साथै घामले डढेका छालाका लागि पनि राम्रो गर्छ । यस पदार्थले क्यान्सरबाट बच्न पनि मदत पु¥याउँछ । गोलभेडामा पनि भरपुर मात्रामा लाइकोपीन पदार्थ पाइन्छ तर खर्बुजामा गोलभेडामा भन्दा पनि धेरै पाइन्छ ।
खर्बुजामा निकै कम मात्र क्यालोरी हुने गर्दछ । जति नै गुलियो भएपनि प्रतिकप खर्बुजामा जम्मा ४६ क्यालोरिज मात्र हुने गर्दछ । हामीले अरु गुलियो खाँदा जस्तो खर्बुजा खाँदा धेरै क्यालोरिज पाइरहेका हुँदैनौँ । खर्बुजालाई हामी सलादको रुपमा पनि प्रयोग गर्न सक्छौँ । भने खाजाका रुपमा पनि खान सक्दछौँ जसले वजन घटाउने प्रक्रियामा रहेकाहरुलाई मदत गर्दछ ।
रोचक जानकारीः
संसारमा भएका विभिन्न ठूल्ठूला संग्रहालयमध्ये एउटा संग्रहालय खर्बुजाको नाममा समर्पित छ । यो संसारकै पहिलो र एक मात्र खर्बुजा संग्रहालय हो । यो संग्रहालय चीनको राजधानी बेइजिङको दक्षिणतिर देसिङ जिले भन्ने ठाउँमा रहेको छ । संग्रहालय पनि खर्बुजा आकारको बनाइएको छ ।
खर्बुजा संग्रहालय यो फल मन पराउनेहरूका लागि विशेष कोसेली मान्न सकिन्छ । यसमा धेरै प्रकारका खर्बुजा प्रदर्शन गरिएको छ । साथै यस संग्रहालयमा खर्बुजाबाट तयार गरिएका विभिन्न खालका कलाकृति पनि सजाइएका छन् । मानिसले खर्बुजासँगै खिचाएका धेरै तस्बिरहरूका साथै खर्बुजासँग जोडिएका विभिन्न परम्परा र संस्कृतिबारे ज्ञान प्राप्त गर्न सकिन्छ । यस संग्रहालयमा प्रदर्शन गर्नका लागि राखिएका सबै खर्बुजाहरू मोमबाट बनाइएको छ किनभने वास्तविक खर्बुजा चाँडै नै कुहिने हुनाले यसलाई लामो समयसम्म राख्न सम्भव पनि हुँदैन । मोमबाट बनेका ती खर्बुजा वास्तविक खर्बुजाजस्तै देखिन्छन् । यहाँ आउने हरेक अवलोकनकर्तालाई खर्बुजाबारे जानकारी दिने पुस्तक पनि दिइने गरिन्छ ।