अनन्तराज न्यौपाने
राजनीतिक व्यक्तिले आफूले बोलेपछि सञ्चारमाध्यममा समाचारको विषय हुन्छ भन्दैमा जे पनि भन्नु हुँदैन । भनिन्छ, एक शब्द बोल्नुपूर्व १० पटक सोच्नुपर्छ । बोल्नेले म कुन हैसियत र अवस्थामा छु, यस्तो बोलेपछि कस्तो परिणाम आउला अनि यो कुरा बोल्नु हुन्छ कि हुँदैन भन्ने विषयमा सधैँ सचेत रहनुपर्छ भनेर बुढापाकाहरू अर्तीउपदेश दिने गर्छन् ।
मंगलबार विराटनगरमा एक नेताले यसैगरी नसोची बोलेका छन् । उनी हुन् नेपाली कांग्रेसका महामन्त्री गगन थापा । उनी मोरङको एक कार्यक्रममा सहभागी हुन विराटनगर विमानस्थल उत्रिएका थिए । सधैँको कर्मकाण्डलाई निर्वाह गर्दै महामन्त्री थापालाई विमानस्थलको भिआइपी कक्षमा पत्रकारले घेरा हाले । महामन्त्री थापाले पनि आफ्नै ननस्टप शैली समाउँदै सञ्चारकर्मीलाई उत्तर फर्काउन थाले ।
भन्दै जाँदा थापाले केसम्म भन्न भ्याए भने कांग्रेस सभापति शेरबहादुर देउवाले अब फेरि पार्टी सभापति र प्रधानमन्त्री दुबै बन्नु हुँदैन । थापाका भनाइमा देउवा ५ पटक प्रधानमन्त्री भइसकेका छन् । अब छैठौँ पटक बन्नु हुँदैन । थापाले यसरी एउटा बेतुकको, अलोकतान्त्रिक अनि संसदीय मूल्य, मान्यता, मर्म र मर्यादा विपरीत गएर आफ्नै सभापतिविरूद्ध विषवमन गरेका छन् ।
यो लेखक कांग्रेस सभापति देउवाको कार्यशैलीको समर्थक किमार्थ र कदापि होइन । तत्कालीन राजा ज्ञानेन्द्र र दरबारियाका उक्साहटमा लागेर देउवाले त्यस बेलाको प्रतिनिधि सभा मध्यरातमा भङ्ग गरेको घटना नेपालका लोकतन्त्रप्रेमी कसैले पनि बिर्सनु हुँदैन । आफू पहिलो पटक प्रधानमन्त्री हुँदा यिनै देउवाले संसद अपहरण, सांसदलाई पजेरोमा सुविधा, सुरासुन्दरी लगायतका काण्ड गरेर संसदीय प्रजातन्त्रको मानमर्दन गरेका थिए । उनले नै दरबारियाका स्वार्थमा नेपाली कांग्रेस फुटाएर अर्को पार्टी गठन गरेका थिए । पछि गिरिजाप्रसाद कोइरालाको अभयदान र क्षमादानपछि पुनः मातृपार्टीमै जोडिएका थिए । यसरी नेपालको समग्र राजनीति, लोकतान्त्रिक आचरण, संसदीय परम्परा र मर्म अनि सुशासन र सदाचारलाई विकृतिको खाडलमा जाक्न सबैभन्दा ठुलो योगदान नै देउवाको छ । होला, यसमा उनकी पत्नी आरजू देउवाको जोडबल पनि होला । तर देउवा नेपालको राजनीतिमा एक अत्यधिक कलंकित पात्र भने अवश्य हुन् ।
माथिका पंक्तिहरू पढेर त्यसो भए गगन थापाले देउवा फेरि पनि प्रधानमन्त्री हुनु हुँदैन भनेर ठिकै त भनेका हुन् भन्ने तर्क जो कोहीले पनि राख्नसक्छ । एउटा भुईंमान्छेले यसो भन्नु जायज हुन्छ तर गगनले भन्नु अराजनीतिक र अमर्यादित हुन्छ । किनभने महामन्त्री थापा प्रतिनिधि सभाका जिम्मेवार सांसद हुन् । त्यसकारण उनले संसदीय मर्यादा, आचरण र मूल्यमान्यताको परिपालन गर्नुपर्छ । संसदीय मर्यादाको ख्याल गर्ने हो भने उनले फेरि पनि देउवा प्रधानमन्त्री बन्नु हुँदैन भनेर सर्वथा भन्नु हुँदैन ।
संसदीय परम्पराअनुसार संसदीय दलको नेता नै प्रधानमन्त्री हुन्छ । यसमा अरू कसैले टाउको फुटाए पनि केही हुन सक्तैन । महामन्त्री गगनले विराटनगर विमानस्थलमा यो तथ्य सम्झन सकेनन् कि त्यसको ख्याल गरेनन् त्यो उनै जानून् तर उनले अहिलेको कांग्रेसको संसदीय दलको नेताका हैसियतमा देउवा नै आगामी प्रधानमन्त्री हो भनेर बकाइदा भन्न सक्नुपथ्र्यो । हो, देउवाका गतिविधि, कार्यशैली, कार्यक्षमता, निर्णयक्षमताउपर थापाका मात्र होइन अरूका पनि धेरै प्रश्न होलान् । तर देउवाका जेजस्ता कमजोरी, दुर्गुण वा बाध्यता भए पनि थापाले देउवा प्रधानमन्त्री बन्नुहुँदैन भन्न मिल्दैन । बरु, उनले आगामी सभापति देउवा नै हो तर उहाँ अब सच्चिनुपर्छ अन्यथा पार्टीले छाड्ने छैन, जनताले छाड्ने छैनन् भन्ने चेतावनीसहितको भाषा बोल्नु पथ्र्यो ।
गगन थापा देउवासितै संसदीय दलको नेतामा प्रतिस्पर्धामा थिए । निर्वाचनको मतपरिणाम देउवाका पक्षमा आयो । थापाले सोचेभन्दा थोरै भोट पाए । अब थापाले देउवा प्रधानमन्त्री बन्नुहुँदैन भन्नु भन्दा पनि देउवालाई संसदीय दलमा चुनौती दिनु उचित हुन्छ । देउवालाई चुनौती दिएर अनि संसदीय दलको पुनःनिर्वाचन गरेर गगन नेता चुनिए भने उनले बेतुकका गीत गाउँदै हिँड्नै पर्दैन । यो बाटो उनका लागि सदासर्वदा खुला छ । तर आफू संसदीय दलको निर्वाचन पनि नजित्ने अनि देउवाले प्रधानमन्त्री पनि बन्नु हुँदैन भन्ने गैरसंसदीय कुरा गरेर गगनले थप राजनीतिक उचाइ पाउन सक्तैनन् । बरु यस्तै कुरा गर्दैै रहे भने उनको उचाइ क्रमशः खस्कँदै जान्छ ।
गगनले गत हप्ता पनि विराटनगर विमानस्थलमा यस्तै बेतुकका कुरा गरेका थिए । गत हप्ता उनी आउँदा देशभरि भारतका प्रधानमन्त्री मोदीले त्यहाँको संसदमा कथित अखण्ड भारतको नक्शा राखेको विषय चर्चाको शिखरमा थियो । गगनलाई पत्रकारले यस विषयमा प्रश्न गर्दा उनले नेपालले पनि ग्रेटर नेपालको नक्शा टाँग्नुपर्छ भन्ने अपरिपक्व र बालसुलभ उत्तर दिएका थिए ।