खेलकुद बोर्डका सदस्य सचिव वाग्लेको जोगियो पद

विराटनगर । खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंशराज वाग्लेको पद जोगिएको छ । उच्च अदालत विराटनगरले वाग्लेलाई हटाउने निर्णय कार्यन्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेशलाई पुनः निरन्तरता दिएको छ । उच्च अदालतले अन्तरिम आदेशलाई पुनः निरन्तरता दिएसँगै वाग्लेको पद जोगिएको हो ।

कोशी प्रदेश सरकारको गत जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध भेोलीपल्ट नै वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न जेठ ५ गते अन्तरिम आदेश दिएको थियो ।

सोमबार पुनः उच्च अदालत विराटनगरका न्यायाधीशद्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले जेठ ५ को अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

सदस्य सचिव वाग्लेलाई प्रदेश सरकारले बर्खास्त गर्नुको मुख्य कारण भने सरकारले कार्यक्रमको ब्यानरमा ‘कोशी प्रदेश किन नलेखेको’ लाई देखाएको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा भएको प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा कोशी प्रदेश लेखिएको ब्यानर नराखेको भन्दै मन्त्रालयले सदस्य सचिव वाग्लेलाई दुई पटक स्पष्टीकरण सोधेको थियो ।

वैशाख १७ गते स्पष्टीकरण सोधेको मन्त्रालयले १९ गते बैंक खातासमेत रोक्का गरेको थियो । दुई पटकको स्पष्टीकरण चित्त नबुझेको भन्दै उनलाई सरकारले हटाएको यो । नेकपा एकीकृत समाजवादीका सचिवसमेत रहेका पूर्व मुख्यमन्त्री राजेन्द्र राईको कार्यकालमा वाग्ले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त भएका थिए ।

दुवै स्पष्टीकरणको जवाफसमेत चित्तबुझ्दो नभएको जनाउँदै सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले वाग्लेलाई पदमुक्त गरेको थियो ।

सोमबार, २२ जेठ, २०८०, साँझको ०७:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर