विराटनगर । २५ रुपैयाँ प्रतिकेजी खरिद गरेर विदेशी धानको बिउ भन्दै १ सय २० रुपैयाँ प्रतिकेजी विक्री गर्ने एक जना व्यापारी पक्राउ परेका छन् ।

प्रहरीले कृषकलाई ठगी गरेको आरोपमा मोरङ सुनवर्षी नगरपालिका –९ साहु टोलका  व्यापारी रबिन कुमार साह सोमबार पक्राउ परेका हुन् ।

पक्राउ परेका साहले प्रतिकेजी २५ रुपैयाँको धान स्थानीय स्तरमा खरिद गरेर भारतको वेस्ट बङ्गालको गुणस्तरीय धान भन्दै १२० रुपैयाँ प्रतिकेजी सम्म विक्री वितरण गरेको पाइएपछि इलाका प्रहरी कार्यालय रँगेलिले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

अहिले कृषकहरू बर्खे धान भित्र्याएर हिउँदे धानको लागि बिउ राख्न सुरु गरेका छन् । यही मौका छोपेर धान चामलको व्यापार गर्ने साहले प्रतिमन एक हजारमा खरिद गरेको कान्छी मन्सुली धानलाई भारतको वेस्ट बङ्गालबाट ल्याएको नक्कली   स्टिकर लगाएर ‘प्यान सिड्स प्रालि कलकत्ता’ लेखेर विक्री वितरण गरेको पाएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रँगेलिका प्रहरी निरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिए । ‘एक हजार प्रतिमन खरिद गरेको धान २५ केजीको बोरा बनाएर १ हजार ८ सय देखि ३ हजार रुपैयाँसम्म विक्री वितरण गरेको पाइएपछि पक्राउ गरिएको हो,’ उनले भने, ‘अहिले यो घटनाको अनुसन्धान भइरहेको छ । कति ग्राहकलाई साहले ठगी गरेका छन् । यो विषयमा पनि हामीले अनुसन्धान थालेका छौँ ।’

प्रहरीले नक्कली स्टिकर, बोरा र धान पनि बरामद गरेको छ । साहको घर खानतलासी गर्ने क्रममा प्रहरीले धानको बिउ ३४ बोरा १ हजार ११० केजी, झोलामा प्याकिङ गरेको तयारी धानको बिउ ५ झोला ९३० के।जी।०, स्टिकर १७५ पिस, बोरा सिलाउने मेसिन १ थान, प्यारासुट सिलाई धागो ४ थान, मल ५ के।जी।,खाली जुटको सोही कम्पनी उल्लेखित बोरा १२३ पिस, थाल १ थान, बाल्टिन १ थान बरामद गरेको छ ।

डाईनिया स्थित विजय कुमार साहले संचालन गर्दे आएको मुकेश खाद बीज भण्डारबाट पनि सोही कम्पनी उल्लेखित बोरामा प्याकिङ गरी राखेको धानको बिउ २४ बोरा ६०० केजी बरामद गरेको प्रहरीले जनाएको छ ।  पक्राउ परेका साहलाई प्रहरीले मोरङ अदालतमा ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गर्ने भएको छ ।