विराटनगर । सरकारले विराटनगरको क्रिकेट रंगशाला निर्माण कार्य अगाडि बढाउने घोषणा गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा विराटनगरको क्रिकेट रंगशाला निर्माण गर्ने उल्लेख छ ।
‘आगामी दुई वर्षभित्र काठमाडौँको कीर्तिपुर र मूलपानी क्रिकेट रङ्गशालाको स्तरोन्नति सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुने व्यवस्था गरिनेछ । चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङ्गको विराटनगर क्रिकेट रङ्गशालाको पूर्वाधार निर्माण कार्य अघि बढाइनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै सरकारले खेलकुद पूर्वाधारहरूको दिगो व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारको सहभागिता बढाउँदै लाने घोषणा पनि गरेको छ । ‘खेलकुद पर्यटनको विकास र विस्तार हुने किसिमका खेलकुद पूर्वाधारहरू सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्न प्रोत्साहन गरिनेछ,’ कार्यक्रममा उल्लेख छ ।