सांसदलाई ल्यापटप, ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’

 बिक्रम लुइँटेल

दुई दिन यतादेखि कोशी प्रदेशसभाले सांसदहरुलाई ल्यापटप वितरण गर्ने योजनाले चर्चा पाएको छ । मुलुकमा आर्थिक संकट भइरहको अवस्था र प्रदेश संरचनाकै प्रश्न उठिरहेको बेला असार मसान्ततिर ल्यापटप बाड्ने गरी आएको योजनाले एकखालको तरंग उत्पन्न भएको छ । अहिलेको प्रविधिको युगमा सांसदलाई ल्यापटप वितरण गर्ने कुरा सामान्य विषय हो । प्रविधिबाट नै समृद्ध राष्ट्र निर्माणको कल्पना गर्न सकिन्छ । आज प्रविधिविना कुनै पनि कामको कल्पना गर्न सकिदैन् । यसर्थ ल्यापटप वितरणलाई नाजायज भन्न सकिदैन् । तर, वितरणको समय र त्यसको बजेटका विषयमा प्रश्नहरु उठ्नु स्वभाविक हो ।

कुबेलामा वितरण गर्ने जुन योजना बनाइएको छ, यो कुनै पनि हालतमा राम्रो मान्न सकिदैन् । अहिले त्यही रकमबाट प्रदेशको अन्य जल्दाबल्दा काम गर्न सकिन्छ । यस्ता विषयमा प्रदेशसभाको सभामुखले विषेश ध्यान दिनुपर्ने हो । किनकी प्रदेशसभाले गर्ने काम सभामुखकै निर्देशन र समन्वयमा हुन्छ । कुन काम कहिले ? र कसका लागि किन ? भन्ने प्रश्न राम्रोसँग नबुझिकन गरिने यस्ता गतिविधिले संघीयतालाई बलियो बनाउँदैन । भ्रष्टाचारविरुद्धको यत्रो ठूलो आवाज उठिरहेको बेला गर्न खोजिएको काम त्यति सान्दर्भिक देखिदैन । संसद हलबाहेक साच्चै भन्ने हो भने प्रदेश सदस्यलाई राम्रोसँग बस्ने ठाउँ छैन् । बरु त्यहाँ बस्ने राम्रो व्यवस्था गरेर कम्प्युटरहरु राखेर उच्च स्तरीय लाइब्रेरी बनाउँदा त्यो दीर्यकालसम्म जान्छ । र त्यसको औचित्य हुन्छ ।

फेरि हामीकहाँ कतिजना सांसदले ल्यापटप चलाउँछन् ? कति प्रविधिमैत्री छन् ? त्यसको सर्भे गरेर उनीहरुलाई प्रविधिमैत्री बनाइसकेपछि नियमित बजेटबाट यस्ता कार्यक्रमहरु सहज र सरल ढंगले गर्दा उपयुक्त हुन्छ । असारे विकास आलोचना भइरहेको हाम्रो समाजमा किन असारमै वितरण गर्ने गरी योजना अघि सारियो ? यो जवाफ सभामुखमार्फत नै आउनु राम्रो हो । साथैं यसको जवाफदेही त्यहाँको कर्मचारी प्रशासन पनि बन्नुपर्छ ।

संसदभित्रका यावत कामहरु बाँकी रहेका छन् । जनप्रतिनिधिको थलो शून्य जस्तै छ । यस्तो परिस्थितिलाई ध्यान नदिइकन प्रदेशसभाले आलोचना कमाउने गरी किन काम गर्यो ? आज प्रदेशका सांसदमात्र होइन, नागरिकले प्रश्न गरिरहेका छन् । यसको जवाफ प्रदेशसभाबाट दिनु जरुरी छ ।

आज प्रदेश संरचनाका विषय र उनका सेवा सुविधाका विषयमा प्रश्नहरु उब्जिरहेका छन् । माननीयहरुले आफ्नो क्षेत्रमा निर्वाचन भएको यत्रो समयसम्म केही गर्न सकिरहेका छैनन् । उनीहरुलाई ल्यापटप प्रोग्रामको हतारो किन भयो ? ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जसरी प्रदेशसभा अगाडि बढेको देखिन्छ । त्यसैले यसतर्फ प्रदेशसभाले जवाफदेहीपूर्ण ढंगले काम गरोस् । माननीय सभामुख बाबुराम गौतमको ध्यान त्यतातिर पनि जाओस् ।

शुक्रबार, ०५ जेठ, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर