विराटनगर । खेलकुद पर्यटनको माध्यमबाट कोशी प्रदेशको राजधानी वरपरका दुई ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले आउँदो शनिबार खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ ।
कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा जेठ ६ गते शनिबारका दिन हाफ म्याराथन प्रतियोगिता तय गरिएको हो । त्यसका लागि मन्त्रालयले १४ सदस्यीय आयोजक समिति पनि गठन गरेको छ ।मन्त्रालयले ‘खेदकुद पर्यटन प्रवद्र्धन, विराट–बर्जु हाफ म्याराथन’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरेको हो ।
एतिहासिक विराट राजाको दरबार क्षेत्रलाई हिन्दु धर्मालम्बीहरुको महत्वपूर्ण गन्तव्यस्थलको रुपमा विकास गर्न सकिने र त्यसबाट विशेष गरी भारतीय पर्यटकहरुलाई आकर्षित गरी नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भएकोले मन्त्रालयले प्रवद्र्धनात्मक कार्यक्रम तय गरेको हो ।
सुनसरीको बर्जु गाउँपालिकामा अवस्थित बर्जु ताल पर्यावरणीय महत्वको सिमसार क्षेत्र हो । बर्जुको प्रवद्र्धन र विकासका लागि प्रदेश सरकारले विशेष लगानी गर्ने प्रस्ताव अगाडि बढाउने क्रममा २३ किलोमिटर दूरीमा रहेका दुई महत्वपूर्ण पर्यटकीय केन्द्रसम्मको दौड प्रतियोगिता आयोजना गर्न लागेको हो ।
खुला हाफ म्याराथन प्रतियोगितामा बढी १०० जनालाई सहभागी गराइने मन्त्रालयका सचिव संजीवकुमार राईले जानकारी दिए । उनले भने ‘बढीमा एक सय जनाले प्रतियोगितामा भाग लिने छन् त्यसका लागि फस्र्ट इन फस्र्ट सर्भिसको आधारमा सहभागी तय गरिने छ ।’ म्याराथनमा सहभागिता जनाउन आयोजक समितिले कोशी प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी बलको बराह बाहिनी मुख्यालय इटहरी, नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर इटहरी, सातै प्रदेशका एथलेटिक्स संघ, कोशी प्रदेशका १४ वटै जिल्लाका एथलेटिक्स संघ संस्थाहरुलाई संस्थागत आमन्त्रण गर्दै पत्राचार गरिएको छ । त्यसबाहेक इच्छुक व्यक्तिहरुलाई पनि सहभागिताका लागि आव्हान गरिएको छ । प्रतियोगितामा भाग लिन चाहनेले जेठ ४ गते अपरान्ह ४ बजेसम्म नाम दर्ता गर्न सक्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतियोगिता जेठ ६ गते बिहान ६ बजे विराटनगर १८ स्थित भेडियारीस्थित विराट राजाको दरबार क्षेत्रबाट सुरु हुने छ भने बर्जुमा औपचारिक समापन समारोह आयोजना गरिने छ । दौड हुने रुट तय भइसकेको र त्यसका प्वाइन्टहरु निर्धारण गर्ने कार्य भइरहेको आयोजक समितिका सदस्य किरण गिरीले जानकारी दिए । सुनसरी र मोरङ जिल्ला ट्राफिक कार्यालयले रुट क्षेत्रको व्यवस्थापन मिलाउने उनले बताए । खेलाडीहरुको स्वास्थ्यमा आउनसक्ने समस्यालाई ख्याल गरेर दुई वटा एम्बुलेन्स तैनाथ राखिने, खेलाडीका लागि दुई वटा बसको व्यवस्था गरिने र सुरक्षाका सबै व्यवस्था मिलाइने आयोजकले जनाएको छ । खेलको उद्घाटन तथा समापन पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले गर्ने छन् ।
प्रतियोगितामा प्रथम हुनेले करसहित १ लाख रुपैयाँ, द्वितीयले ७५ हजार रुपैयाँ, तृतीयले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् भने तीन जनाले १५ हजार रुपैयाँ राशिको सान्त्वना पुरस्कार प्राप्त गर्ने छन् ।
त्यस्तै महिलाहरुका लागि छुट्टै ५ किलोमिटर दूरीको दौड प्रतियोगिता पनि आयोजना गरिने छ । उक्त प्रतियोगिताका विजयी खेलाडीले २५ हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुनेले १५ हजार रुपैयाँ राशिको पुरस्कार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।