धरान । खोटाङको जन्तेढुङगा गाउँपालिका – ६ का ६९ वर्षीया प्रतापसिंह राई रूखबाट लडेर तीन महिना अगाडि गम्भीर घाइते भए । उनको टाउकोमा चोट लागेको थियो । सुरुमा स्थानीय स्वास्थ्य चौकीमा प्राथामिक उपचार गराएर उनी घरमै बसे । भित्री चोट लागेकोले उनलाई बिस्तारै बिरामले च्याप्दै लग्यो । पछि हात, खुट्टै चल्न छोडेर एक ठाउँबाट अर्को ठाउँसम्म जान नसक्ने भएर ओछ्यान परे ।
आर्थिक अवस्था कमजोर भएकोले उपचाका लागि सरकारी अस्पतालमा मात्र उनीहरुको विकल्प थियो । त्यसैले उनलाई परिवारका सदस्यहरुले उपचारका लागि कोशी अस्पताल विराटनगरमा ल्याए । कोशी अस्पतालको न्यूरो ओपीडिमा १८ वैशाखमा उनको पहिलो परीक्षण भयो । न्यूरो सर्जन डाक्टर चन्द्रप्रकाश यादवले बिरामीको सिटी स्क्यान गरेर हेरेपछि लडेर लागेको चोटका कारण मस्तिष्कमा रगत जमेको जानकारी पाए ।
न्यूरो सर्जन डाक्टर यादव नेतृत्वको टिमले बिरामी राईको मस्तिष्कमा जमेको पुरानो रगत १९ वैशाखमा शल्यक्रिया गरेर निकाले । ‘लामो समयदेखि मस्तिष्कमा रगत जमेको थियो । जमेको रगतलाई टाउकोमा सानो प्वाल बनाएर बाहिर झिकियो । यसलाई मेडिकल भाषामा ‘बरहोल इभाकोसन अफ सब’ भन्ने गरिन्छ,’ न्यूरो सर्जन डाक्टर यादवले भने, ‘झण्डै दुई हप्ताको सफल उपचारपछि डिस्चार्जको तयारी गरिएको छ । अहिले बिरामी सजिलै हिंडडुल गर्न र बोल्न सक्ने भएका छन् ।’ यसरी मतिष्कमा जमेको रगत चाँडै शल्यक्रियाको माध्यमबाट झिक्नुपर्ने उनले बताए । ‘ढिलो भए बिरामीलाई असर पर्ने गर्दछ,’ उनले भने ।
राईको स्वास्थ्यमा सुधार आएपछि हस्पिटलले सोमबार डिस्चार्ज गरेको छ । डिस्चार्ज गर्नुभन्दा अगाडि संचारकर्मीसँग कुराकानीमा आफूले नयाँ जीवन पाएको बताए । ‘बाँच्छु भन्ने लागेको थिएन । बसेकै ठाउँमा दिसापिसाब हुनथालेको थियो । एक ठाउँबाट अर्को ठाउँसम्म जान नसक्ने, एक पाटोको हात र खुट्टा नचल्ने अवस्था थियो । अब यतिकै थला परेर मर्ने भएँ भनेको बिरामीलाई कोशी अस्पतालका डाक्टरको टिमले मलाई पुनर्जन्म दिएको छ,’ हर्षित मुद्रामा देखिएका राईले भने, ‘अहिले मज्जाले हिंडडुल गर्न सक्ने भएको छु । एक ठाउँबाट अर्को ठाउँसम्म कसैको साहाराबिना जान सक्ने भएको छु ।’ उपचारमा संलग्न डाक्टरप्रति उनी कृतज्ञ छन् ।
कोशीको ओपीडीबाट हप्ताको तीन दिन न्यूरो सर्जरीका सेवाहरु प्रवाह हुने गरेको छ । सोमबार, बुधबार र बिहीबार ओपीडिमा चिकत्सक यादव बस्ने गरेका छन् भने शल्यक्रिया हप्ताको दुई दिन आइतबार र मंगलबार हुने गरेको अस्पतालले जानकारी दिएको छ। कोशी अस्पतालका निमित्त मेसु डा. रविराज सिंहले न्यूरो सर्जरीको सेवाहरु कोशीमा सफल उपचार भइरहेको बताए । सीमित दरबन्दी अनुसार चिकित्सकहरुले गुणस्तरीय सेवा प्रदान गरेको उनले बताए । २० वर्ष अगाडिदेखिको दरबन्दी अनुसार अहिले काम भइरहेको बताए । ‘त्यो बेला बिरामीको चाप एकदमै कम थियो । त्यसबेलामा ओपीडमा ५ देखि ६ सय बिरामी हुन्थे । अहिले दैनिक १५ सयदेखि २ हजार जनासम्म बिरामी आउँछन् । पुरानो दरबन्दी अनुसार स्वास्थ्यकर्मीहरुले काम गरिरहेका छन् । अहिले ओएनएम सर्भे भएको छ । यो सदर भएर आएपछि जनशक्ति थप हुनेछ । यसको लागि हामीले पहल गरिरहेका छौं,’ मेसु सिंहले भने ।