विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई हटाउन समाजिक विकास मन्त्री बुद्धि कुमार राजभण्डारीले प्रकृर्या थालेका छन । दोस्रो पटक तिन दिने म्याद दिएर उनले स्पष्टीकरण सोधेका छन ।
वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा कोशी प्रदेशको नाम नलेखेको भन्दै वाग्लेलाई स्पष्टीकरण सोधिएको हो ।
मन्त्रालयले पहिलो पटक वैशाख १७ गते पनि वाग्लेलाई पत्र लेख्दै ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न भनेको थियो ।
वाग्लेले स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नदिएको भन्दै मन्त्रालयले कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न बिहिबार पुन अर्काे पत्र पठाएको छ ।
मन्त्रालयले प्रभु बैंकको पत्र लेख्दै प्रदेश खेलकुद विकास बोर्डको बैंक खाता रोक्का गर्न भनेको थियो ।‘फ्लेक्स ब्यानरजस्तो महत्त्वपूर्ण कुरामा कोशी प्रदेश उल्लेख नभएपछि प्रतियोगितासम्बद्ध पत्राचार, चेक, प्रमाणपत्र लगायतमा कोशी प्रदेश लेखिने कार्यले मात्रै नियतवश भएको कार्यको बचाउ हुन सक्दैन’ वाग्लेलाई पठाइएको पत्रमा उल्लेख गरीएको छ ।
कोशी प्रदेश लेखिएको मुख्य ब्यानरको बीच भागमा कोशी प्रदेश लेखिएको अर्काे व्यानर तयार गरी फोटो लिने कार्य भएकाले बचाउको लागि मात्र प्रमाण सिर्जना गरिएको पत्रमा उल्लेख छ ।
प्रदेश खेलकुद ऐन २०७६ को दफा ४ को उपदफा (४) बमोजिम तपाईँले इमानदारितापूर्वक आफ्नो कर्तव्य पालना गरेको नदेखिएकोले सोका आधारमा तपाईँलाई आफ्नो पदबाट किन नहटाउने ? कारणसहित ३ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न मन्त्रालयले वाग्लेलाई पठाएको पत्रमा उल्लेख गरीएको छ ।
वाग्लेलाई पत्र पठाएपछि सत्तारुढ गठबन्धन बिच नै खैला बैला सुरु भएको छ । ‘प्रदेशकै पहाडी जिल्लामा कोशी प्रदेश लेख्ने अबस्था छैन,’ सत्तारुढ दलकै एक सासदले भने ‘ मन्त्रालयले सोध्ने स्पष्टीकरण पनि लज्जास्पद छ ।’