लोड हुँदैछ...

मेनु

अहम् तुष्टिको ठाउँ होइन स्थानीय तह

अहम् तुष्टिको ठाउँ होइन स्थानीय तह

जब स्थानीय सरकार जनप्रतिनिधिहरुकै अहम्कै लागि अनिर्णयको बन्दी हुन्छ, त्यसबेला उक्त स्थानीय तहका नागरिकले दुःख पाउने निश्चित हुन्छ । आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटको तयारीमा लाग्नुपर्ने संवेदनशील समयमा धरान उपमहानगर फेरि एकपटक आन्तरिक किचलोले चर्चामा छ । यो किचलोको केन्द्रमा धरानका मेयर हर्क साम्पाङ र वडाध्यक्षहरु छन् ।मेयर र वडाध्यक्षहरुलाई समन्वयको प्रयास गरिरहेका उपमेयर अइन्द्रविक्रम बेघाले पनि अन्ततः लामो मौनता तोड्दै ‘मेयरले सबैलाई मिलाएर लैजानु पर्ने’ भन्दै मेयरको कार्यशैलीप्रति सार्वजनिक रुपमै असन्तोष प्रकट गरेका छन् । यसप्रति मेयर साम्पाङ रुष्ट बनेर सामाजिक सन्जालमा रोष प्रकट गरिरहेका छन् । यसले धरानका अरु सबै जनप्रतिनिधिहरु एकातिर अनि मेयर एक्लै अर्कोतिर हुने अवस्था सिर्जना भएको छ । यसले धरानमा झनै अन्योलको अवस्था निम्त्याएको छ । यो विवाद तत्काल अन्त्य गरेर अघि बढ्न मुख्यतः मेयर साम्पाङले अग्रसरता देखाउन आवश्यक छ ।

धरानमा पछिल्लो दुई महिनायता कार्यपालिका बैठक हुन सकेको छैन । मेयरको स्वकिय सचिवालयले वडाध्यक्षहरुलाई निर्देशनात्मक पत्राचार गरेपछि सुरु भएको विवाद बढेको बढ्यै छ । अहिले त सडकमै भिडन्त हुने अवस्था बनेको छ । यो मूलतः आफूबाहेक सबै बेठिक भन्ने रुढ मान्यताबाट चलेका मेयरको शैलीको परिणाम हो । खानेपानीका लागि चलाइरहेको अभियानको बलमा आर्जित लोकप्रियतालाई आफ्नो आलोचना छल्ने अस्त्र बनाउने काममा मेयर अग्रसर देखिन्छन् । आफू ठीक अरु सबै बेठिक भन्ने ग्रन्थीबाट प्रेरित मेयरले अरुलाई अपमान गर्ने, सामाजिक सन्जालमार्फत लान्छना लगाउने काम गरिरहेका छन् । मेयरका रुपमा मुख्य प्राथमिकता भुलेर धरानका साम्पाङले सामाजिक सन्जालबाट एकअर्कालाई भिडाउन उक्साइरहेका छन् । यो आपत्तिजनक हर्कत तत्काल बन्द गरेर उनले सबैलाई समेटेर अघि बढ्ने कौशल प्रदर्शन गर्नुपर्छ ।
मेयर साम्पाङ कहिले राजनीतिक दलहरुसँग जोरी खोज्छन्, कहिले छिमेकी पालिकाहरुसित सीमा विवाद उछाल्न पुग्छन् । कहिले पत्रकार र पत्रकारिता क्षेत्रप्रति विषवमन गर्छन् । नगर प्रमुखको दायित्वबोध नगरी अझै पनि उरन्ठ्यौलो शैली अंगाल्ने छुट उनलाई छैन । आफ्ना आलोचकप्रति समर्थक लगाएर धम्क्याउन लगाउने गरेको गम्भीर आरोप उनीमाथि छ । यदि यो आरोप सत्य सावित भयो भने त्यसले उनलाई हानी गर्नेछ । सामाजिक सन्जालको वाहवाहीले भन्दा आफ्नो पालिकामा खरो उत्रने प्रयासले मेयरलाई सफल तुल्याउनेछ ।

मेयरका समर्थकहरु यति अराजक र अनियन्त्रित बनेका छन् कि धरानमा कसैले जायज माग उठाउँदा पनि मेयरको लोकप्रियताका अघि आक्रमणमा परिने भय छ । मेयरको ‘लोकप्रियता’ले धरानमा अभिव्यक्ति स्वतन्त्रता नै हरणमा परेको अवस्था छ । यो डरलाग्दो अवस्था हो । मेयरमा एक्लै निर्णय गर्ने बानी देखिएको छ र त्यसले कुनै पनि निर्णय परिपूर्ण नहुने र काँचा पल्टिने जोखिम उच्च छ । त्यसैले म सही अरु सब गलत भन्ने मान्यताबाट मुक्त भएर मेयरले सबैलाई मिलाएर अघि बढ्ने क्षमता देखाउनै पर्छ । अन्यथा अहिलेसम्म उनले आर्जेको लोकप्रियता पानीको फोका सरह बिलाएर जाने निश्चित छ । वडाध्यक्षहरुले पनि अह्म त्यागेर नगरको हितलाई सर्वोपरी महतव दिनुपर्ने खाँचो उत्तिकै छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।