अन्तरवार्ता
नक्कली भुटानी शरणार्थी प्रकरणमा देशका उच्च ओहोदाका कर्मचारी र राजनीतिक नेतृत्वको संलग्नता खुलेको छ । उनीहरु धमाधम पक्राउ परिरहेका छन् । यो विषय सामसुम पार्न शीर्ष तहमा नेताहरु लागेको पनि सार्वजनिक टिकाटिप्पणी भइरहेको छ । यस्तै नेपाली काँग्रेसमा महामन्त्री गगन थापाले मन्त्री सिफारिस गरेको विषयलाई लिएर खुलेरै पार्टीभित्रको असन्तुष्टि बाहिर पोखेका छन् । काँग्रेस नेता डाक्टर शेखर कोइराला पार्टी सभापति शेरबहादुर देउवासँग मिलेर महामन्त्रीद्वयलाई पेलेको आरोप पनि छ । यस्तै कोशी प्रदेश सरकार परिवर्तनको बहस पनि भइरहेको छ । यी नै विषयमा केन्द्रीत गरेर विराटनगर विमानस्थलमा संचारकर्मीहरुले काँग्रेस नेता डाक्टर शेखर कोइरालासँग गरेको कुराकानीको सम्पादित अंशः
नक्कली भुटानी शरणार्थीको विषयमा काँग्रेसका ठूला नेताहरु पनि जोडिएका छन् । शीर्ष नेताहरुले यो काण्डलाई मिलेर सामसुम पार्न खोजेको भन्ने आरोप पनि लागेको छ । यस विषयमा तपाईको धारणा के हो ?
– यो एकदमै देशको लागि जज्जास्पद कुरा हो । प्रहरी, प्रशासनले जुन अनुसन्धान गरिरहेको छ त्यो अब रुक्छ जस्तो मलाई चाहिं लाग्दैन । किनभने यो राजनीतिक वृत्तमा राष्ट्रिय स्तरमा आइसकेको छ । यो अन्तराष्ट्रिय स्तरमा पनि गइसक्यो । किनकी यो शरणार्थीलाई अमेरिका पठाउने भनेपछि उनीहरु पनि सशंकित हुन्छन् नि त । यो के भइरहेको छ नेपालमा भनेर । त्यसकारण यो रोकिन्छ भन्ने मलाई चाहिं विश्वास लाग्दैन । अहिलेसम्म, आजसम्म प्रहरी प्रशासनले गरेको कामलाई गरेको भन्नु पर्यो नि । यसमा दोषिलाई कारबाही जो–जो पर्छन् त्यसलाई कारबाही गर्नुपर्छ । इफ एण्ड बटको कुरै हुँदैन । तपाईहरू कन्फ्युजन नहुनुहोस् । प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यो एउटा लेबलसम्म पुग्छ पुग्छ । त्यो प्रहरीले गरेर अदालतमा जानुपर्छ । यो गलत कुरा भएको छ । जो जो सहभागी छन् तिनिहरुले कारबाही भोग्नुपर्छ । राजनीतिक दबाब हुनुहुँदैन । यो विषयमा तीन जना नेताहरु बसेर छलफल गरे । दुई जनाले छलफल गरे भनेको विषय हामीले पढिरहेका छौं । तर, उहाँहरुले जे सुकै कुरा गर्नुहोस् । मैले अघि पनि भने फेरि एक पटक रिपिट गर्छु । यो विषय अन्तराष्ट्रियकरण भइसकेको छ । त्यसकारण त्यति सजिलो गरी अब प्रहरी प्रशासनले पनि ब्याक हुन सक्दैन ।
तपाईको पनि नाम जोडिएको छ त ?
– हा हा हा….
तपाईको नाम जोडिएको छ । यदि तपाई पनि संलग्नता देखियो भने के गर्नुहुन्छ ? तपाईको अडियो पनि आएको छ…
– के अडियो मैले बोलेको आएको छ । मैले बोलेको सुन्नु भएको छ ? त्यसै अनुमान नगर्नुहोस् तपाईहरु ।
सानु भण्डारीले तपाईलाई पैसा दिएको अरे त…?
– को सानु भण्डारी । मैले उसलाई चिनेको पनि छैन । तपाई केशव दुलाल भन्नुहुन्छ भने उसलाई मैले चिनेकै हो । घरैमा आउँछ भेट्छ । तपाईहरुसँग पनि उसले फोटो खिचेको होला । यसको माने शेखर कोइराला पनि सहभागी छ भन्ने ? यस्ता फाल्तु कुरा नगर्नुहोस् । यसमा म कतै पनि कहिल्यै पनि र केहीमा पनि इन्भल्व छैन ।
यस विषयलाई थामथुम पार्न जुन दबाब आइरहेको छ । आरजु देउवा र बालकृष्ण खाँड जोडिएपछि फेरि विषय अर्कैतिर गएको हो ?
– तपाईहरु पनि एउटा माइन्डसेट लिएर बस्नु भएको छ । पहिले फ्याक्ट के हो त्यसमा जानु पर्छ । प्रहरीले अनुसन्धान गर्दैछ । त्यसलाई पर्खनु न । तपाईहरुलाई के लागेको छ भने यो टाइँ टाइँ फिस हुन्छ भन्ने लागेको छ । त्यो नहोस् भनेर तपाईहरु पनि भनिरहनुहोस् । हामी पनि बोलिराखेका छौं । यसमा प्रहरी सम्वेदनशील ढंगले गरिरहेको छ नि ।
अर्को प्रसंग । कोशी प्रदेश सरकार परिवर्तन गर्ने कि नगर्ने ?
– कसरी परिवर्तन गर्नुहुन्छ । पहिले त्यो बताउनु होस् । मेरो चाहना भनेको नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनोस् । काँग्रेस विपक्षीमा छ । माओवादी र जसपा सरकारमा छ । जो कि केन्द्रमा हामीसित गठबन्धनमा छ । पहिले उनीहरुले सरकारबाट समर्थन फिर्ता लिनुपर्यो नि त । उनीहरुले समर्थन फिर्ता नलिइकन हामीले के गर्न सक्छौं ।
काँग्रेस संसदीय दलको नेता परिवर्तनको खेल पनि भइरहेको छ नि …
– यो कुरा सेकेण्डरी पार्ट हो । बिग्रिएकै यही कुरा हो । पहिलो कुरा त माओवादी र जसपाले सरकारबाट समर्थन फिर्ता नलिएसम्म हामीले केही गर्न सक्दैनौं ।
काँग्रेसभित्र दुई जना महामन्त्री काँग्रेसमै किन असन्तुष्ट हुनुभएको ? उहाँहरुको असन्तुष्टि के हो ?
– तपाईहरुले के सुन्नुभयो थाहा छैन । जो मन्त्री बन्नुभएको छ नेपाली काँग्रेसबाटै मन्त्री बन्नुभएको छ । सबैसँग सल्लाह गरेरै भएको छ । उहाँहरुको असन्तुष्टि के हो भन्ने विषयमा महामन्त्रीसँगै सोध्नुहोला । मसँग सोधेर त भएन होला नि त ।
तपाईको खेमामा हुनुहुन्थ्यो पहिलो महामन्त्री गगन थापा । पछि तपाईसँगै असन्तुष्टि भएजस्तो र शेरबहादुरसँग संघर्ष गर्ने कुरामा पनि तपाईसँग नमिलेको जस्तो र दुवैतिर पेलाइमा परेको आशय छ नि ?
– तपाईले आशय बुझ्नु भयो होला । मसित कुनै किसिमको तिक्तता छैन । हिंजो पनि हामीले डेढ दुईघण्टा बसेर कुरा गरेका छौं । यहाँ तपाईहरु चिन्ता गर्नुपर्ने कुनै कारण छैन ।
महामन्त्री गगन थापा विरक्तिनु भएको चाहिं किन त ?
– नेपाली काँग्रेसको महामन्त्री भएपछि विभिन्न कुरा आउँछन् । पार्टीको महामन्त्रीले जसरी काम गर्नुपर्ने थियो त्यसरी भएन भन्ने साथीहरुले भन्छन् । त्यस्ता धेरै कारणहरु हुन्छन् । त्यो सभापतिजीसँगको असन्तुष्टि पोखेको होला । पदाधिकारीको बैठक भइरहन्छ । त्यहाँ कुरा राख्नु भएको होला ।
त्यो कुरा चाहिं सामाजिक संजालमा आयो नि त ?
– त्यो बुझें मैले, बैठकमा कुरा राखेपछि सामाजिक सञ्जालमा आएको हो ।
काँग्रेसको आगामी कार्यक्रम र भविष्य कस्तो देख्नुहुन्छ ?
– नेपाली काँग्रेस आफ्नो सोचाई छ विचार छ सिद्धान्त छ । एक्लै चुनाव लड्ने भन्ने हामीहरुले सुरु गर्नुपर्छ । मैले त सुरु गरिसकेको छु । महामन्त्रीजीहरुले पनि यही कुरा गर्नुभएको छ । त्यसकारण हामीले हाम्रो संगठनलाई एकदम वडासम्म पुर्याउनु पर्यो । टोलसम्म पुर्याउनु पर्नेछ । खाली चुनावको बेलामा मात्रै पुग्ने होइन अरुबेला पनि पुग्नु पर्नेछ । जनतासँग जोडिनुपर्ने हामीहरुको आवश्यकता छ ।
पार्टी सभापतिको जुन मनोभावना र कार्यशैली छ त्यसबाट सम्भव छ त ?
– सम्भव गराउनु पर्छ हामीले । कुरा गराउनु पर्छ । छलफल गरिरहेका छौं । तपाईहरु किन चिन्ता गर्नुहुन्छ ।
पार्टी सभापति शेरबहादुर देउवासँग भावी सभापतिको रुपमा तपाईको सहमति भइसकेको हो ?
– यस्तो मनगढन्ते कुरा किन गर्नुहुन्छ तपाई । पार्टी सभापति कसैले दिएर दिने कुरा हो ? सभापतिको लागि चुनाव हुन्छ । त्यहाँ कसले हार्छ कसले जित्छ अहिले कसरी थाहा हुन्छ । यस्तो मनगढन्ते कुरा किन गर्नुहुन्छ तपाईहरु ।
पार्टीसभापति निष्क्रिय हुनुभयो भन्ने गुनासो छ । कसरी पार्टी चल्छ त ?
– अब पार्टीको महाधिवेशन प्रतिनिधिहरुले उहाँलाई जिताएर पठाएको हो । महाधिवेशन प्रतिनिधिसँगै तपाईले सोध्नुहोला । मोरङमा पनि हुनुहुन्छ होला उहाँहरुसँगै सोध्नुहोस् ।
जनतासँग जोडिने भन्नु भयो । त्यो कार्यक्रम चाहिं के हो त ?
– हामी जनतासँग अलिक टाढा भयौं । दोस्रो कुरा भनेको पार्टी स्थापना हुँदा विपी कोइराला, गणेशमान सिंह, सुवर्ण शम्शेर राणाहरुले गर्नुभयो । त्यसपछि हामी जनतासँग जोडिएरै अगाडि बढेका थियौं । जनताको मर्मलाई बुझेर अगाडि बढेरै यहाँसम्म आइपुगेका हौं । तर अहिले हामी जनतासँग टाढिएको महसुस मैले गरिरहेको छु । त्यसकारण हामी पुरानै बाटोमा फर्किनु पर्यो । जनतासँग जोडिनु पर्यो । जनतासँग जोडिनका लागि अहिले अरु धेरै उपाया छ । त्यसबेलाको जस्तो छैन । त्यसकारण जनतामा जानुपर्छ । जनतासँग घुलमिल हुनुपर्छ । नेपाली काँग्रेसले मात्रै गर्नसक्छ भन्ने जुन व्यापक छ । त्यसलाई फेरि अगाडि लानुपर्छ ।
पार्टी नेतृत्व असफल भइसकेको जस्तो लाग्दैन ?
– होइन सफल असफल केही लागेको छैन ।
पार्टीको नीति महाधिवेशनको कुरा चाहिं कहाँ पुग्यो ?
– नीति महाधिवेशनको कुरा त अहिले पनि गरिरहेकै छु नि । त्यो छिटोभन्दा छिटो गर्नुपर्छ ।